असार २९, २०८२ आइतबार July 13, 2025

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

६ लाखसम्म बुझाएर हिँडेका कसैको अत्तोपत्तो छैन, जसोतसो अमेरिका पुगेका पनि कतिपय जेलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अमेरिका पुग्ने टुंगो छैन ।

अवैध बाटो (डंकी रुट) हुँदै अमेरिका पुग्न २०६८ भदौमा उनी संगठित मानव तस्करको सम्पर्कमा पुगेका हुन् । पहिलो एजेन्टले उनलाई दुबई हुँदै काजकिस्तान पुर्‍याएर अगाडि बढाउन नसकेपछि फिर्ता गरिदिएका थिए । ‘५ लाख दिएपछि दलालले दुबईसम्म पुर्‍यायो, त्यसपछि १५ लाख लिएर काजकिस्तान पुर्‍यायो, फेरि १० लाख बुझायौं,’ सुवासका बाबुले भने, ‘३० लाख बुझाइसक्दा पनि दलालले काजकिस्तानबाट अगाडि बढाएन, काठमाडौं नै फर्काइदियो ।’

दलाललाई भनेजति रकम बुझाउन नसकेपछि सुवासका बुबाले दाङको जग्गा नै पास गरिदिएको बताए । पहिलो प्रयास असफल भए पनि सुवासको अमेरिका जाने मोह भने अझै भंग भएको छैन । फेरि अर्को दलालमार्फत अमेरिका जान तुनेलो कसे । ‘क्याप्टेन’ नाम बताउने भारतका एक दलालमार्फत फेरि काठमाडौंबाट दुबई–काजकिस्तान हुँदै टर्कीसम्म पुगे । सुवासका बुबाले यहाँसम्मको यात्रामा दलाललाई ३२ लाख बुझाइसकेका थिए । तर यसपटक पनि सुवास काठमाडौं नै फिर्ता हुनुपर्‍यो ।

‘हाम्रो दोस्रो प्रयास पनि सफल भएन । अनि फेरि अर्को दलालमार्फत छोरो अहिले अमेरिकाको यात्रामा छ ।’ उनले अहिलेको दलालसँग अमेरिका पुर्‍याइदिने गरी ६० लाख रुपैयाँमा ‘डिल’ भएको बताए । २४ लाख रुपैयाँ बुझाइसकेका सुवासका बुबालाई यतिबेला छोरो कहाँ पुग्यो भन्नेसम्म थाहा छैन । ‘नामै नसुनेको कुनै एउटा टापु देशमा पुगेको छ भन्ने सुनेको छु,’ सुवासका बुबाले कान्तिपुरसँग भने, ‘तेस्रो दलालले पनि अहिलेसम्म २४ लाख लगिसकेको छ, बाँकी ३६ लाखचाहिँ उतै अमेरिका पुगेपछि बुझाउने सहमति भएको छ ।’

मुसीकोट नगरपालिका–१३ छिवाङस्थित एक परिवारमा पनि यतिबेला अमेरिका सपनाले बेचैनी बढाएको छ । १९ महिनाअघि घरबाट अमेरिका जाने भनेर निस्किएका छोराका लागि साँवा मात्रै ५३ लाख रुपैयाँ खर्च भइसकेको उनकी आमाले सुनाइन् । भनिन्, ‘सयकडा २५ मा लिएको ऋण दिनदिनै उकालो लागिरहेको छ । छोरो अमेरिका पुग्ने कुनै छाँटकाँट छैन । के गर्ने, कसो गर्ने अवस्थामा पुगिसक्यौं ।’

२०७९ असोजमा एक जना दलालले ४० लाखमा अमेरिका पुर्‍याइदिन्छु भनेर ३३ लाख लिएर पनि नपठाएपछि अर्को दलालमार्फत अमेरिका जान भनेर हिँडेको छोरा बाटोमै रहेको उनले बताइन् । ‘पहिलाको दलालबाट काम नभएपछि छोरा घरबाट हिँडेको डेढ वर्षपछि दुबईबाट फर्कियो,’ उनले भनिन् । एक महिनाअघि मात्र काठमाडौंमा भेटिएको अर्को दलालले ६० लाखमा अमेरिका पुर्‍याइदिने बताएपछि छोरो पुनः हिँडेको उनकी आमाले बताइन् । ‘अहिलेको दलाललाई पनि २० लाख रुपैयाँ बुझाइसकेका छौं । छोरो उज्वेकिस्तान पुगेको भन्ने सुनेका छौं, अब त पुग्ला कि,’ उनी आशावादी देखिइन् ।

यसरी अवैध रूपमा अमेरिका जानका लागि लाखौं बुझाएर बिचल्लीमा पर्ने कैयन् छन् । एकातिर अमेरिका जान ज्यानकै जोखिम मोलिने गरिन्छ भने अर्कोतर्फ मोटो रकमको ऋणको भारीले घरपरिवारमा बेचैनी उस्तै छ ।

अनौठो त के छ भने समस्यामा परिरहेका यस्ता परिवारका सदस्यहरू आफ्नो व्यथा भन्न पनि हच्किने गर्छन् । यसरी भन्दा अमेरिका जान एजेन्टलाई बुझाएको रकम फिर्ता नपाइएला वा एजेन्टबाटै ज्यानको जोखिम होला कि भन्ने त्रास उनीहरूमा देखिन्छ ।

दलालमार्फत काठमाडौंबाट दुबई गएर अवैध रूपमा विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका पुग्ने लालसामा रुकुम पूर्व र पश्चिमका अधिकांश गाउँका तन्नेरीहरू फसिरहेका छन् । यसरी पैदल अमेरिका जान हिँडेकामध्ये केहीको बाटोमै मृत्यु भएको छ भने केही अमेरिका पुगेर पनि अलपत्र परेका छन् । अमेरिका पुगेका कतिपय पनि पक्राउपछि डिपोर्ट भएका घटनाहरू त्यस्तै छन् ।

सामान्य खेती–किसानीबाहेक नियमित आम्दानीको स्रोत नभएका यहाँका परिवारको कथा कैयन् घरमा भेटिन्छन् । सिस्ने गाउँपालिका–३ पोखरामा यस्तै अर्को व्यथा भेटियो । २०७९ असारमा तिनै क्याप्टेन नाम बताउने दलाललाई ३५/३५ लाख बुझाएर अमेरिका हिँडेका दाजु र बहिनी दुबई हुँदै स्पेनसम्म पुगेर काठमाडौं फर्कनुपरेको पीडा रहेछ । दुई जनाको गरेर ७० लाख रुपैयाँ खाएर दलाल भागेपछि आफूहरू अलपत्र परेको परिवारका सदस्यले बताए ।

७० लाख डुबेपछि पनि उनीहरूको अमेरिका जाने सपना भने सकिएको छैन । यतिबेला फेरि अर्को दलालको सम्पर्कमा पुगेका रहेछन् । जसले जनही ६० लाख रुपैयाँमा अमेरिका पुर्‍याइदिने भनेपछि बहिनीले २० लाख र दाजुले ४१ लाख बुझाइसकेका रहेछन् । चर्को ब्याजमा ऋण लिएर अमेरिकाको अन्धाधुन्ध यात्रामा हिँडेका उनीहरू कथंकदाचित अमेरिका पुगिहाले पनि त्यो बेलासम्म साँवा मात्रै एक/एक करोड पुग्ने अनुमान परिवारको छ । त्यसको ब्याजसमेत थपिँदा कहिलेसम्म तिरिसक्ने हो भन्ने चिन्ता उस्तै देखिन्छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया