वैशाख १८, २०८१ मंगलबार April 30, 2024

उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई मन्त्री शर्माको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले पछिल्लो समय कर्मचारीहरूमा त्रासको मनोविज्ञान देखिएकाले यसलाई हटाउनुपर्ने बताउनुभयो ।

‘विभिन्न नियमनकारी निकायहरूले निगरानी बढाएको कारण देखाउँदै पछिल्लो समय कर्मचारीले गर्नै पर्ने काममा पनि डराउने गरेको देखिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “तपाइ कर्मचारीले नडराएर नबिराएर उच्च मनोबलका साथ काम गर्नुपर्छ, कसैले पनि गल्ती गरिएन र कानुनको परिधिभित्र रहेर काम गरियो भने कुनै समस्या आउँदैन ।”

गल्ती गर्ने हो भने राजनीतिक वा प्रशासनिक जुनसुकै क्षेत्रमा रहेका व्यक्ति कुनै पनि बेला सजायको भागिदार बन्नुपर्ने उल्लेख गर्दै उहाँले गल्ती नगर्नेहरू डराउन नपर्ने बताउनुभयो । “बेइमानी नगरौँ, बदमासी नगरौँ तर कानुनको परिधिभित्र रहेर काम गर्न नडराऔँ”, मन्त्री शर्माले दोहोर्‍याउनुभयो, “हामीलाई कतै सोधपुछ हुन्छ कि भन्ने बहानामा कर्मचारीले काम नगर्ने हो भने सुशासन र सेवा प्रवाह झन् कमजोर हुने भएकाले म सबै कर्मचारी साथीहरूलाई कानुनको परिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्न चाहन्छु ।”

अहिले नेपालमा कर्मचारीको सेवा सुविधा न्यून नै रहेको उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक उन्नतिसँगै सेवा सुविधा पनि बढ्दै जाने भएकाले हरेक कर्मचारीले देश बनाउँछु र म पनि बन्छु भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । सफा नियतका साथ काम गर्ने हो भने राजनीतिक, प्रशासनिक वा अन्य कुनै पनि क्षेत्रमा समस्या नआउने मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

सरकार डिजिटल नेपाल निर्माणको अभियानमा जुटेको उल्लेख गर्दै उहाँले डिजिटल नेपाल निर्माणको महत्त्वपूर्ण डिजिटल पूर्वाधार दूरसञ्चार भएकाले देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याउन अनिवार्य रहेको बताउनुभयो । “हामीले चालु आर्थिक वर्षकै नीति तथा कार्यक्रम र बजेटमा सबै वडा केन्द्रसम्म इन्टरनेट सेवा पुर्‍याउने भनेका छौँ तर अहिले पनि कतिपय पालिकामै सेवा नपुगेको गुनासो आइरहेको छ”, मन्त्री शर्माले भन्नुभयो, “यो डिजिटल डिभाइडको अवस्था अन्त्य गर्न नेपाल टेलिकमले अघि सारेका परियोजनाहरू जति सक्यो चाँडो पूरा गर्न आग्रह गर्न चाहन्छु ।”

नेपाल टेलिकमका कर्मचारीहरूले आफ्नो पेसागत हितका साथै कम्पनीको उन्नति र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको सुझाव थियो । आज दूरसञ्चार बजारमा पुराना सेवाहरूको खपत घटेकाले नेपाल टेलिकमले उच्च प्रविधि र गुणस्तरीय सेवासहितको द्रुत गतिको इन्टरनेट सेवालाई आकर्षक बजार व्यवस्थापनका साथ अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो ।

कर्मचारी सङ्गठनका साथै टेलिकमका प्रादेशिक तथा जिल्ला कार्यालयबीच काममा प्रतिस्पर्धा गराउन व्यवस्थापन पक्षलाई आग्रह गर्दै मन्त्री शर्माले सेवा वृद्धि गरेर व्यापार बढाउने र देशका सबै ठाउँमा दूरसञ्चार सेवा पुर्‍याएर डिजिटल नेपाल निर्माणको अभियानमा नेतृत्व लिनुपर्ने बताउनुभयो । देशका सबै ठाउँमा सहज रूपमा गुणस्तरीय इन्टरनेट सेवा दिने हो भने लाखौँ युवाहरू नेपालभित्रै बसेर सेवा निर्यात गर्न सक्षम हुने र यसबाट ठुलो मात्रामा वैदेशिक मुद्रा भित्रने भएकाले मुलुकको समृद्धिका लागि अब धेरैभन्दा धेरै डिजिटल पूर्वाधारको विकास गरेर जानुपर्ने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया