काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘परिवारवाद’मा फस्दै गएको आरोप विगतदेखि नै लाग्दै आएको छ ।
लामो समयदेखि अनवरत पार्टी शक्तिमा रहनुभएका प्रचण्ड आफू सत्तामा हुँदा सकेसम्म परिवारका सदस्यलाई कुनै न कुनै लाभका पदमा पुर्याउने भएकाले उहाँलाई परिवारवादमा लिप्त भएको आरोप लाग्दै आएको हो ।
विरोधीहरूले मात्रै होइन पार्टीभित्रकै नेताहरूले समेत लगाउने परिवारवादको आरोप उहाँ स्वयंले एकपछि अर्को गरी पुष्टि गर्दै जानुभएको छ । अहिले फेरि आफ्ना भाइ नाता पर्ने नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी गरेर विरोधीहरूको आरोपलाई थप पुष्ट्याइँ गर्ने काम गर्नुभएको हो । नयाँ गठबन्धनअनुसार अध्यक्षमा निर्वाचित हुने पक्का भएपछि उहाँले भाइलाई उम्मेदवार बनाउनुभएको छ । प्रचण्डकै कारण बारम्बार पार्टी र संसद्मा अवसर पाइरहनुभएका नारायण सत्ता गठबन्धनबाट राष्ट्रियसभा अध्यक्षका उम्मेदवार बन्नुभएको छ ।
फागुनमै सम्पन्न माओवादी स्थायी कमिटी बैठकबाट अध्यक्ष प्रचण्डले बुहारी बिनालाई सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज बनाउनुभएको थियो । बुहारीलाई अस्वाभाविक पदोन्नति गरेको २० दिन नपुग्दै अध्यक्ष प्रचण्ड भाइ नारायणलाई राष्ट्रियसभा अध्यक्ष बनाउने तयारी गर्नुभएको हो । राष्ट्रियसभा अध्यक्षका लागि दाहालसँग उपाध्यक्ष उर्मिला अर्याल र झक्कु सुवेदी पनि दाबीमा हुनुहुन्थ्यो । त्यसो त सुरेश आलेमगरले पनि रुचि देखाउनुभएको थियो ।
उपाध्यक्ष एमालेले लिने सहमति भएपछि अध्यक्षमा अर्याललाई अगाडि बढाउने अनुमान गरिएको थियो । राजनीतिक पृष्ठभूमि र क्षमताको हिसाबले अर्यालको सम्भावना रहेको बताइएको थियो । तर, अर्याललाई अहिले उपाध्यक्षबाट पछाडि हट्न लगाएर प्रचण्डले भाइ दाहाललाई अगाडि सार्नुभएको हो । सुवेदीलाई अध्यक्ष बनाउँदा राष्ट्रिय सभामा ६ वर्ष नेतृत्व गर्न पाइन्थ्यो । तर, प्रचण्डले चार वर्ष कार्यकाल मात्रै बाँकी रहनुभएका दाहाललाई अध्यक्ष बनाउनुभएको हो ।
प्रचण्डले पार्टीमा आफन्तवाद भित्र्याएको यो पहिलो पटक भने होइन । यसको सुरुवात उहाँले २०६५ सालमा पहिलो पटक सरकारमा गएदेखि नै गर्नुभएको थियो । यसका अनगिन्ती उदाहरण छन् । स्वर्गीय प्रकाश दाहालदेखि रेनु र गंगा हुँदै बिना मगर र जीवन आचार्यसमेत हुनुहुन्छ । सुरुमा परिवार र त्यसपछि पनि बफादारलाई मात्रै अवसर दिने गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । छोराछोरीलाई मेयर, स्वकीय सचिव बनाउनेदेखि भाइलाई राष्ट्रियसभा अध्यक्ष, ज्वाइँलाई मन्त्री बनाउने र काका नाता लगाउनेलाई राजदूतको नियुक्ति दिलाउनेसम्ममा प्रचण्डले ‘कीर्तिमान’ नै खडा गर्नुभएको छ । – आजको हिमालयन टाईम्स दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया