वैशाख २६, २०८१ बुधबार May 8, 2024

सूर्यदर्शन सहकारीबाट लामिछानेले लिए १ करोड, पीडित झनै पीडित

उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेकामध्ये पाँच जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सूर्यदर्शन सहकारी संस्थामा सदस्य नै नरहेका रवि लामिछानेले यो सहकारीबाट १ करोड रुपैयाँ लिएको पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदनले देखाएको छ। सहकारीको सदस्य नै नभएको व्यक्तिले ऋण लिन मिल्दैन। तर लामिछानेले ऋण लिएका छन्। तिरेको भनेर देखाइए पनि सहकारीमा पैसा दाखिला भएको छैन। पैसा लिएर पनि कृत्रिम खाता खडा गरी तिरेको समेत देखाएर छल गरिएको छ।

सूर्यदर्शन त्यो सहकारी हो जसको अध्यक्ष जीबी राई थिए। जीबी तिनै व्यक्ति हुन् जोसँग रवि लामिछानेको साझेदारी थियो। अर्थात् जीबी राईले ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि रविसँग साझेदारी गरेका थिए। अहिले बन्द भइसकेको उक्त टेलिभिजनको सञ्चालक कम्पनी चाहिँ गोरखा मिडिया प्रालि हो। यही मिडियाका लागि पनि पोखराको सूर्यदर्शन सहकारीबाट ३० करोड रुपैयाँ ऋण लिइएको छ।

राईले पटकपटक गरी सूर्यदर्शनबाट पैसा लगेको प्रतिवेदनले औंल्याएको छ। ऋण तिरेको पनि देखाउने, तर सहकारीमा पैसा जम्मा नहुने गरेको अध्ययनमा संलग्नहरू बताउँछन्। सूर्यदर्शन सहकारीका बारे धेरै गुनासो र उजुरी परेपछि पोखरा महानगरपालिकाले गत वर्ष असारमा अध्ययन समिति बनाएको थियो। वित्तीय अवस्था बुझ्न समितिमा अडिटर अनिल लामिछाने पनि सदस्य थिए। उनका अनुसार रवि लामिछानेको नाममा कर्जा गएको र त्यसलाई फस्र्योट भएको पनि देखाइएको छ। ११६–४४५६ नम्बरको कर्जा लिइएको प्रतिवेदनले औंल्याएको छ। कर्जाको शीर्षक पुलेसो भन्ने छ। रविले भने सार्वजनिक रूपमा आफूले कर्जा नलिएको दाबी गर्दै आएका छन्।

सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठ सहकारीको विषयमा रवि गृहमन्त्री भइसकेपछि पनि ज्ञापनपत्र बुझाएको तर कुनै वास्ता नभएको बताउँछन्। ‘उहाँ पोखरा आउँदा पनि पटकपटक भेटेर ज्ञापनपत्र बुझाएका हौं,’ उनले भने।

महानगरपालिकाको प्रतिवेदन आइसकेपछि कास्की प्रहरीमा सहकारीका सञ्चालकहरू र पूर्वअध्यक्ष जीबी राईविरुद्ध उजुरी परेको थियो। उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेकामध्ये पाँच जना पक्राउ परी कास्की अदालतको आदेशमा पुर्पक्षका लागि कारागार छन्। राई फरार छन्। आजको अन्नपूर्णपोष्ट दैनिकबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया