असार २९, २०८२ आइतबार July 13, 2025

सत्तापक्ष र प्रतिपक्ष संसद्मै नोकझोक

प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ४ गते । अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आमनेसामने भएका छन् । विवादबिच कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिएका छन् ।

सङ्घीय संसद्को अवधिमा अवरोध र आरोप प्रत्यारोप भइरहे पनि सत्तापक्ष प्रतिपक्ष रोस्ट्रमअगाडि पुगेको यो पहिलो घटना हो । १० वर्षपछि प्रतिनिधि सभामा झन्डै पुरानो दृश्य दोहोरिएको हो । बिहीबार बैठक प्रारम्भसँगै कांग्रेस सांसद रोस्ट्रमअघि पुगेर नाराबाजी सुरु गरेका थिए । सहमतिका लागि दिनभरको प्रयास असफल भएपछि अपराह्न ४ बजे बैठक बोलाइएको थियो । उक्त बैठक पनि करिब दुई घण्टा ढिला सुरु भएको थियो ।

अवरोधबिच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरणको जानकारी गराउनुभएको थियो । साथै मन्त्रीपरिषद् हेरफेरको जानकारी पनि सभालाई दिनुभएको थियो ।

दुई कार्यसूचीपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै नोकझोक बढेको थियो । मन्त्री लामिछाने आफ्नो स्थानबाट उठेसँगै कांग्रेस सांसद थप आक्रोशित भएर नाराबाजी गरेका थिए ।

तत्कालै नेकपा (एमाले) का सांसद पनि उठेका थिए । नाराबाजीकैबिच बोल्ने समय पाउनुभएका गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान सहजीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपसभामुख इन्दिरा रानामगर, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालगायतले इसारा गरेपछि कांग्रेस सांसद थप चिढिए । ओलीकैअगाडि रहनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले गरेको व्यवहारका कारण आक्रोश बढेको थियो ।

सांसद धनराज गुरुङ अध्यक्ष ओलीतिर फर्किएर निरन्तर नारा लगाएपछि कांग्रेसकै देवप्रसाद तिमिल्सिनाले रोक्ने प्रयास गर्नुभयो तर गुरुङ रोकिनुभएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गुरुङलाई रोक्न गरेको प्रयास पनि सफल भएन । त्यसपछि एमालेका ठाकुर गैरे, सूर्य थापा, प्रमुख सचेतक बर्तौला, हरिप्रसाद उप्रेती, दामोदर पौडेल वैरागीलगायत गुरुङ र ओलीको बिचमा पुग्नुभयो । त्यसपछि दुवै पक्षबाट धकेलाधकेल भयो । दुवै पक्ष आक्रामक भएपछि कांग्रेसका प्रकाशशरण महत, रामहरि खतिवडालगायतले आफ्ना सांसदलाई रोक्नुभएको थियो । स्थिति असहज भएपछि सभामुख घिमिरेले कार्यसूचीका अन्य विषय हटाइएको जानकारी गराउँदै बैठक स्थगित गर्नुभएको थियो ।

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने वा नबनाउने विवादमा संसद्मा अवरोध जारी रहँदा कांग्र्र्रेसले अघिल्लो अधिवेशनबाटै बैठक अवरुद्ध पारिरहेको छ । अवरोधका कारण पहिलो बैठकमा पेस हुनुपर्ने अध्यादेश पेस हुन सकेको छैन । साथै नीति तथा कार्यक्रम पेस भएपछि सदनका तर्फबाट राष्ट्रपतिलाई दिने धन्यवादको प्रस्तावको प्रक्रिया अगाडि बढेको छैन । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया