श्रावण ५, २०८२ सोमबार July 21, 2025

टुट्यो गठबन्धन : छुट्यो प्रधानमन्त्री, माधव नेपालको राजनीतिक यात्रा फेरि कठिन मोडमा

एमाले एकीकृत समाजवादीलाई सरकार बाहिरै राख्ने पक्षमा भएकाले प्रधानमन्त्री दाहालले उनलाई बालुवाटार बैठकमा खबरसमेत गरेनन् 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : अचानक फेरिएको सत्ता गठबन्धनले कांग्रेससहितको सत्ता साझेदारीमा एक वर्षका लागि प्रधानमन्त्री हुने आकांक्षा पालेर बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अप्ठेरोमा पारेको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार नै नेपाल निवास पुगेर सहकार्यका लागि प्रस्ताव गरेका छन् ।

एमाले एकीकृत समाजवादीलाई सरकार बाहिरै राख्ने पक्षमा भएकाले प्रधानमन्त्री दाहालले उनलाई बालुवाटार बैठकमा खबरसमेत गरेनन् । रुघाखोकीले बिरामी परेपछि दुई दिनको अस्पताल बसाइपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपालले कोटेश्वरस्थित आफ्नो निवासमा सोमबार अपराह्न नयाँ राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीको बैठक डाकेका थिए । आफूलाई नयाँ समीकरणबारे कुनै जानकारी नभएको र कसैले खबर पनि नगरेको भन्दै बैठकको सुरुमै नेपालले दाहालबाट आफूलाई धोका भएको बताएको समाजवादीका एक नेताले कान्तिपुरसँग भने ।

‘विगतमा त्यत्रो सहयात्रा गरेर यहाँसम्म आउनुभएका अध्यक्षज्यूलाई दाहालबाट पूरै इग्नोर गर्ने काम भएको छ, यो धोका मात्रै होइन, राजनीतिक बेइमानी हो,’ उनले भने, ‘रातारात फेरिएको यो गठबन्धनले प्रधानमन्त्रीमा पाँचै वर्ष टिकिरहने रणनीति छ उहाँको ।’ अपराह्न चार बजेतिर बसेको बैठकमा समाजवादीका सांसदहरूले भने कम्युनिस्ट एकीकरण हुन लागेको भन्दै सरकारमा तत्काल सहभागी हुनुपर्ने धारणा राखेका थिए । ‘हामी अहिले नै सरकारमा जानुपर्छ, यसमा ढिलाइ गरेर काम छैन,’ सांसद किसान श्रेष्ठले प्रस्ताव राखेका थिए, ‘कांग्रेससँग भन्दा त हामीलाई जात मिल्ने कम्युनिस्टसँगको एकता नै ठीक छ नि ।’

अन्य सांसदहरूले पनि श्रेष्ठकै आशय झल्कने गरी सरकारमा जानुपर्ने धारणा राखेका थिए । तर, नेपालले भने आफूलाई थाहा नदिइएको र धोका भएको भन्दै यसबारे अहिले नै कुनै निर्णय गर्न नसकिने भन्दै सांसदहरूलाई पर्खन र हेर्न आग्रह गरे ।

‘नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन,’ बैठक लगत्तै पार्टी महासचिव घनश्याम भुसालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण र दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नो नीतिहरू स्पष्ट पार्नेछ ।’ भुसालले विघटित गठबन्धन कांग्रेसकै कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै ‘पर्ख र हेर’ को नीति लिएको बताए । ‘हामीले गठबन्धनलाई हेरौं भन्नुको अर्थ वाम एकताको कुरा आएको छ । नयाँ गठबन्धनको उद्देश्य प्राप्त गर्न के योजना छ ? संरचना कस्तो हुन्छ ?’ उनले भने, ‘गठबन्धन दलको सीमा क्षेत्र के हो ? त्यसपछि हामी निर्णय गर्छौं । राष्ट्रप्रति उत्तरदायी हुने दिगो गठबन्धन हो कि होइन ? पर्ख र हेरौं भनेको हामी सरकारमा जान दाउ हेरेको होइन ।’

सत्तामा जान सांसदहरूको आतुरी देखेका नेपाललाई सत्ता साझेदार दलका नेताहरूले भने बैठकमा निम्तोसमेत पनि दिएका छैनन् । प्रधानमन्त्री दाहालले बालुवाटारमा एमाले, रास्वपा र जसपाका नेतासँग नयाँ गठबन्धनका लागि आठ बुँदे समझदारीमा गरेको हस्ताक्षरका बारेमा पनि आफूहरूलाई खबर नभएको समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । ‘यो समग्र घटना अप्रत्याशित नै हो,’ खतिवडाले भने, ‘रातारात समीकरणहरू परिवर्तन गर्ने यो प्रवृत्तिप्रति हामी गम्भीर छौं ।’ बालुवाटारमा आठ बुँदे समझदारीमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल सोमबार साँझ नेपाललाई भेट्न उनकै निवास पुगेका थिए । ‘भेटमा उहाँले कांग्रेससँग असहज भएकाले नयाँ समीकरणमा जान परेको र हतारमा सबै कुरा गर्न नभ्याएको भन्दै अध्यक्षज्यूलाई सरकारमा सहभागी हुन आग्रह गर्नु भयो,’ समाजवादीका एक सांसदले भने, ‘यसबारे अध्यक्षज्यू सकारात्मक नै हुनुहुन्छ ।’

पार्टी फुटेदेखि एमाले अध्यक्ष ओलीसँगको सम्बन्धमा झन् ठूलो फाटो आएकाले नेपाललाई दाहालले आग्रह गरे पनि नयाँ गठबन्धनमा सहभागी हुन सकस छ । ‘यो गठबन्धनको सुत्राधार र मुख्य दल भनेको एमाले नै हो,’ नेपाल निकट समाजवादीका एक नेता भन्छन्, ‘तर, एमाले हामीलाई बोलाउने पक्षमा छैन, दाहालले औपचारिकताबस भन्नका लागि भनेका हुन्, सरकारमा जान सक्ने अवस्थामा हामी छैनौं ।’ उनको बुझाइमा एमाले अध्यक्ष ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्ध भएकाले दाहालले नयाँ गठबन्धन बन्नुअघि समाजवादीलाई खबर गरेनन् । आम चुनाव लगत्तै एमालेले नेपाललाई राष्ट्रपति बन्न आग्रह गर्दै पार्टी एकीकरणको आग्रहसमेत गरेको एक नेताले बताए । ‘तर त्यति बेला अध्यक्षज्यूले दाहालको साथ छाड्नु भएन, उनलाई एक्लै पारेर आफ्ना लागि केही सोच्नु भएन,’ समाजवादीका अर्का एक नेताले भने, ‘आज आएर दाहालले त्यो सब गुनमा पानी फेरे, जुन राम्रो होइन ।’

सोमबार दिउँसो बालुवाटारमा बैठक सुरु हुनुअघि माओवादी नेता नारायणकाजी श्रेष्ठले नेपाललाई भेटेर कांग्रेसलाई बाहेक गरी एमाले, रास्वपा र जसपासँग हुन लागेको गठबन्धनबारे जानकारी गराउन नपाएकामा दुःख लागेको भन्दै समाजवादी पनि यसमा जोडिँदा राम्रै हुने धारणा राखेको नेपाल निकट स्रोतले बतायो । श्रेष्ठ निक्लेको केहीपछि नेपाललाई भेट्न जसपाका अध्यक्ष उपेन्द्र यादव पुगेका थिए । स्रोतका अनुसार आफूहरूलाई पनि प्रधानमन्त्रीले गठबन्धनबारे थाहा नदिएको भन्दै यादवले नेपालसँग सरकारमा सहभागी हुने/नहुनेबारे धारणा बुझेका थिए । जवाफमा नेपालले यसबारे आफूलाई कसैले केही नभनेको र आफू स्वास्थ्य समस्याका कारण धेरै खोजबिनमा लागिपर्न पनि नपाएको भनी जवाफ फर्काएको स्रोतले बतायो । ‘हामीलाई कसैले गठबन्धनमा बोलाएको छैन, माओवादीले फलानोलाई पनि समेट्नुपर्छ भनेका भरमा जान हामी उसको कठपुतली होइन,’ नयाँ गठबन्धन बनेपछि त्यसबारे छलफल गर्न डाकिएको बैठकमा नेपाललाई उद्धृत गर्दै समाजवादीका एक नेताले भने, ‘चारै दलले निर्णय गरेर नबोलाएसम्म सरकारमा जाने कुरा आउँदैन ।’ कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार