श्रावण ५, २०८२ सोमबार July 21, 2025

माओवादी केन्द्रको विधानः हात्तीको देखाउने दाँतजस्तै

विगत २८ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड बाँचुन्जेल नेतृत्वमै रहने माओवादी केन्द्रकै नेताहरूको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन पार्टी विधान निर्माण गर्दै सकिएको छ ।

माओवादी गठन भएदेखि पार्टी विधान नभएको होइन, तर प्रतिनिधिका बीचमा छलफल गरी पारित भएको यो विधान पहिलो हो । माओवादी केन्द्र आफैंले यसलाई पहिलो विधान अधिवेशन भन्नुबाटै पुष्टि हुन्छ कि यसअघि यसरी छलफल गरी विधान निर्माण भएको थिएन ।

पारित सोही विधानअनुसार अब माओवादी केन्द्रले विशेष महाधिवेशन गर्ने भएको छ । नेतृत्व चयन पनि सोही विधानअनुसार हुनेछ । विधान अधिवेशनबाट पारित विधानले माओवादी केन्द्रलाई लोकतान्त्रिक पार्टीका रूपमा अगाडि बढाउनेछ । यसअघि केन्द्रबाटै तल्लो कमिटीको नेतृत्व तोक्ने परम्परा रहँदै आएकामा अब त्यो अन्त्य हुने विश्वास नेता कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

१ फागुन २०५२ मा सशस्त्र जनयुद्धमा होमिएदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पार्टी नेतृत्वमा रहेका छन् । प्रचण्डलाई नेतृत्वबाट हटाउने हैसियत कुनै नेतामा देखिएको छैन । प्रचण्डको प्रतिस्पर्धीका रूपमा देखिएका कतिपय नेताले पार्टी नै छोड्नुप¥यो । विगत २८ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्ड बाँचुन्जेल नेतृत्वमै रहने माओवादी केन्द्रकै नेताहरू बताउँछन् ।

तीन दशकदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डको विकल्प नभेटेका नेता कार्यकर्ताले के नेतृत्व फेर्लान् ?

प्रचण्ड आफैंले विधान अधिवेशनमा आफूले नेतृत्व छोड्न तयार रहेको तर नेतृत्वका लागि कोही नेता तयार भइनसकेको बताउँदै अझै आफैं नेतृत्वमा रहने बताइसकेका छन् । मोहन वैद्य, डा. बाबुराम भट्टराईलाई प्रचण्डको विकल्पका रूपमा हेरिएको भए पनि उनीहरू एउटै पार्टीमा छैनन् ।

प्रचण्डका गुरुसमेत रहेका वैद्य माओवादीमा फर्किने सम्भावना छैन । प्रचण्डसँग हेटौंडा अधिवेशनमा प्रतिस्पर्धा गर्दै नेतृत्व लिन खोजेका बाबुराम नेतृत्वको पार्टीसँग एकीकरण गर्ने प्रयास भइरहेको भए पनि त्यो सफल हुन सकेको छैन । रामबहादुर थापा ‘बादल’सहित केही नेता एमालेमा प्रवेश गरिसकेका छन् । माओवादीमै रहेका नेताहरू प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट नै गर्न सक्दैनन् ।

पारित विधानअनुसार पार्टी नेतृत्व चयन भए पनि प्रचण्डको विकल्प नभएको माओवादी नेताहरू आफैं स्वीकार गर्छन् । पारित विधानअनुसार केन्द्रीय कमिटी गठन गर्दा कार्यकर्तालाई जोगाउन प्रचण्डलाई समस्या पर्ने देखिन्छ । अहिले नै ६ सयभन्दा बढी केन्द्रीय सदस्य रहेका छन् ।

कुनै समय ४ हजारसम्म केन्द्रीय सदस्य बनाएको माओवादीले अब पारित विधानअनुसार १ सय ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । यसले गर्दा धेरै नेता जिम्मेवारीविहीन हुनेछन् । केन्द्रीय कमिटीमा रहिसकेका नेतालाई अब प्रदेश कमिटीमा कसरी बस्ने भन्ने मिलाउन त्यति सजिलो छैन ।

‘पार्टी विधान अधिवेशनबाट विधान त पारित भयो, तर यो हात्तीको देखाउने दाँतजस्तै भएको छ । यसले पार्टीमा कुनै परिवर्तन हुनेवाला छैन । तीन दशकदेखि अध्यक्ष रहेका प्रचण्ड नै अध्यक्ष हुने हो । अन्य पदाधिकारीमा केही तलमाथि हुनसक्छ । हिजोका दिनमा हजारौं केन्द्रीय सदस्य बनाउने पार्टीले अब विधानअनुसार नै १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी कसरी बनाउँछ ? त्यो हेर्न बाँकी नै छ । ‘समग्रमा विधान त बन्यो, तर कार्यान्वयन गर्न प्रचण्ड आफंैलाई गाह्रो हुन्छ,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

विधानअनुसार केन्द्रीय कमिटीका सदस्यहरू महाधिवेशन प्रतिनिधिले चयन गर्ने अधिकार छ । तर, पदाधिकारी केन्द्रीय कमिटीले मात्रै चयन गर्ने पुरानै व्यवस्था नयाँ विधानमा गरिएको छ । यस्तो व्यवस्था यसअघिको विधानमा समेत रहेको थियो । तर, महिनौं लगाएर अधिवेशन सम्पन्न गर्दै प्रचण्ड आफैंले सर्वसम्मतिको नाममा केन्द्रीय कमिटीको घोषणा गर्दै आएका छन् । अब सर्वसम्मत हुन नसकेको महाविधेशनका प्रतिनिधिले लोकतान्त्रिक पद्धतिनुसार निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्न पाउनेछन् ।

प्रदेश, जिल्ला र पालिका स्तरका सबै कमिटीमा पनि यही व्यवस्थानुसार नेतृत्वको चयन हुनेछ । पारित विधानअनुसार केन्द्रबाट सिधै नेतृत्व घोषणा गर्ने काम बन्द हुन्छ वा चयन गरिएका प्रतिनिधिबाट कमिटीको चयन हुन्छ ? त्यो पनि आउने दिनमा हुने अधिवेशनसम्म पर्खिनुपर्ने हुन्छ ।

पारित विधानअनुसार अब पार्टीको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिको एक तिहाइ हुनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ हुनेगरी स्थायी समिति बन्नेछ । पार्टीको दैनिक कार्य सञ्चालनका लागि पार्टी अध्यक्षको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने विधानमा उल्लेख गरिएको छ ।

पारित विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने भनिएको छ । तर, विधानमा पदाधिकारी संख्या कति हुने भन्ने बारेमा केही पनि उल्लेख गरिएको छैन । ‘विधान अधिवेशनबाट विधान त पारित भयो तर पदाधिकारी कति हुने भन्ने कुरा भोलिका दिनमा प्रचण्डलाई आवश्यक परेजति राख्न सकिन्छ, जुन पहिलेदेखि नै हुँदैआएको कुरा हो, आउने दिनमा पनि सोहीनुसार हुनेछ,’ एक नेताले भने ।

कतिपय नेताले पदाधिकारीको संख्या आवश्यकतानुसार महाधिवेशनले टुंगो लगाउने बताउँछन् भने कतिपय नेताले पदाधिकारीको संख्या महाधिवेशनले टुंगो लगाउने हो भने यो विधान अधिवेशन केका लागि गरेको भन्दै प्रश्नसमेत गर्दै छन् । जसरी केन्द्रीय कमिटीसहित अन्य कमिटीको संख्या विधान अधिवेशनले टुंगो लगायो, त्यसरी नै पदाधिकारीको टुंगो विधान अधिवेशनले नै लगाउनुपथ्र्यो, तर त्यसो हुन दिइएन । यद्यपि, तल्लो कमिटीमा कुन पदमा कति पदाधिकारी हुने भन्ने विषय विधान अधिवेशनले टुंगो लगाएको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार