वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

राप्रपाले मंगलबार निषेधित क्षेत्र तोडेर आन्दोलन गर्ने

जनप्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यही मंगलबार गर्ने जनप्रदर्शनमा घोषणा भएको निषेधित क्षेत्रको पालना नगर्ने बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले निषेधित क्षेत्र घोषणा प्रजातन्त्रको भावना र संविधानविपरीत भन्दै राप्रपाले विरोध र उल्लंघन गर्ने बताए ।

उनले भने, ‘हामी त्यो निषेधित क्षेत्रहरु मान्दैनौं । अहिले जुन निषेधित क्षेत्र घोषणा गरेको छ त्यो प्रजातन्त्रको भावनाविपरीत र अहिलेकै संविधानको मर्मको पनि विपरीत छ । भेला भएर शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधानले दिएको जनताको अधिकार हो । विचार स्वतन्त्रता प्रदर्शन स्वतन्त्रतालाई निषेधित गर्ने कुराको राप्रपाले विरोध गर्छ । र, त्यसको उल्लंघन गर्छ ।’

राजादेखि माओवादीसम्म अब सबै राजनीतिक दल र शक्तिहरु अटाउने नवीन समझदारी गरी नयाँ व्यवस्था सम्झौतामा आउने उद्देश्यले प्रदर्शन गर्न लागेको उनले जिकिर गरे । प्रदर्शनले दलहरुमा परिवर्तन आएन भने आन्दोलनलाई बिभिन्न स्वरुपमा निरन्तर अगाडि बढाउने उनले बताए ।

उनले भने, ‘सबैले आफ्ना गल्ती कमजोरी महसुस गरेर अब राजादेखि माओवादीसम्म, सबै राजनीतिक दल र सबै शक्तिहरु अटाउने एउटा नवीन समझदारी गरेर देशलाई पहिलेको व्यवस्थामा पनि फर्काउने होइन, यहीँ पनि राखिराख्न सकिँदैन ।

पहिलेका र अहिलेका समेत राम्रो कुरा समेटेर नयाँ व्यवस्था सम्झौतामा जाऔं भन्ने हिसाबले दबाब सृजना गर्न २७ गते प्रदर्शन गर्न लागेको हो । यसले पनि उहाँहरुमा परिवर्तन आएन भने हामीले आन्दोलनलाई फेरि निरन्तर रुपमा विभिन्न स्वरुपमा अगाडि बढाउँछौ ।’आन्दोलनमा ५० औं हजारको जनसहभागिता रहने उनको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया