काठमाडौं । कामभन्दा पहुँचको भरमा दिन थालेपछि सरकारले हरेक वर्ष दिने विभूषण विवादित मात्र भएको छैन, यसको महत्व पनि घट्दै गएको छ ।
गृह मन्त्रालयले गत वर्ष संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरको थियो । जसमा सत्तारुढ दल निकट, विवादास्पद र राज्यलाई योगदान नपुर्याएका व्यक्ति पनि परेका थिए । यसअघि पनि मानपदवी तथा विभूषण वितरणमा धेरै प्रश्न उठ्ने गरेको थियो ।
यसलाई सच्याउन भन्दै सरकारले हरेक वर्ष विभूषण पाउनेको संख्या तोकेको छ । गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय भएको हो ।
त्यसका लागि २ असारको मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गरेको छ । गृहसचिव महेश्वर न्यौपानेले अनलाइनखबरसँग भने, ‘नियमावली संशोधन स्वीकृत भइसकेको छ, हामीकहाँ आउन भने बाँकी छ ।’
गृहको विभूषण शाखाकी उपसचिव बन्दना राईका अनुसार अब मानपदवी एक सय, अलंकार र पदक ५०र५० जनाले पाउनेछन् । साथै पदकको वर्गीकरण पनि हुनेछ । ‘जस्तै, जनसेवाश्री प्रथमदेखि पञ्चमसम्म हुन्छ, त्यो कुरा पदकमा उल्लेख हुँदैन थियो’, राईले भनिन्, ‘त्यसैले अब पदकमा पनि प्रथमदेखि पञ्चमसम्म कुन हो छुट्टाउने गरी प्रस्ताव पठाएका थियौं ।’
समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई वैशाख १ गते नयाँ वर्षको अवसरमा राष्ट्रपतिबाट मानपदवी, विभूषण र अलंकार वितरण गर्ने चलन छ । तर कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको वैशाखमा भने वितरण गरिएन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया