कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरामाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएर वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीको सचिवालयकी प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।

यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएर वार्ता गर्नु भएको छ ।

मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थाल्नु भएको हो । आज दुई चरण वार्ता भएको र वार्ता सकारात्मक रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । वार्ता भोली पुन हुने भएको छ ।

यसै बीच गृहमन्त्री लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नु भएको छ । निरीक्षण पछि निर्देशनको क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री  लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान भइरहँदा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्छ र कानुनको नजरमा सबै बराबर हुनुपर्छ ।” कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतीको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफैँ उभिने उहाँले बताउनुभयो ।
गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरण र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढी सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । मिटरब्याजपीडित, सहकारीपीडितहरूको समस्या ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्रीले आर्थिक अपराध, ठगी, ‘साइबर क्राइम’ लागूऔषध कारोबारलगायत आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा चेतना अभिवृद्धिका साथै मन, वचन र कर्मले  सेवाभावका साथ जनअपेक्षाअनुरूप काम गर्न निर्देशन दिनुभयो ।
गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधानकार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रहरी सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेशसँगै सृजित चुनौतीलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आमनागरिकको चाहनाबमोजिम प्रहरी सेवालाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यले अङ्गीकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थबिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “नेपाल प्रहरीको संस्थागत विकास, यसमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र साङ्गठनिक हितका लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त छ ।”  कानुनले प्रदान गरेको पद र त्यसमा निहित अधिकारको दुरूपयोग गरी गैरव्यावसायिक क्रियाकलाप र आर्थिक अनियमिततामा संलग्न रहने प्रवृत्तिउपर नेपाल प्रहरीले निर्मम प्रहार गर्ने उहाँले बताउनुभयो ।
त्यस अवसरमा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरुलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवं सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, विभिन्न प्रहरी गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको ‘भर्चुअल’ सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार