काठमाडौँः पूर्वराष्ट्रपति रामवरण यादवले २०६६ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता कब्जा गर्ने शैली अपनाएपछि आफूले त्यस बेला मुलुकलाई लोकतान्त्रिक धारमा लान घुमाउरो बाटो लिएको बताएका छन् ।
भारतीय प्राध्यापक एसडी मुनीद्वारा लिखित पुस्तक ‘ड्याबलिङ इन डिप्लोमेसी’ पुस्तकको अन्तर्क्रिया कार्यक्रममा विश्लेषक सीके लालले उक्त घटनामाथि टिप्पणी गरेपछि पूर्वराष्ट्रपति यादवले जवाफ दिएका हुन् । दाहाल नेतृत्वको सरकारले त्यस बेलाका प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने प्रस्ताव गरेपछि तत्कालीन राष्ट्रपति यादवले स्वीकार गरेनन् ।
कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णयलाई संवैधानिक राष्ट्रपतिले रोकेको भन्दै यादवको आलोचना भएको थियो । ‘निश्चय नै त्यस बेला संविधान मिचियो । बाबुरामजीहरुले क्याप्चर गर्न थाल्यो, त्यसपछि मैले घुमाउरो बाटो अपनाएको हुँ । मैले देशलाई लोकतान्त्रिक धारमा लानको लागि थियो,’ उनले भने, ‘उहाँहरु (पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईतिर इंकित गर्दै) त्यस बेला अर्कै धारमा हुनुहुन्थ्यो । मैले त्यो अलि मोडिदिएको हुँ ।’
त्यस बेलासमेत प्रधानमन्त्री रहेका दाहालले तत्कालीन प्रधानसेनापति कटवाललाई हटाएर कुलबहादुर खड्कालाई नयाँ प्रधानसेनापति बनाउन लागेका थिए । पछि राष्ट्रपति यादवले आफ्नो प्रस्ताव अनुमोदन नगरेपछि दाहालले राजीनामा दिएका थिए । जसलाई कटवाल प्रकरणको रुपमा पनि चिनिन्छ ।
यादवले त्यस बेला मुलुकमा नेपाली सेना र माओवादी लडाकुसहित दुई सेना रहेको र त्यस परिस्थितिमा उक्त कदम नलिनको लागि आफूले ४ पटकसम्म बोलाएर लिखित रुपमै जानकारी गराएको बताए । ‘तर उहाँहरुले मान्नु भएन,’ त्यसपछि मैले मुलुकको लोकतन्त्रलाई बचाउनको लागि उक्त कदम चालेको हुँ ।’
एसडी मुनीको पुस्तकमाथि टिप्पणी गर्दै यादवले मुनीको भारतका धेरै प्रधानमन्त्रीहरुसँग राम्रो सम्बन्ध गरेको उल्लेख गरेका थिए । उनले मुनीले पुस्तकमा उल्लेख गरेअनुसार नेपालमा पनि हिन्दुवादीको डर भएको बताए ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुस्तकमाथि बोल्दै प्राध्यापक मुनीले लेखेको जस्तो ठूलो मुलुकले सानो मुलुकको शक्तिको प्रयोग गर्न पाउनु पर्छ भन्ने अभिव्यक्तिबाट आफू सहमत नभएको प्रस्ट पारे । उनले भने, ‘भारत र नेपालको समान सार्वभौम रुपमा व्यवहार हुनु पर्छ । भारतले नेपाललाई आफ्नो सुरक्षा चासोको बारेमा उल्लेख दिओस् र नेपालको पनि राष्ट्रिय स्वार्थको बारेमा भारतले ध्यान दिनु पर्छ ।’ उनले मुनीका पुस्तकका केही तथ्यगत गल्ती रहेको पनि औंल्याए ।
पुस्तकमाथि बोल्दै विश्लेषक लालले मुनीको पुस्तक एकेडेमिक नरहेको प्रस्ट पारे । उनले भने, ‘लेखकले पुस्तकमा न्यारेटिभ स्थापना गर्न खोज्नु भएको छ ।’
लेखक मुनीले आफूले अनुभव गरेका घटना र मुद्दाहरुलाई उजागर गर्नको लागि पुस्तक लेखेको बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया