असार ३०, २०८२ सोमबार July 14, 2025

नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा

राजेन्द्र खेतानलाई १० लाख जरिमाना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०-०८१ को तेस्रो त्रैमासमा इजाजतपत्रप्राप्त ‘क’ वर्गका चारवटा बैंक र दुईवटा विकास बैंकलाई बैंक सुपरिवेक्षण विभागमार्फत कारबाही गरेको छ ।

कारबाहीमा परेका वाणिज्य बैंकहरूमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । कारबाहीमा परेका ‘ख’ वर्गका बैंकहरूमा लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

कर्जा सापटको वर्गीकरण नगरेको र कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको भन्दै केन्द्रीय बैंकले कुमारी बैंकलाई कारबाही गरेको हो । कुमारी बैंकले क्यापिटल एडिक्वेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेपछि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । कुमारी बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको पाइएपछि सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । कुमारी बैंकले नेपाल राष्ट्र बैंकबाट जारी ‘बैंक÷वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिनेगरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकाले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराइएको हो । सो रकम ३५ दिनभित्र असुल उपर गर्न सञ्चालक समितिलाई निर्देशन दिइएकामा सो रकम असुलउपर भएको जनाइएको छ ।

यसैगरी, बैंकबाट जारी एकीकृत निर्देशनबमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा बैंकको २०७८ चैत महिनाको अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेकाले प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिई कारबाही गरिएको छ ।

प्रचलित कानुन र केन्द्रीय बैंकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिलाई पनि सचेत गराइएको छ ।

यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालिमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसरी नोट जारी गरी बेनेफिसियरीबाट बैंकले कुल ४१ करोड ३६ लाखबराबरको बिलप पर्चेज गरी कर्जा सापटमा देखाएको भन्दै सचेत गराइएको छ । सो प्रतितपत्रकोे म्याचुरिटी डेट बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत मसान्तसम्म एभरग्रीन गरी असल कर्जाकै रूपमा देखाएको कारबाही गरेको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

यसैगरी, आधारदर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्वबापतको खर्चलाई समेत समावेश गरी आधारदर गणना गरेको, पुँजीकोष गणना गर्दा केही कर्जाहरूको जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको भन्दै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरिएको छ ।

लक्ष्मी सनराइज बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी–गराई उपयोग गरेको भन्दै कारबाही गरेको छ । सो कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी–गराई भुक्तानी भएकाले केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था उल्लंघन भएको देखिन आएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्रकुमार खेतानलाई १० लाख जरिमाना गरिएको छ ।

साथै, लक्ष्मी सनराइज बैंकबाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमै सो कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकाले सो कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेका छन् ।

ग्राहक पहिचानमा गम्भीरता नदेखाएको भन्दै लुम्बिनी विकास बैंक र निर्देशन पालना नभएको भन्दै एक्सेल डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रूपमा लागू हुन नसकेको पाइएकाले लुम्बिनी विकास बैंक लिमिटेडलाई सचेत गराइएको हो ।

यसैगरी, एक्सेल डेभलपमेन्ट बैंकले पनि राष्ट्र बैंकको निर्देशन पूर्ण परिपालना गरेको नदेखिएकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को बुँदा न.१(क) र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९९ को बुँदा न. १(क) बमोजिम सो बैंकलाई सचेत गराइएको छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया