श्रावण १२, २०८१ शनिबार July 27, 2024

उपराष्ट्रपति यादव र बङ्गलादेशका राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) भएको भेटमा शुभकामना आदान–प्रदानपछि दुई मुलुकबिचको सम्बन्ध, व्यापार, पर्यटन र विद्युत् लगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले हालका वर्षहरूका दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुशी व्यक्त गर्दै यो व्यापारलाई थप विस्तार र विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

‘तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकोमा बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु ’ उहाँले भन्नुभयो, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन यी समुद्री बन्दरगाहहरूबाट पारवहन सहयोग प्रबद्र्धन गर्न महत्वपूर्ण हुनेछ । ’

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत क्षमता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताउनु भयो । ‘सन् २०१८ मा नेपाल र बंगलादेशबीच विद्युत् क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हो ’ उहाँले भन्नुभयो, ‘बङ्गलादेश सरकारले हालै (६ डिसेम्बर २०२३ मा) भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकोमा हामी खुसी छौँ ।’

उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बङ्गलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बङ्गलादेशको प्रस्ताव उत्साहजनक रहेको पनि बताउनु भयो । ‘म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बङ्गलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ ’ उहाँले भन्नुभयो, ‘नेपाल र बङ्गलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने धेरै लोकप्रिय पर्यटकीय गन्तव्यहरू छन् । बङ्गलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।’

‘म हाम्रा दुई देशबीच सांस्कृतिक सहयोग र जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु ’ नेपाल र बंगलादेशबीच घनिष्ठ सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ सन् १९७६ अप्रिलमा हाम्रा दुई देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति (१९ एमबीबीएस र ३ बीडीएस) उपलब्ध गराएकोमा म बङ्गलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र संघ, असंलग्न आन्दोलन, जी ७७ र चीन लगायतका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । ‘हाम्रा दुई देशले संयुक्त राष्ट्र संघ र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु ’ उहाँले भन्नुभयो, ‘एक मित्र राष्ट्रका नाताले नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ । आगामी दिनहरूमा हाम्रा दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।’

नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत सलाहुद्दिन नोमान चौधरीले नेपाल र बंगलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जा लगायत केही आयामहरूमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेको बताउनु भयो । उहाँले दुई देशबीच मोडरेट ट्रेडको सम्बन्ध रहेको पनि बताउनु भयो ।

बङ्गलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्र लगायतका विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हरेक वर्ष छात्रबृत्तिसंगै सेल्फ फाइनान्समा पाँच सय देखि छ सय विद्यार्थी बङ्गलादेशमा एमबीबीएस गर्न जान्छन् । हाल बङ्गलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।’राजदूत चौधरीले हाल नेपाल र बंगलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुनेगरेको जनाउँदै ४० मेगावाट विद्युतका लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार