श्रावण १२, २०८१ शनिबार July 27, 2024

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भजनी (कैलाली),  चैत २० गते ।  पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ  । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ ।

विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उहाँलाई सफल किसान बनाएको छ । उहाँले व्यवसायलाई बढाउँदै लैजानुभएको छ । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उहाँ भन्नुहुन्छ ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आउनुभएको छ । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उहाँले बर्खामा दुधेच्याउ लगाउँदै आउनुभएको छ । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उहाँ भन्नुहुन्छ, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।” उहाँले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । अहिले उहाँको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाउनुभएका उहाँलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा हुनुहुन्छ । उहाँले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसक्नुभएको छ ।  व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उहाँले व्यवसाय वृद्धिमा नै  लगाउनुभएको छ । “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उहाँ भन्नुहुन्छ । च्याउखेतीका लागि उहाँले एसी प्लान्ट जोड्नुभएको छ । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आउनुभएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त हुनुभएको छ । उहाँले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आउनुभएको छ ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गर्नुभयो । पढ्दै खेतीमा लाग्नुुभएकी  उहाँलाई एन्जिल चौधरीले सिकाउनुभएको थियो । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लाग्नुभयो । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताउनुभएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उहाँ भन्नुहुन्छ, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

बाह्र महिना च्याउ उत्पादनमा लाग्नुभएकी उहाँले ठूलो धनराशि लगानी गर्नुभएको छैन । यो वर्ष रु एक लाख लगानी गरेको उहाँको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उहाँ भन्नुहुन्छ । उहाँको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार