काठमाण्डौंः खोटाङको दिक्तेलमा आयोजना गरिएको खुला पुरुष/महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र महिलातर्फ नेपाल प्रहरीका राममायाँ बुढाले उचालेका छन् ।
नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत सोमबार आयोजना गरिएको २१ दशमलव ०९७ किलोमिटर दूरीको हाफ म्याराथन प्रतियोगितामा राईले एक घण्टा नौँ मिनेट ४८ सेकेण्डमा तथा बुढाले एक घण्टा २८ मिनेट ४६ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन ।
उपाधि विजेता राई र बुढाले जनही नगद रु ७५/७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपाधि विजेता बुढा र राईलाई कार्यक्रमका प्रमुख अतिथि म्याराथन धावक बैकुण्ठ मानन्धर, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले पुरस्कार वितरण गरेका थिए ।
महिलातर्फको प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने, दीपा बस्नेत, रुस्मा राई, सूजना राई, रञ्जना राई, नमूना राई र तनिसा राई क्रमश : दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन् । उनीहरुले क्रमशः नगद रु ५० हजार, २५ हजार, १५ हजार, दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरुषतर्फको प्रतियोगितामा सञ्जय श्रेष्ठ, सुशिलकुमार शाही, राजेन्द्र तामाङ, विनोद रोकाया, भूमिराज राई र करण खड्का क्रमश : दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ भएका छन् ।
उनीहरुलाई क्रमशः नगद ५० हजार, २५ हजार, १५ हजार, दश हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
१५ वर्षमाथिका १० किलोमिटर खुला पुरुष दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका टंकबहादुर कार्की, देउराज बस्नेत र भूपेन्द्र सुनार प्रथम, द्धितीय र तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद १५ हजार, दश हजार र सात हजारका् साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै, खुला महिला प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका वविता राई प्रथम, आर्मीकै सिर्जना राई दोस्रो र दिक्तेलकी रञ्जिला राई तेस्रो भएका छन् ।
उनीहरुलाई क्रमशः नगद १५ हजार, दश हजार र सात हजारका् साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
१२ वर्षमुनिका छात्रछात्रा, ६० वर्षमाथिका पुरुष, आमाहरु, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि दौड प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताका विजयीलाई नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिए ।
११ दिनसम्म सञ्चालन हुने महोत्सव अन्तरगत वैशाख–३१ गतेदेखि जेठ–१ गतेसम्म एथ्लेटिक्स, जेठ–३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ–६ गते खुला गायन प्रतियोगिता र जेठ–८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थान हाँसिल गर्ने प्रतियोगीलाई क्रमशः ४० हजार, २५ हजार, १७ हजार, ११ हजार र सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिनेछ ।
जेठ–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला/पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताका उत्कष्ट महिला/पुरुष खेलाडीलाई समान २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
कराँते विद्याका लागि दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए।
चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब ५२ लाख खर्च हुने आयोजकले जनाएको छ ।
महोत्सव सफल पार्न जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल समारोह समिति तथा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई समेटेर नौँवटा उपसमिति गठन गरिएको छ ।
महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु दिक्तेलमा आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया