काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी सम्झौताको विरोध गर्नेहरुलाई पढ्न सुझाव दिएका छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै ओलीले सत्यतथ्य नबुझी पढ्दै नपढी हचुवाका भरमा सम्झौताको विरोध गरेको भन्दै आक्रोश पोखे।
ओलीले एमसिसीको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरुतर्फ लक्षित गर्दै भने, ‘मैले एमसिसी पढेको मान्छे भेटिन। खोजेर पढे हुन्छ। पढ्नभन्दा विरोध गर्न तम्सिएका छन्। खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँडिएको छ।’
एक वर्षअघि अमेरिकी सहयोग एमसिसी अनुमोदनका लागि संसदमा पेश भए पनि नेकपाभित्रकै विवादका कारण अघि बढ्न सकेको छैन।
नेकपाका शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, स्थायी समिति सदस्य भीम रावललगायका नेताहरु सम्झौता परिमार्जनपछि मात्र अनुमोदन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन्।
उनीहरुले सम्झौता जस्ताको त्यस्तै पारित भए देशको सार्वभौमसत्ता विरुद्ध हुने जिकिर गर्दै आएका छन्। विपक्षी कांग्रेस भने सम्झौता अनुमोदन हुनुपर्ने क्षमा उभिँदै आएको छ।
नेकपाकै नेताहरुलाई ओलीले कागले कान लगे नलगेको नछामी लहलहैमा लागेको आरोप लगाएका छन। उनले भने, ‘कागले कान लग्यो भनेर छाम्दै नछामी लहलहैमा लागिएको छ। यो सडकको विषय पनि बनको छ। अन्त्यको विषयमा पनि बनेको छ।’
ओलीले एमसिसीको विरोध गर्नेहरु विकास विरोधी भएको भन्दै कटाक्ष गरेका छन।
‘सम्झौतामा के छ पढे हुन्थ्यो नि। देशमा विकासमा हुने भो। अनुदान आउने भो भन्ने चिन्ता लागेको हो,’ ओलीले भने। उनले जनप्रतिनिधिले बोल्दा रेकर्ड रहने भएकाले विचार गरेर बोल्नुपर्ने बताए। ‘हामी जनप्रतिनिधिहरुले बोलेको कुरा रेकर्ड रहन्छ विचार गरेर बोल्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।
एमसिसी परियोजनामा पाँच वर्षभित्र नेपालको ऊर्जा प्रशारण लाइन र सडकमा खर्च गर्ने गरी अमेरिकाले ५५ अर्ब रुपैयाँ दिने उल्लेख छ। प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा महाकाली सन्धिको समेत बचाउ गरेका छन।
महाकाली सन्धि राष्ट्रियति विपरी भएको भन्दै त्यसका पक्षधरहरुले क्षमा याचना गर्नुपर्ने आवास संसदमा उठेपछि ओलीले ५५ वर्षे राजनीतिक जीवनमा कहीँकतै देशको हित विपरीत काम नगरेको दाबी गरेका छन।
‘महाकाली सन्धि ठीक छ। मत केही बेठीक देख्दिन। हामी सरकारकमा नभएको पार्टीसमेत सहभागी भएको हो। सही छ, ठीक छ भनेर सही गरिएको हो,’ ओलीले अगाडि भने, ‘प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेला कलम समातेपछि पनि सोधेका थिए। त्यो बेला मुखर्जीलाई ठीक छ भन्नेहरु नै पछि बुरुक्क गरेका छन। त्यसबेला मैंले सोधे कतै गाँजा खाएर सही गरेको छ होइन ?’
उनले आफूले देशको हित विपरीत काम गरेको भए ल्याउन चुनौती दिएका छन। उनले भने, ‘इतिहास खोज्न गए हुन्छ, खोजेर कहीँ त्रुटिपूर्ण भए निकाली दिए हुन्छ। ५५ वर्ष भयो म राजनीतिमा लागेको । सत्ता र विपक्षीमा हुँदा मेरो भनाइ र गराइ एउटै छ। राष्ट्रको हितमा छ।’
प्रधानमन्त्री ओलीले २०५३ सालमै आफू नेतृत्वको संसदीय समितिले तयार पारेको प्रतिवेदनमा लिम्पियाधुरा नेपालको भएको र त्यहाँबाट नदी नै काली भएको उल्लेख भएको बताएका छन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया