वैशाख १५, २०८१ शनिबार April 27, 2024

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो ।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उहाँले बताउनुभयो ।

हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।”

तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उहाँले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउनुभयो । राष्ट्रियसभामा अधिकांश विधेयक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले भन्नुभयो, “राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ”, राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो । राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो । राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया