जेठ ६, २०८१ आइतबार May 19, 2024

रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको

१३ लाख कर्जा ऋण तिर्दा पनि अध्यक्ष आङबाबुले मानसिक तनाब दिएको इन्द्र राईको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौंको सोह्रखुट्टेमा रहेको रुरल डेभलपमेन्ट सेभिङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङबाबु राई र सचिव विनोदमणि राईले बचतकर्ताबाट उठाएको रकमबाट २७ आना जग्गा खरिद गरेको स्वीकार गरेका छन् ।

अध्यक्ष आङबाबु र सचिव विनोदमणिले संयुक्त रूपमा पठाएको पत्रानुसार बचतकर्ताको रकमबाट काठमाडौं भीमढुंगामा १ रोपनी नभई २७ आना जग्गा व्यक्तिको नाममा खरिद गरेको स्वीकार गरेका छन् । पत्रमा भनिएको छ, ‘संस्थाको नाममा २७ आना जग्गा कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङको नाममा रहनेगरी दर्ता गरिएको छ, सो कुरा संस्थाको वार्षिक अडिट रिपोर्टमै उल्लेख गरिएको छ ।’

उनीहरूले पठाएको पत्रानुसार सहकारीको बचत खाता रहेको सिटिजन्स बैंकको खाता बन्द भएको हुँदा बचतकर्ताको रकम फिर्ता गर्नका लागि सञ्चालकहरूबाट संकलन गरेको रकम एकैठाउँमा जम्मा गरौं भनी महालक्ष्मी बैंक ठमेलमा सबै सञ्चालकको सहमतिमा विनोदमणि र चन्द्रशमशेर राईको नाममा खाता खोलेको जवाफ पठाइएको छ । अध्यक्ष र सचिवले सबैको सहमतिमा सञ्चालक समितिभन्दा बाहिरका मान्छेको नाममा खाता खोलेको भने पनि उपाध्यक्ष विबबहादुर राई भने सहकारीबाहिरको व्यक्तिको नाममा खाता खोल्ने सहमति नभएको बताउँछन् ।

विबबहादुरले आफूले सहकारीबाट राजीनामा दिएको लामो समय बित्दा पनि राजीनामा स्वीकृत नगरी सहकारीको दायित्व सबै लिन आङबाबु भागेर हिँडेको बताउँछन् । आफूले सहकारीमा बचतमा राखेको १६ लाख ५८ हजार नदिने उद्देश्यले आङबाबु भागेर हिँडेको विबबहादुर बताउँछन् । ‘मेरो सहकारीमा १ रुपैयाँ पनि ऋण छैन, बरु १६ लाख ५८ हजार रुपैयाँ मैले लिनुछ,’ विबबहादुरले भने, ‘मेरो पैसा पचाउने उद्देश्यले आङबाबुले यो सबै चाल चलिरहेका छन् ।’ अरूको जमानीमा बसेको ऋण आफूले सबै चुक्ता गरिसकेको सबै कागजपत्र आफूसँग रहेको विबबहादुरले बताए । विबबहादुरले भने, ‘ऋण तिरेको पैसा पनि तिरेको छैन भनेर हामीलाई मानसिक तनाव दिने काम आङबाबुले गरिरहेका छन् ।’

अध्यक्ष आङबाबु र सचिव विनोदमणिले भने विबबहादुरले ऋण लिएर भागेको आरोप लगाएका छन् । विबबहादुरका अनुसार सचिव विनोदमणिले संस्थाबाट लिएको ऋण मिलान गर्ने भूमिका आङबाबुले गरेको आरोप पदाधिकारीको छ ।

संस्थाकै अर्का सदस्य इन्द्रकुमार राईको पनि आफूले ऋण चुक्ता गरे पनि आङबाबुले नियतबस ऋणबाट मुक्त नगराएको दाबी छ । ‘आङबाबुले मलाई विभिन्न व्यक्तिको नाममा अहिले पनि तनाव दिइरहेका छन्,’ इन्द्रकुमारले भने, ‘विनोदमणिको ऋणचाहिँ तिर्न नपर्ने गरेर मिलान भएपछि आफूले विरोध गरेको हुँ ।’ आफूले पहिलोपटक ७ मंसिर २०८० मा ३ लाख रुपैयाँ र अर्कोपटक १६ असोज २०८० मा १० लाख रुपैयाँ कर्जा भुक्तान गरिसकेको कुरा रुरल डेभलपमेन्टले पत्रसमेत दिएको बताए । आङबाबुले आफूलाई मानसिक तनाव दिने काम गरिरहेकाले सहकारी विभागमा समेत उजुरी गरेको इन्द्रकुमारको भनाइ छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया