असार २२, २०८२ आइतबार July 6, 2025

अहिले यिनै शासकको जयजयकार गर्नुपरेको छ, नगरे टिकिन्न : महन्थ ठाकुर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजपा र समाजवादी पार्टीको एकीकरण घोषणा भएको दुई महिना भएको छ, एकीकरण प्रक्रिया अहिले कहाँ पुगेको छ ?

हामीले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छौँ । पदाधिकारीले पूर्णता पाइसकेको छैन । पार्टी दर्ता भएपछि बाँकी एकीकरणको काम अघि बढ्छ । पार्टी दर्ताका लागि निवेदन मात्रै परेको छ, निर्वाचन आयोगबाट दर्ता भइसकेको छैन । निर्वाचन आयोगले हाम्रो सूचीमा महिलाको सूची पुगेन भनेको छ । हामीले ३३ प्रतिशत महिला पुर्‍याउँछौँ भनेर जवाफ पठाएका छौँ ।

तपाईंहरूले रातारात नयाँ पार्टी घोषणा गर्नुभयो । सरकारले तपाईंहरूको पार्टी फुट्न सहज हुने गरी वैशाख १० गते अध्यादेश ल्याएकै कारण एक्कासि घोषणा गर्नुभएको हो कि अरू तयारी पनि थियो ?

हामीबीच लामो समयदेखि वार्ताको सिलसिला चलेको थियो । वार्ताको जिम्मा राजपाका तर्फबाट राजेन्द्र महतोजी र समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठजीले पाउनुभएको थियो । समय-समयमा हामी पनि वार्तामा सामेल हुन्थ्यौँ । अनेकौँ चरणको छलफलका क्रममा पार्टी एकीकरण गर्ने निष्कर्षमा पुगिसकेका थियौँ । यद्यपि, थप सहमतिका लागि छलफलमा थियौँ । तर, वैशाख १० गते हामीले एकता घोषणा गर्यौं । घोषणामा हामीले सरकारले ल्याएको अध्यादेशको चर्चा गरेका छैनौँ । परिस्थितिको अनेक अर्थ लगाउन सकिन्छ । नेपालको राजनीति क्षण-क्षणमा बदलिइरहन्छ । हाम्रो राजनीतिको गुण भनेकै हामीकहाँ अपेक्षित घटना हुँदैन, अनपेक्षित मात्रै हुन्छ । अध्यादेश किन आएको थियो, फेरि किन फिर्ता भयो ? यो स्वाभाविक थिएन । किनकि पार्टी फुटबारे कानुनमा व्यवस्था छँदै थियो । हाम्रो दिमागमा त्यसले केही परेको त हुन सक्छ, किनभने आक्रमण हामीमाथि भएकै थियो । तर, हामीलाई त्यो घटनासँग मात्रै जोडेर हेर्नु हुँदैन ।

हामीलाई खबर आयो, राज्यमन्त्री भएका समाजवादी पार्टीका सांसद (डा सुरेन्द्र यादव)लाई अपहरणको शैलीमा मधेसबाट काठमाडौं ल्याइयो । यो खबरले हामीलाई चिन्तित तुल्यायो । सरकारको इन्टेन्सन सही देखिएन । वैशाख १० गते कांग्रेसले बोलाएको बैठकमा हामी थियौँ । समाजवादीका नेताहरू अशोक राई, रेणु यादवले पार्टी छाड्दै छन् भन्ने हल्ला चलेको थियो । कांग्रेसकहाँ बैठक सकिएपछि समाजवादी पार्टीका साथीहरू र हामी एक छिन बसौँ न त भन्यौँ । उपेन्द्रजी, बाबुरामजीहरू पनि हुनुहुन्थ्यो । छलफलकै क्रममा साथीहरूले भन्नुभयो, ‘धेरै कुरा भइसक्यो, छलफल पनि भयो, पार्टी घोषणा गरौँ ।’ ठीकै छ भन्ने लाग्यो र एकता घोषणा गर्यौं ।

दुई पार्टीबीच शासकीय प्रणालीलगायत विषयमा सैद्धान्तिक वैचारिक मतभेद छ, यो हल नगरी कसरी, कुन वैचारिक आधारमा पार्टी एकता घोषणा गर्नुभयो ?

हामीले त्यससम्बन्धी सबै विषय पार्टीको महाधिवेशनबाट टुंग्याउने भनेका छौँ । म भन्छु, हामी अहिले संसदीय व्यवस्थामा नै छौँ, देश पनि यही व्यवस्थामा चलिरहेको छ । उहाँहरूले भनेको पनि संसदीय व्यवस्था नै हो । प्रतिनिधिमूलक व्यवस्था भनेपछि हाम्रो मान्यता धेरै फरक छैन । उहाँहरूले कार्यकारी राष्ट्रपति भन्नुभएको छ, देश संसद्बाट निर्वाचित भएको प्रधानमन्त्रीय पद्धतिमा छ । यो डेमोक्रेसीको लिबरल भल्भ हो । निर्वाचित सरकार हुन्छ । राष्ट्रप्रमुख सेरेमोनियल हुन्छ । राष्ट्रपतिको अनुभव, योग्यता, क्षमताको सरकारले फाइदा पाउँछ, तर ऊ एक्सनमा संलग्न हुँदैन । प्रजातन्त्रभित्र पनि फरक–फरक प्रणाली छन्, यसमा छलफल हुँदै जान्छ ।

यो देशमा मधेसका मन्त्री भए । तर पनि के गर्नु, उनीहरू चारैतिर घेराबन्दीमा छन् । उनीहरू नै हामीविरुद्ध बोल्छन् । पहिला हामी राजाकी जय, युवराजधिराजकी जय भन्थ्यौँ । अहिले यिनै शासकको जयजयकार गर्नुपरेको छ, नगरे टिकिन्न ।

०४६ पछि राजसंस्था सेरेमोनियल भूमिकामा थियो, अहिले राष्ट्रपति त्यही भूमिकामा छन् । पहिला पनि प्रधानमन्त्री कार्यकारी थिए, अहिले पनि उनै छन् । यो अभ्यास ठीकै छ कि परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ ?

वास्तवमा हाम्रा लागि केही पनि फरक छैन । हामीले जुन परिवर्तनका लागि संघर्ष गरेका थियौँ, त्यो भएको छैन । पहिला राजा राष्ट्रप्रमुख थिए, उनी सेनाको प्रमुख हुन्थे । राजाको शासन सैनिक शासनजस्तो थियो । अहिले यो रूप बदलिएको छ । तर, जनता जुन अधिकारका लागि आन्दोलनमा उत्रेका थिए, त्यसअनुसारको अधिकार पाइएको छैन । सिस्टम लोकतान्त्रिक छ, निर्वाचित सरकार पनि छ । तर, भेदभावको सवाल उस्तै छ । जाति, भाषा, क्षेत्रका आधारमा रहेको भेदभाव हटाउने, पहिचानका आधारमा संघ बनाउने, साधन-स्रोत र शक्तिको बाँडफाँड त्यहीअनुसार गर्ने भन्ने विषय कार्यान्वयन भएनन् । खालि अलिकति नामको र रूपको परिवर्तन भएको छ, बाँकी सारा संरचनामा राजा हुँदा वा नहुँदा केही फरक छैन । प्रशासनका केही व्यक्तिको अधिकार झन् बढेको छ । स्थानीय, प्रादेशिक सरकारको कुनै आदेश चल्दैन । केन्द्र झन् बलियो छ । पहिला हामी दरबार भन्थ्यौँ, अहिले बालुवाटार भन्छौँ । शक्ति केन्द्रित हुन थालेपछि दुईवटा सम्भावनाको टेन्डेन्सी हुन्छ : एउटा, अधिनायकवाद र अर्को भ्रष्टाचारको । अहिले दुवै देखा परिरहेको छ । एकात्मक सरकारको भन्दा पनि शक्ति र स्रोत अहिले केन्द्रमा केन्द्रित भएको छ ।

मैले भन्दै आएको छु कि हामीले राष्ट्रियताको नारा त लगायौँ, तर हाम्रो राष्ट्रियता त जेलमा छ । हाम्रो राष्ट्र (देश भनेको होइन, देश र राष्ट्रमा फरक छ) जेलमा छ । आफ्नो अधिकारका लागि आन्दोलन गर्दा आफ्नै देशभित्र महिलामाथि दुव्र्यवहार भएको छ, बालबच्चामाथि हिंसा भएको छ । नाबालक मारिएका छन्, युवाहरूमाथि मुद्दा चलाइएको छ । आफ्नै प्रशासनले हामीमाथि दुव्र्यवहार गरेको छ । हाम्रा लागि पुरानो र नयाँ व्यवस्था उस्तै छ, केही फरक छैन । अहिले पनि सांसद रेशम चौधरीलगायत हाम्रा दर्जनौँ साथीहरू जेलमा छन् । हजारौँमाथि मुद्दा चलाइएको छ ।

नयाँ पार्टी एकतापछि यी मुद्दामा कसरी अघि बढ्नुहुन्छ ?

हामीलाई जनताले अघि बढाएका हुन्, जनता जहाँ जान्छन्, हामी त्यहीँ जान्छौँ । हाम्रो इज्जत-प्रतिष्ठा जनतासँग जोडिएको छ । आफ्नो मान-मर्यादाका लागि मानिस लडिरहेको छ, संघर्ष गरिरहेको छ । यो देशमा मधेसका मन्त्री भए । तर पनि के गर्नु, उनीहरू चारैतिर घेराबन्दीमा छन् । उनीहरू नै हामीविरुद्ध बोल्छन् । पहिला हामी राजाकी जय, युवराजधिराजकी जय भन्थ्यौँ । अहिले यिनै शासकको जयजयकार गर्नुपरेको छ, नगरे टिकिन्न ।

अहिले मुलुकमा लोकतन्त्र कमजोर हुँदै गएको भन्ने यहाँहरूको बुझाइ हो ?

हाम्रो चिन्ता यही हो । हामी जुन एजेन्डा र अधिकारका लागि लडेका थियौँ, त्यो जनताले पाएका छैनन् । अहिले हामीमाथि गोली चलाइएको छ । लोकतन्त्र कहाँ छ भनेर हामी प्रश्न गरिरहेका छौँ । अहिले प्रदेशहरूले अधिकार पाएका छैनन् । राजनीतिक संरचनासम्म बनेको छ । प्रदेशमा निर्वाचित सरकार छन्, तर प्रशासन सम्पूर्ण रूपमा केन्द्रसँग छ । हाम्रो राजनीतिक प्रणालीले पूर्णता नै पाइसकेको छैन । हामीले पहिचानमा आधारित संघीयता भनेका छौँ । विगतमा अन्यायमा परेका र अधिकारबाट वञ्चित गरिएकाहरूले अधिकार पाएका छैनन् । पहिचानका आधारमा प्रदेशको निर्माण भएको छैन । बहुसांस्कृतिक राष्ट्रराज्य हो हाम्रो, यसमा सिंगल नेसन स्टेट हुँदैन । एउटा समूह राष्ट्रका रूपमा छ । मधेसी, जनजातिलगायत समूह राष्ट्रका रूपमा देखिएका छैनन् । सामान्य प्रशासनदेखि सबै सेवामा एउटा समूहको मात्रै उपस्थिति छ । इक्वालिटी भनेको इक्वेल अपर्चुनिटी हो नि । त्यो खोइ ?

मधेसका मुद्दा सम्बोधन भइसक्यो, त्यही कारण पार्टीलाई राष्ट्रिय रूपमा बृहत् फ्रेममा लैजाने गरी तपाईंहरू पार्टी एकतामा जाँदै हुनुहुन्छ भन्ने चर्चा पनि छ नि ?

सम्बोधन भइदिएको भए हामीले किन संविधान संशोधन दर्ता गराउँथ्यौँ ? हाम्रा माग कहाँ पूरा भएका छन् ? अहिले वैवाहिक नागरिकताको विषय आएको छ । विवाह गरेर हामीकहाँ आउने महिलाको गोत्र परिवर्तन भएको हुन्छ, हाम्रा परिवारमा समाहित हुन्छन् । उनीहरूमाथि विभेद गर्न खोजिएको छ । उनीहरू बिमार परेर बाहिर जानुपर्ने अवस्थामा कुन डकुमेन्ट प्रयोग गर्ने ? हामीलाई अप्ठ्यारो बनाइएको छ । तपाईं पत्रकारहरू प्रश्न गर्नुहुन्छ, हामीले दुःख झेलिरहेका छौँ । हामी सिमानामा छौँ । पानी परेर बाढी आयो, भारतलाई दोष । काम हामी गर्दैनौँ, दोष अर्कालाई दिएर पन्छिरहेका छौँ । हुलाकी सडकले पहाड र मधेसलाई एकताको सूत्रमा बाँँधेको थियो, आज त्यही सडकको दुर्दशा छ ।

तपाईंको पार्टीमा मधेसको नेतृत्व कमजोर भएकाले डा. बाबुराम भट्टराईलाई नेतृत्वमा ल्याएर अघि बढ्न खोज्नुभएको हो ?

हाम्रो पार्टीमा पहाडका नेताहरू पहिलादेखि नै छन् । बाबुरामजी प्रधानमन्त्री बनिसक्नुभएको हो । मधेसीले बाध्य भएर उहाँको नेतृत्वमा जानुपर्‍यो भनेका होइनन् । यो दृष्टिकोणले सोच्नै हुँदैन, हेर्नै हुँदैन । यथार्थ यो हो कि पहाडबाट कुनै मधेसीले प्रतिनिधत्व गर्न सकेको छैन । अवसर पनि दिएको छैन, न त पाएको छ ।

बाबुरामजीलाई मैले भनेको थिएँ, ‘तपाईं प्रधानमन्त्री भइसक्नुभयो, नामको बेनिफिट तपाईंले पाउनुहुन्छ । तपाईं सर्लाहीबाट उत्तरतिरको कुनै निर्वाचन क्षेत्र रोज्नुभयो भने हामी सहयोग गर्छौं । तर, दक्षीण क्षेत्रबाट त म भन्न सक्दिनँ ।’ बाबुरामजीले हाम्रो समस्यालाई बुझेर हाम्रो साथमा बस्न आउनुभएको हो भने ठीकै छ, होइन भने त म के भनौँ ? हाम्रो पार्टीको अहिलेको नेतृत्व भनेको नेपाली समाजको प्रतिबिम्ब हो । समाजको रूपअनुसार पार्टी संरचना र नेतृत्व हुन्छ । हामीले राम्रो होस् भनेर नयाँ संरचना बनाएका हौँ । कोही लडाइँ हार्न मैदानमा जाँदैन । जतिसुकै अप्ठेरो भए पनि विगतमा अध्यक्षमण्डलमा गएका थियौँ । कम्तीमा परिणाम त सकारात्मक आयो । प्रदेश नम्बर २ मा हामीले सरकार बनायौँ । कमी–कमजोरीका बाबजुद केही त भएको छ । के मधेसको व्यक्तिले राष्ट्रिय पार्टीको नेतृत्व गर्न सक्दैन ? प्रधानमन्त्री वा राष्ट्रपति बन्न सक्दैन ? हामी बहुराष्ट्रिय संस्कृतिमा छौँ । यो भूमिसँग हामी सबैको नियति जोडिएको छ ।

तपाईंको पार्टीको कांग्रेससँग कति दूरी छ, कम्युनिस्ट पार्टीसँग कति दूरी छ ?

दूरी भएर नै हामीले अलग पार्टी बनाएका हौँ र वैकल्पिक शक्ति भनेर हिँडेका छौँ । कसैसँग हाम्रो दुस्मनी छैन, दोस्ती पनि छैन । गुण–दोषका आधारमा सम्बन्ध छ । हामी सबै पार्टीहरू लोकतन्त्रका लागि संघर्ष गरेरै आएका हौँ । व्यवहारमा कसैसँग घटी–बढी दूरी देखिएको छैन । तत्कालीन अवस्थाका आधारमा पार्टीहरूसँग सम्बन्ध स्थापित हुन्छ ।

प्रसंग बदलौँ, तपाईंहरू सबैको सहयोगमा सरकारले लिम्पियाधुरासम्मको नयाँ नक्सा जारी गर्यो, संविधान संशोधन भई निसान छाप पनि परिवर्तन भयो । अब हाम्रो बाटो के हुनुपर्छ ?
प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकमा मैले भनेको थिएँ कि अहिले नै हतारमा निर्णय लिने होइन । वार्ता सुरु गरेपछि मात्रै साथसाथै अरू कदम चाल्नुपर्छ । वार्ताको परिस्थिति तलमाथि हुने गरी एकतर्फी कदम चाल्नु हुँदैन भन्ने धारणा मेरो थियो । तर, सरकारले कदम चाल्यो, हामीले साथ दियौँ । प्रधानमन्त्री ओलीजीले जे चाहनुभयो, गर्नुभयो । नक्सा जारी गरेपछि भारतसँग तत्कालै वार्ता हुने सम्भावना म देखिरहेको छैन ।

नयाँ नक्सा प्रकरण प्रधानमन्त्री ओलीको राजनीतिप्रेरित कदम मात्रै थियो कि देशले चाल्नुपर्ने कदम थियो ?

म सोध्न चाहन्छु, मुलुकले के पायो ? कागजमा नक्सा कोर्‍यौँ, तर के पायौँ ? हामीले दाबी गरेका जमिनमा हाम्रो भौतिक उपस्थिति कहीँ पनि छैन । त्यहाँ रहेका जनतासँग हाम्रो के सम्पर्क छ ? तिनको राष्ट्रियता के हो ? त्यहाँका मानिस भारतीय सेना, प्रशासनिक सेवा, प्रहरीमा ठूला पदमा बसेका छन् । उनीहरूलाई हामीले के दिएका छौँ ? त्यहाँका जनता हाम्रो पक्षमा कसरी आउँछन् भन्ने प्रश्न छ । मेरो विचारमा ओलीजीले जति गर्न सक्नुभयो, अब थप के गर्ने ? योभन्दा बढी गर्नका लागि संवाद हुनुपर्ला । संवादका लागि सामान्य अवस्था हुनुपर्ला । असामान्य अवस्थामा जाने हो भने बन्दुक लिएर जानुपर्ला । सबै ओलीजीकै हातमा छ ।

अर्कातिर सरकारले नक्सा जारी गरिसकेपछि प्रमाण खोज्न विज्ञ समूह गठन गरेको छ । पहिला प्रमाण खोज्ने कि नक्सा जारी गर्ने ? यो कुरा अहिले मात्र होइन, पहिले नै उठेको हो । मनमोहन अधिकारीजीको पालामा पनि यो कुरा उठेको थियो । त्यहाँ रहेका बस्तीको सम्बन्ध कुन सरकारसँग छ ? यो अवस्थामा तपाईं सुगौली सन्धिका आधारमा जाने हो भने प्रमाण जारी गर्नुस् । नक्सा त आज मात्र होइन, भोलि पनि बन्न सक्ला । ओलीजी अघि बढिसक्नुभएको छ । हामीले उहाँलाई जिम्मा लगाइदिएका छौँ । अर्को कुरा, नेपालका सबै भूभाग सुगौली सन्धिअन्तर्गतका मात्र छैनन् । नयाँ मुलुक भनिएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६० मा अंग्रेजले नेपाललाई दिएको हो । सन् १८५७ को लखनउको सिपाही विद्रोह दबाउन मद्दत गरेबापत नेपालले पाएको हो । यो जमिन सुगौली सन्धिको होइन । गण्डकीदेखि कोसीसम्मको मधेसको भूभाग पनि सुगौली सन्धिपछि नेपालतिर आएको हो । अंग्रेजले छाडिदिएको जमिन न नेपालको हो । सुगौली सन्धिको पार्ट मधेस पनि छैन, नयाँ मुलुक पनि छैन ।

अहिले सरकारको भारतसँग सम्बन्ध चिसिएको छ, एमसिसीका विषयमा अमेरिकासँग शंकाको सम्बन्ध छ । चीनसँग सरकारको निकटता बढेको देखिन्छ । यो अवस्थालाई कसरी हेर्नुभएको छ ?

व्यवहार र सिद्धान्तमा फरक हुन्छ । नेपाल र चीनबीच सैद्धान्तिक रूपमा बराबरी सम्बन्ध छ । दुवै सार्वभौम मुलुक हुन् । हामी कोही पनि बिग ब्रदर होइन भनिरहेका छौँ । तर, व्यवहारमा सबै बराबरी छैनन् । आकारले ठूलो-सानो जे भए पनि सबैको बराबरी महत्व रहन्छ भन्ने कुरा सही हो । सात समुद्रपार भए पनि नेपालको विकासमा अमेरिकाको योगदान छ । कृषि, शिक्षा, सञ्चार, यातायात, स्वास्थ्यमा उसको सहयोग छ । ऊसँग हाम्रो राजनीतिक समस्या पनि छैन । भारतसँग हाम्रो आफ्नै ढंगको सम्बन्ध छ । भारतसँगको सम्बन्ध सरकारहरूले बनाएका होइन । दिल्ली र काठमाडौंले मात्रै बनाएको होइन । परम्परागत सम्बन्ध हाम्रो छ । सिमानामा तार लगाउने कुरा सुन्दै छु । जनताले भत्काइदिए भने के गर्नुहुन्छ ?

भारतसँग वैवाहिक सम्बन्ध पनि मधेसीसँग मात्र नभएर पहाडसँग पनि उत्तिकै छ । राजघरानासँग सम्बन्ध पहाडतिर छ, जनस्तरको सम्बन्ध मधेसमा छ । हाम्रो बढी सम्बन्ध विगतमा तिब्बतसँग थियो, चीनसँग पहिला तिब्बत हुँदै सम्बन्ध थियो । तिब्बतले हामीलाई कर तिथ्र्यो । चीनसँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापित छ, सम्बन्ध राम्रो छ । भारत र चीन दुवै छिमेकी छन्, अतुलनीय सम्बन्ध दुवैतिर छ । तपाईं मान्नुस्, साइकल र बुल-डोजरबीच लडाइँ भयो भने कारण जेसुकै होस्, नोक्सान साइकललाई हुन्छ ।

एमसिसीबारे तपाईंको पार्टीको धारणा के छ ?

हामीले पार्टीगत धारणा बनाइसकेका छैनौँ । इन्डो-प्यासिफिक रणनीति जोडिएका कारण सरकार डराइरहेको अवस्था देखिन्छ । इन्डो-प्यासिफिक रिजन पनि त छ नि । रणनीति पछि बनेको हो, इन्डो-प्यासिफिक रिजन त पहिल्यै छ नि ।

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको बढ्दो सम्बन्धबारे के भन्नुहुन्छ ?

चीनमा चीन स्टाइलको शासन छ । उनीहरू चीनको विशेषतायुक्त समाजवादको अभ्यास गरिरहेका छन् । राष्ट्रपति सीको नयाँ विचारधारा यसैमा आधारित छ । हामीकहाँ पनि कम्युनिस्ट सरकार छ । हाम्राले पनि त्यस्तै प्रकारको शासन खोजेका होलान् । यसले राज्य सञ्चालनमा प्रभाव पार्छ नै । तर, हामीलाई अन्तर्राष्ट्रिय राजनीतिमा खेल्ने स्पेस अत्यन्तै साँघुरो छ । यो कुरा हेर्नुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीसँगको निकटताबारे नेकपाभित्रै विवाद छ, यसमा हामीले बोलिरहनै पर्दैन । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार