श्रावण ५, २०८२ सोमबार July 21, 2025

सङ्घीय राजनीतिको छाया : प्रदेशमा कतै मन्त्री बर्खास्त, कतै राजीनामा

सरकार गठनमा राजनीतिक दलहरूबिच केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकार पनि हेरफेर हुने भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सङ्घीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनको असर सातै प्रदेश सरकारमा परेको छ ।

सङ्घीय संसद्मा जस्तै प्रदेश सभामा पनि त्रिशङ्कु संरचना रहेका कारण सङ्घीय गठबन्धन अनुसार नै बनेका सरकारमा मन्त्री हटाउने र राजीनामा दिने क्रम सुरु भइसकेको छ ।

संविधान अनुसार सङ्घीय र प्रदेश सरकार स्वतन्त्र हैसियतका भए पनि सङ्घीय सरकारको छाया प्रदेश सरकारमा परेको यो पहिलो पटक भने होइन । यसअघिका सबै सत्ता परिवर्तनमा सङ्घीय र प्रदेश सरकार परिवर्तन भइहाल्ने क्रम विकास भएको हो ।

सरकार गठनमा राजनीतिक दलहरूबिच केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेश सरकार पनि हेरफेर हुने भएको छ । पछिल्लो पटक सङ्घीय गठबन्धन परिवर्तन भएको भोलिपल्ट नै मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

माओवादीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई हटाइएको हो । मङ्गलबार नै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ । शाहले सामाजिक विकासमन्त्री झपट साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको हो । मन्त्री बर्खास्त गरेर उहाँले दुवै मन्त्रालयको जिम्मेवारी आफैँले लिनुभएको छ । सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त सरकार बनेको थियो ।

लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेस नेकपा (माओवादी) केन्द्रप्रति केही नरम देखिएको छ । यस प्रदेशमा गत वैशाख १४ गते माओवादीसहितका आठ दलको नेतृत्वमा नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्नुभएको थियो । लुम्बिनीमा माओवादीका मन्त्री हटाउने विषयमा केही निर्णय नभएको कांग्रेसले जनाएको छ ।

कर्णाली प्रदेशमा भने नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् । मङ्गलबार आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले संयुक्त रूपमा राजीनामा दिनुभएको हो । उहाँले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामापत्र पेस गर्नुभएको हो । उहाँहरू गत वैशाखमा मन्त्री बन्नुभएको थियो ।

नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशमा भने कसरी नयाँ सरकार गठन गर्ने भन्नेमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अन्योलमा छन् । सरकार र प्रतिपक्षमा रहँदा यी दुई दलबिच हार्दिक सम्बन्ध पनि छैन । बजेटमा आफ्ना योजना नसमेटेको भन्दै एमाले माओवादी नेतृत्वको सरकारसँग रुष्ट छ, त्यसैले केन्द्रमा नयाँ समीकरण बने पनि यी दुई दलबिच छलफल सुरु भएको छैन ।

कोशी र मधेश प्रदेशमा भने हालसम्म कुनै पनि पार्टीका मन्त्रीले राजीनामा दिएका छैनन् । केन्द्रीय नेताबिच सत्ता बाँडफाँट भएपछि मात्रै यी प्रदेशमा सरकार फेरबदल हुने आकलन गरिएको छ । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता केदार कार्की हुनुहुन्छ । मधेश प्रदेशमा भने जनता समाजवादी पार्टीका तर्फबाट सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार