असार २९, २०८२ आइतबार July 13, 2025

लायन्स अन्तर्राष्ट्रियद्वारा नेपाललाई २७ करोड बढीको अनुदान सहयोग

जाजरकोट लगायतका क्षेत्रमा आएको विनाशकारी भूकम्प पीडितका लागि करिब ७० लाख रूपैयाँ रकम एलसिआइएफबाट सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनामा करिब २७ करोड रूपैयाँ अनुदान सहयोग गरेको छ। क्लबले स्वास्थ्य, शिक्षा, मानव आश्रम, भूकम्प, बाढी पहिरो लगायतका क्षेत्रमा सहयोग गरेको हो।

१५ वटा परियोजनाका लागि २१ करोड ६८ लाख रूपैयाँ बराबरको अनुदान र अन्य परियोजनामा करिब साढे पाँच करोड गरी २७ करोड २१ लाख रूपैयाँ सहयोग गरेको हो। केही परियोजनामा अनुदान सहयोग स्वीकृत गरेको छ भने केही सहयोग पहिले नै गरिसकेको छ।

मुलुकका विभिन्न जिल्लाका १५ वटा परियोजना लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको बोर्ड अफ ट्रस्टीको बैठकबाट स्वीकृत गरेको लायन्स अन्तर्राष्ट्रिय, अन्तर्गत डिष्ट्रिक्ट ३२५ एफका एलसिआइएफ कोअर्डिनेटर चक्रपाणि दाहालले बताए।

‘१५ परियोजना स्वीकृत भएका छन्,’ दाहालले भने, ‘२१ करोड ६८ लाख रूपैयाँ अनुदान प्राप्त हुने भएको छ ।’

मानव सेवा आश्रम विराटनगरका लागि एक करोड ५७ लाख १२ हजार नौ सय ८१, ‘माया घर’ इटहरीको अनाथ महिला आश्रम निर्माणका लागि एक करोड ३३ लाख ३८ हजार आठ सय ५५ रूपैयाँ, स्तुपा सामुदायिक अस्पताल, चुच्चे पाटी, काठमाडौंको डायलसिस सेन्टर स्थापना गर्न एक करोड ३३ लाख ५३ हजार पाँच सय ७८, चन्द्रागिरी अस्पताल थानकोटमा मेडिकल इक्विपमेन्ट खरिद गर्न एक करोड ३३ लाख ७३ हजार चार सय चार रूपैयाँ सहयोग गर्ने भएको छ।

त्यसैगरी, बालकल्याण आधारभूत विद्यालयको भवन निर्माण गर्न एक करोड ७७ लाख ९३ हजार दुई सय ३८, भक्तपुर ठिमीमा ब्लड बैंकका लागि इक्विपमेन्ट खरिद गर्न एक करोड २९ लाख ९३ हजार एक सय ३२ रूपैयाँ, मछिन्द्र क्याम्पस धादिङमा चमेनागृह निर्माण गर्न एक करोड ७४ लाख १२ हजार ६ सय ६३ रूपैयाँ, धौलागिरी आँखा अस्पतालमा मेडिकल इक्विपमेन्ट खरिद गर्न ९५ लाख ७५ हजार ६ सय २० रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ।

त्यसैगरी, फतपौवा खानेपानी आयोजना, नुवाकोटका लागि एक करोड ४९ लाख ६ हजार सात सय तीन रूपैयाँ,  जी पी कोइराला नेसनल सेन्टरमा डायलाइसिस सेन्टर स्थापना गर्न एक करोड ११ लाख ६८ हजार पाँच सय तीन रूपैयाँ, राम माध्यमिक विद्यालयमा चमेनागृह निर्माण गर्न एक करोड ७१ लाख ९८ हजार तीन सय १२ रूपैयाँ, प्युठान अस्पतालमा मेडिकल इक्विपमेन्ट खरिद गर्न एक करोड ७१ लाख पाँच हजार तीन सय ७५ रूपैयाँ, कर्णाली प्रादेशिक अस्पतालको मुटुरोग विभागका लागि मेडिकल इक्विपमेन्ट खरिद गर्न एक करोड ३३ लाख ३३ हजार सात सय ८० रूपैयाँ अनुदान दिने भएको छ।

त्यसैगरी, मध्यविन्दु नगर अस्पताल, नवलपुरमा मेडिकल इक्विपमेन्ट खरिद गर्न एक करोड २० लाख ६० हजार सात सय ३४ रूपैयाँ, मानसिक समस्याग्रस्त तथा घरवारविहीनका लागि भवन निर्माण गर्न एक करोड ७६ लाख ५२ हजार एक सय ९३ रूपैयाँ दिने भएको छ।

यसअतिरिक्त जाजरकोट लगायतका क्षेत्रमा आएको विनाशकारी भूकम्प पीडितका लागि करिब ७० लाख रूपैयाँ रकम एलसिआइएफबाट सहयोग भएको थियो । भूकम्प प्रभावित क्षेत्रका विद्यालय भवन पुनर्निर्माणका लागि दुई करोड ७० लाख रूपैयाँ रकम प्राप्त हुने मल्टिपल एलसीआइएफ कोअर्डिनेटर शम्भुप्रसाद घिमिरेले दिए । त्यसैगरी, बाढी, शीतलहर र आगलागीबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन करिब दुई करोड १३ लाख ३६ हजार रकम प्राप्त भएको मल्टिपल एलसीआइएफ कोअर्डिनेटर शम्भुप्रसाद घिमिरेले बताए।

स्थानीय लायन्स क्लबहरू मार्फत स्थानीय समुदायको आवश्यकताको आधारमा सेवा गर्ने हेतुले सहयोग गर्न विभिन्न प्रकारका अनुदानहरू प्रदान गर्दै आएको छ। उपचार, विपद्का बेला राहत, युवा र मानवीय सेवाका क्षेत्रमा लायन्सको प्रयासमा अनुदान प्रदान गर्दै आइरहेको एलसीआइएफ एरिया लिडर राजन लम्सालले बताए।

लायन्स क्लब अन्तर्राष्ट्रियको एएलसीआइएफ गुठीले प्रत्येक वर्ष नेपालमा एक लाख डलर बराबरका कम्तिमा ३० वटा परियोजना स्वीकृत गर्ने गरेको छ। लायन्स अन्तर्राष्ट्रियको भौगोलिक विभाजनअन्तर्गत हाल नेपालमा १५ वटा डिष्ट्रिक्ट, १८ सय क्लब र ४५ हजार लायन्स सदस्य छन्। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया