असार २७, २०८२ शुक्रबार July 11, 2025

मेलम्चीकाे ‘हेडवर्क्स’ सार्न हतार नगर्न संसदीय उपसमितिकाे सुझाव

हेडवर्क्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवर्क्सलाई पुनः सञ्चालनमा ल्याउन थप उपायको खोजी गर्नु उचित हुने सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चाेकः संसद्को पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अनुगमन गरेको छ ।

आयोजनाका बारेमा विभिन्न कोणबाट टिप्पणी आइरहेका बेला संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ लगायत संरचनाको स्थगलत अनुगमन गरेको हो । उपसमिति संयोजक प्रतिनिधि सभा सदस्य उर्मिला माझीको नेतृत्वको टोलीले आयोजनाको हेडवर्क्स र अन्य संरचनाको स्थलगत निरीक्षण गरी आयोजनालाई सुझाव पनि दिएको छ ।

संयोजक माझीले विस्तृत अध्ययन नगरि तत्काल हेडवर्क्स सार्ने निर्णयमा नपुग्न सुझाव दिएको बताउनुभयो । संयोजक माझीका अनुसार समितिले २०७८ साल असार १ गतेको बाढीका कारण ध्वस्त भएको हेडवर्क्स क्षेत्र, अस्थायी टनेलमार्फत पानी पथान्तरण गरिएको अवस्था र पछिल्लो अवधिमा हेडवर्क्स स्थानान्तरण गर्नुपर्ने भनी विभिन्न निकायबाट सुझाव दिइएको आधारमा हेडवर्क्स स्थानान्तरण गर्ने भनिएको क्षेत्रको पनि टोलीले निरीक्षण गरेको छ ।

आयोजनाको लागत खर्च बढिरहेको, बाह्रै महिना काठमाण्डौमा पानी पठाउन सक्ने अवस्था नरहेको, लार्के र याङ्ग्रीको पानी तत्काल आउने सम्भावना पनि नदेखिएको अवस्थामा हेडवर्क्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवर्क्सलाई पुनः सञ्चालनमा ल्याउन थप उपायको खोजी गर्नु उचित हुने सुझाव टोलीले दिएको सांसद माझीले बताउनुभयो ।

मेलम्चीबाट दुई हजार सात सय मिटर लामो सुरुङ बनाएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा पानी ल्याइएको छ । अहिले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी पठाइरहेको आयोजना प्रमुख रत्न लामिछानेले बताउनुभयो । याङ्ग्री र लार्केसम्म जाने ‘एप्रोच रोड’ निर्माण भइरहेको र अन्य डिजाइनको काम पनि जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया