श्रावण ५, २०८२ सोमबार July 21, 2025

यसरी टुट्यो कांग्रेस-माओवादी गठबन्धन

कांग्रेस उपसभापतिको त्यो प्रतिवेदन जसले गठबन्धन टुटाउन सहयोग ग-यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कांग्रेस–माओवादी गठबन्धनको १ वर्षपछि अविश्वास, असमझदारीलगायत विभिन्न कारणले टुटेको छ । ५ वर्षसम्म गठबन्धनलाई निरन्तरता दिने कांग्रेस र माओवादीले भाषण गरेको केही समय टिक्न नपाउँदै पानीको फोकाजस्तै फुटेको छ । संघीय र प्रदेशसभाको निर्वाचनपछि सुरुवाती दिनमा कांग्रेसलाई धोका दिँदै एमालेसँग गठजोठ गरेको माओवादीले पुनः एकपटक कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धनको हात अघि बढाएको छ ।

गत वर्ष एमालेसँग दुई महिना गठबन्धन गरेपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन ब्युँत्याउन निकै कसरत गरेका थिए ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन गर्दा माओवादी अध्यक्ष तथा प्रधामन्त्री प्रचण्डले आफूलाई कांग्रेससँग गठबन्धन गर्न नपाएर उकुसमुकुस भएको बताएका थिए । एमालेसँगको पूर्वसमझदारीविपरीत उनले कांग्रेससँग दुई महिनामा पुरानो गठबन्धन ब्युँताएर रामचन्द्र पौडेललाई राष्ट्रपति दिलाए । १ वर्ष गठबन्धन राम्रैसँग चल्यो । तर, १ वर्षपछि एक अर्कोमा अविश्वासको वातावरण बन्दा पुनः एमालेसँग नयाँ समीकरण गरेर प्रचण्ड अघि बढेका छन् । उनले गठबन्धन तोड्दै गर्दा धम्कीपूर्ण रूपमा आफूलाई अपमानित गरे उथलपुथल हुने बताएका छन् । उनको यस भनाइले उनी पहिलादेखि नै गठबन्धन टुटाउन उद्दत थिए । उनलाई गठबन्धन टुटाउन एउटा बहाना चाहिएको थियो, जुन बहाना बन्यो नेपाली कांग्रेसको महासमिति बैठक ।

कांग्रेसको गोदावरीमा गत ७ देखि १० फागुनसम्म सम्पन्न महासमिति बैठकले पाँचवटा प्रतिवेदन पास गरेको थियो । जसमा महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा आउने निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने कुरा उल्लेख थियो । सो विषयलाई लिएर सभापति शेरबहादुर देउवाले असहमति राख्दै सो बुँदा हटाउन महामन्त्री थापासँग आग्रह गरे । तर, थापा टसमस भएनन् ।

सो प्रस्ताव महासमिति बैठकमा राखेसँगै सर्वसम्मतले पारित पनि भयो । महामन्त्री थापाको सो प्रस्तावले झस्किएका माओवादी नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालदेखि सार्वजनिक रूपमा कांग्रेसमाथि गालीको वर्षा गरे । सो प्रस्तावकै कारण माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसिसकेको थियो । जुन विषय गठबन्धन टुटाउनका लागि सहयोगी बन्यो ।

साथै, महासमिति बैठकमा कांग्रेसका उपसभापति तथा अहिलेको मन्त्रिपरिषद्मा उपप्रधान तथा रक्षामन्त्री रहेका पूर्णबहादुर खड्काले माओवादी जनयुद्धलाई अनावश्यक भनेको प्रस्ताव पनि पारित भयो । सत्ता गठबन्धनमै रहेर सरकारको नेतृत्व गरिरहेको दलले गर्व गर्ने घटनाक्रमको आलोचना माओवादी केन्द्रलाई सह्य भएन ।

खड्काको प्रतिवेदनको पृष्ठ २० मा लेखिएको छ– ‘२०४६ सालको जनआन्दोलनबाट पराजित भएको दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्राको प्रस्थान पटक्कै रुचाएनन्, अनाहक सशस्त्र हिंसाको राजनीति सुरु भयो, दृश्य र अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहारहरू भए, सशस्त्र द्वन्द्वका कारण मुलुक फेरि अर्काे दलदलको भासमा फस्न पुग्यो, तत्कालीन राजा संविधानले तोकेको राजनीतिक सीमा उल्लंघन गर्नेतर्फ अभिप्रेरित भए, २०५९ सालपछि त तत्कालीन राजाले निरंकुश शासनको अभ्यास सुरु गरे, विकास र समुन्नतिको यात्रा अवरुद्ध भयो, विकासका संरचना भत्किए, लोकतन्त्रमाथि प्रहार भयो, नागरिकमा फेरि निराशा, हतासा र आक्रोश थपियो, आमनागरिकले नेपाली कांग्रेसकै नेतृत्वलाई आशाको नजरले हेर्न थाले, नागरिकको त्यो आशा, विश्वास र अपेक्षालाई सम्मान गर्दै नेपाली कांग्रेसले तात्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२–०६३ सालको जनआन्दोलन सफल गरी सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण ग¥यो ।’

आफ्नै मन्त्रिपरिषद्का सदस्यले पार्टीको महासमितिमा पेस गरेको प्रतिवेदनको यही सारले माओवादी अध्यक्ष प्रचण्डलाई घोच्यो । त्यसपछि उनी गठबन्धन फेर्ने दिशामा मोडिए । हुन त तीन महिना अघिदेखि नै माओवादीका उपमहासचिव वर्षमान पुन कांग्रेस–माओवादी गठबन्धनको विकल्पका विषयमा गृहकार्य गरिरहेका थिए । त्यसमा कांग्रेस महासमिति बैठकमा पेस भएको प्रतिवेदनले थप मद्दत ग¥यो ।

त्यसो त कांंग्रेस नेता तथा मन्त्री खड्काले प्रचण्डलाई सो प्रतिवेदन केन्द्रीय समिति बैठकबाट सच्याएर पास हुने भनेर आश्वासन पनि दिएका हुन् । तर, पनि प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट हुनसकेनन् । त्यस्तै, कांग्रेसभित्र चलेको सनातन हिन्दूराष्ट्र अभियानले पनि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड झस्किए । कांग्रेस सभापति शेरबहादुर देउवाले हाल धर्मको विषय महासमितिबाट नलैजाऔं, पछि आवश्यकतानुसार केन्द्रीय समितिबाट निर्णय गरौंला भनेर हजार महासमिति सदस्यको हस्ताक्षर बुझे ।

किनकि, देउवालाई के थाहा थियो भने अहिले सो विषयलाई प्रवेश दिए गठबन्धन भत्कन बल पुग्ने र आफू प्रधानमन्त्री बन्न नपाउने डर थियो । तर, अब गठबन्धन टुटेसँगै महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनसहित सबै पाँचैवटा प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकबाट संशोधनबिनै पारित हुने सम्भावना बढेको छ । सबै प्रतिवेदन पारित भएमा देउवा पार्टीभित्रै अल्पमतमा पर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै, गठबन्धन टुट्नुको अर्को कारण अर्थमन्त्री डा. प्रकाशशरण महतले जथाभावी पैसा बाँड्न रोक लगाएका थिए । जसको सीधा असर प्रधानमन्त्री प्रचण्डलाई परेको थियो । साथै, सेयर ब्रोकरको लाइसेन्स वितरणमा पनि महतले रोक लगाइदिएपछि प्रधानमन्त्री प्रचण्ड झनै रुष्ट बनेका थिए ।

जसका कारण सभापति देउवालाई अर्थमन्त्री डा. महतलाई फिर्ता बोलाएर सो ठाउँमा आफूनिकट वर्षमान पुनलाई अर्थमन्त्री बनाउने चाहन्थे । कांग्रेस सभापतिले मन्त्रिपरिषद् हेरफेर गर्न नदिएपछि प्रचण्ड झनै संकटमा परेका थिए । कांगे्रबाट गएका अर्थमन्त्रीहरू विवादमा मुछिए पनि डा. महत भने आर्थिक मामिलामा विवादित बनेनन् ।

बरू उनी आएपछि केही सकारात्मक काम भएका छन् । १७ चैत २०७९ मा महतले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा अर्थतन्त्रका अधिकांश सूचक खराब थिए । सरकारको राजस्व अघिल्लो वर्षको दाँजोमा १५ दशमलव ५ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८–७९ को २० फागुनसम्म ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व संकलन भएकामा १ वर्षपछि सोही अवधिमा ५ खर्ब ५० अर्ब मात्रै राजस्व उठेको थियो ।

चालू आवको २० फागुनसम्म ६ खर्ब ६ अर्ब राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो । सरकारले यस वर्ष गत वर्षको यथार्थ संकलनभन्दा ४० प्रतिशतले राजस्व बढाउने लक्ष्य लिएको छ । त्यसको तुलनामा यो कम हो । तर, अघिल्लो वर्ष साढे १५ प्रतिशतले घटेको सन्दर्भमा १० प्रतिशतको वृद्धि सकारात्मक हो ।

माओवादी शान्ति प्रक्रियामा आएको १६ वर्षपछि प्रधानमन्त्री प्रचण्डले गत वर्ष चैतमा संयुक्त राष्ट्रसंघीय निकाय अनमिनको प्रमाणीकरणमा नपरेका अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख दिने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । त्यस्तो अयोग्य लडाकुको संख्या ४ हजार २ सय रहेको र तिनलाई एकैपटक ८४ करोड रुपैयाँभन्दा बढी दिनुपर्ने भए पनि अर्थमन्त्री महतले स्रोत नभएको भन्दै त्यो रोकिदिएको मन्त्रालय स्रोतको दाबी छ ।

त्यस्तै, गत वर्ष १५ फागुनमा सरकारले थप २ हजार ९ सय ३८ जनाको शहीद घोषणा सूची सार्वजनिक गरेको थियो । सरकारले शहीद घोषणा गरेपछि तिनका परिवारलाई नामकै आधारमा पनि १० लाख रुपैयाँ दिनुपर्ने हुन्छ । त्यसका लागि पनि करिब ३ अर्ब रुपैयाँ सरकारी कोषबाट खर्च गर्नुपर्ने थियो । नाम मात्रै भएका र यथार्थ ठेगानासमेत नभएकालाई एकमुष्ठ रकम निकासा दिनुपर्ने माग गृह मन्त्रालयले गरे पनि अर्थमन्त्री महतले त्यो रोकिदिएका थिए । मन्त्रिपरिषद्बाट निर्णय भए पनि अर्थ मन्त्रालयले स्रोतको अभाव भन्दै रोकिदिएपछि प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । जुन विषय पनि गठबन्धन टुट्नुको अर्को कारण बन्यो ।

त्यस्तै, कोशीमै राष्ट्रिय सभा निर्वाचनको अनपेक्षित परिणामले पनि माओवादी झस्कियो । राष्ट्रिय सभाका लागि कोशी प्रदेशमा गत ११ माघमा भएको निर्वाचनमा माओवादी उम्मेदवार पराजित भइन् । गठबन्धनका दलहरूबीच मुलुकभर तालमेलको सहमति भएको थियो र गठबन्धनका उम्मेदवारहरू सहज स्थितिमा थिए । तर, कोशी प्रदेशमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भइन् । उनलाई एमाले उम्मेदवार रुकमिणी कोइरालाले पराजित गरेकी थिइन् ।

सोही प्रदेशमा गठबन्धनको अर्को दल कांग्रेसबाट उम्मेदवार भएका कृष्णप्रसाद सिटौला विजयी भएका थिए । तर, माओवादी उम्मेदवार पराजित भएपछि माओवादी केन्द्रले सहज रूपमा लिन सकेन र कांग्रेसले धोका दिएको निष्कर्ष निकाल्यो । जसले गर्दा कांग्रेससँगको गठबन्धन लामो जान नसक्ने र निर्वाचनमा त झनै फलदायी हुन नसक्ने उनीहरूको आँकलन रह्यो ।

त्यस्तै, कोशी प्रदेश सरकार गठनको विषयले पनि माओवादी सत्ता साझेदार कांग्रेससँग बिच्किएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको असोजमा बहिर्गमनपछि माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति भएको थियो । २५ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको नेतृत्वमा सरकार गठन गर्ने निर्णय ग¥यो ।

तर, आङ्बो भने मुख्यमन्त्री बन्न पाएनन् । कांग्रेसका शेखर कोइराला समूहले एमालेसँग सहमति गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भए । केदार कार्की मुख्यमन्त्री बनेपछि त्यतिबेला प्रचण्डले त्यसलाई गठबन्धनकै मुख्यमन्त्रीका रूपमा अपनत्व लिएको बताए । प्रचण्ड, शेरबहादुर देउवा र शेखर कोइरालाबीच एउटा सहमति पनि भयो । तर, माओवादी केन्द्रलाई भने गठबन्धनमा सहमति भइसक्दा पनि मुख्यमन्त्री नपाउनुको पीडा बाँकी नै रह्यो । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार