असार २२, २०८२ आइतबार July 6, 2025

व्यापारमा दम छैन,अब कृषिमा होमिने हो : नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बजारमा मास्कको हाहाकार हुन लाग्दा तपाईंले सरकारसँग दैनिक ७० हजार मास्क उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो । पहिले नगरेको काम एक्कासी गर्ने सोच कसरी आयो ?

व्यापार गर्दा दिमागमा विभिन्न कुराहरू आइहाल्छन् । मेरो एउटा गार्मेन्ट फ्याक्ट्री चलाउने साथी छ । उसले नेपालमा गार्मेन्टहरू बनाएर युरोप, अमेरिका निर्यात गथ्र्यो । अहिले उसको बिजनेश अलि स्लो डाउन भइरहेको छ । जब यहाँ कोरोनाको त्रास सिर्जना भयो । सबैले मास्क लगाउनुपर्छ भन्ने भयो । त्यसपछि उसले मास्क उत्पादनमा लाग्ने प्रस्ताव गरेको थियो । म भारतबाट मेसिन ल्याउँछुु, मिलेर काम गरौं भने पनि सुरुमा मेरो मन त्यसमा गएको थिएन । मैले उसलाई ‘नो’ नै भनें । त्यसपछिका दिनहरूमा अझ त्रास बढ्दै गयो । चेम्बरले पनि कोरोनासँग सम्बन्धित एउटा कमिटी बनायो र त्यसको नेतृत्व मलाई दियो ।

सरकारले चेम्बर, एफएनसीसीआई, सीएनआईलगायत निजी क्षेत्रका प्रतिनिधिहरूसँग बैठक राख्यो । बैठकमा सरकारले निजी क्षेत्रप्रति आफ्नो अपेक्षा सुनायो । उद्योगी-व्यवसायीहरू केही बोल्न सकेका थिएनौं । झट्ट मैले त्यो साथीको प्रस्ताव सम्झिएँ । त्यसबेला उसले मलाई काम गर्ने हो भने ७ दिनमै मेसिन काठमाडौं आइपुग्छ भनेको थियो । एउटा मास्कको उत्पादन लागत ५ रुपैयाँदेखि ७ रुपैयाँ पर्ने र मेसिन ५० लाख रुपैयाँमा आउने उसले बताएको थियो । त्यही कुरा सम्झेर मैले बैठकमा ७ दिनमै मेसिन ल्याएर मास्क उत्पादन गर्न सक्छु भनेँ । मुख्य सचिवज्यू पनि धेरै खुसी हुनुभयो । उहाँले मेसिन खरिद गर्न सरकारले नै पैसा दिने प्रस्तावसमेत गर्नुभयो । तर मैले त्यो स्वीकार गरिनँ । मैले भनेँ, ‘हामी आफ्नै पैसाले ल्याउछौं । मिल्छ भने भन्सार छुट दिनुस्, होइन भने त्यो पनि पर्दैन ।’ घर आउनेबित्तिकै मैले त्यो साथीलाई आफ्नो अफिसमा बोलाएँ । अनि भनेँ, ‘लु अब अघि बढौं, तर अहिले कमाउने हिसाबले होइन ।’ सेवाको भावले काम गरौं भनेपछि उसले पनि सहमति जनायो । हामीले तत्कालै पैसा पठायौं । प्रक्रिया पनि सुरु गरिहाल्यौं । तर हाम्रो मेसिन ९ दिनसम्ममा पनि आइपुगेन । धन्न त्यतिबेला कालोबजारीका लागि लुकाइएका मास्कहरू सरकारले बरामद गर्यो र त्यसले केही दिन काम चल्यो । तर मैले बोलेको समयमा उत्पादन सुरु गर्न नसकेपछि एकदिन सचिवज्यूले फोन गरेर चित्त दुखाउनुभयो । सरकारले धोका पायो भन्नुभयो । मैले दुई–चार दिन ढिला भए पनि उत्पादन गरेरै छाड्ने बताएँ । दुई सातापछि बल्ल मेसिन आइपुग्यो । काठमाडौं आइपुगेपछि त्यसलाई जडान गर्न र अन्य बन्दोबस्त मिलाउन दुई दिन लाग्यो । तेस्रो दिनदेखि हामीले मास्क उत्पादन थालिहाल्यौं ।

मेसिनचाहिँ कहाँबाट ल्याउनुभएको हो ?

मेसिन भारतबाट किनेर ल्याउनु परेको भए थप समस्या हुने थियो । धरानको एउटा फ्याक्ट्रीले हामीलाई त्यो सहयोग गर्यो । संकटको बेला भएको कारण केही महँगो पर्न गयो ।

मास्क उत्पादन तपाईंको लागि नयाँ अनुभव थियो । कच्चा पदार्थ तथा श्रमिकहरूको कसरी व्यवस्थापन गर्नुभयो ?

यो विषयमा मलाई धेरै ज्ञान नभए पनि मेरो साथीलाई थियो । मैले साथीसँग सबै विषयमा सल्लाह गरेको थिएँ । कच्चा पदार्थहरू नेपालमै पाइने रहेछ । व्यवस्थापन गर्न गाह्रो भएन । मास्कको कपडा ठूलो-ठूलो साइजमा आउने रहेछ । कसरी कटिङ गर्ने भनेरचाहिँ हामीलाई सुरुमा कन्फ्युजन भयो ।

मेसिन फुल्ली अटोमेटेड भन्ने सोचेको थिएँ, होइन रहेछ । कानमा लगाउने इलास्टिक छुट्टै जोड्नु पर्ने । कालिगढ बोलाएर सिलाउनुपर्ने भयो । मैले दिनको ७० हजार मास्क उत्पादन गर्छु भनेर बोलेको थिएँ । सुरुको दिनमा २०/२५ हजार पनि उत्पादन गर्न गाह्रो भयो । पछि सहज हुँदै गएपछि दिनको ८० हजारसम्म उत्पादन गर्यौं ।

त्यतिबेला डिमान्ड उच्च थियो । मलाई बिहानदेखि बेलुकासम्म फोन आइरहन्थ्यो । सञ्चारमाध्यमहरूमा पनि राम्रै समाचार कभरेज भएकाले धेरैले फोन गर्नुभयो । यतिसम्म कि केही दिन मोबाइल नै बन्द गर्नुपर्ने अवस्थामा म पुगेँ । फोन उठायो कि मास्कको भन्दा अरू कुरा केही नहुने । धेरैले फ्याक्ट्रीमा गएर दिनभर कुर्नु पनि भयो ।

मेरो उत्पादन लागत ७ रुपैयाँ पर्यो । मैले ७ रुपैयाँमा नै बिक्री गरेँ । धेरै ठाउँमा त सित्तैमा पनि बाँडे । विमानस्थलमा बाँड्छु भनेको थिएँ तर भएन । विमानस्थल बन्द भइहाल्यो ।

मास्क उत्पादन गरेर मुनाफाचाहिँ कमाउनु भएन ?

मल्होत्राले मास्क बेचेर धेरै कमायो भन्ठाने होलान् धेरैले तर त्यो होइन । अहिले त बजार पनि सहज भइसक्यो । फ्याक्ट्रीहरू धेरै खुलिसके । माग पनि पहिलेजस्तो छैन । त्यतिबेला इलास्टिक लगाएको मात्रै दुई रुपैयाँ लिन्थ्यो । अहिले आएर लागत कम भएको छ । त्यतिबेला ७५ पैसा लाग्ने यतिबेला ५० पैसामा हुन्छ । अहिले त मुलुक आत्मनिर्भर जस्तै भइसक्यो ।

स्यानिटाइजर पनि उत्पादन गर्न लाग्नु भएको थियो होइन ?

त्यतिबेला धेरै अभाव थियो । त्यसकारण मैले उत्पादन गरौं कि भन्ने सोचेको थिएँ । तर पहिलेदेखि गरिरहेको छ, उसले नै उत्पादन गर्यो भने धेरै राम्रो हुन्छ । त्यसैले यो काममा हात नहाल्ने निर्णय लिएँ ।

अहिले त अभाव पनि छैन । सहज भइसकेको अवस्था छ । कालोबजारी पनि भएको छैन । एउटाले गरेपछि सबैले गर्न थाल्छन् । पीपीई, मास्क, थर्मल गनलगायत सामग्री धेरैले चीनबाट आयात गरे । सुरुमा त धेरै राम्रो नाफा पनि गरे । अहिले भने आयात गरेको सामान घाटा खाएर बिक्री गर्नुपरेको छ ।

अहिले एन–९५ मास्क ७०/८० रुपैयाँमा पाइन थालेको छ । थर्मल गन २ हजारदेखि २५ सयमा पाइन्छ । पीपीई एक हजार पाँच सयसम्म तिरेर आयात गरिएको थियो । त्यो अहिले सस्तोमा पाउन थालिएको छ ।

अबचाहिँ मास्क उत्पादन बन्द गर्नुभएको हो ?

अभाव भएको बेला उत्पादन गरेर खाँचो टारेँ । अहिले पनि मेसिनहरू सञ्चालनमै छन् । आवश्यक पर्नेहरू आउनुहुन्छ, उत्पादन भएको मास्कहरू लिएर जानुहुन्छ । पुरानो कच्चा पदार्थहरू बाँकी रहेकाले उत्पादन गरिरहेको छु । बिस्तारै स्लो डाउन हुँदैछ ।

अब यसलाई निरन्तरता दिने भयौं भने अन्तर्राष्ट्रिय स्टाण्डर्डको बनाउँछौं । सर्जिकल मास्क भनेपछि ३ लेयर हुन्छ । हामीले ३ वटा लेयर त राख्यौं तर नन फेबरिक राख्न सकेनौं । सुरुमा हामीले नोज पिन पनि राख्न सकेनौं । अब अन्तर्राष्ट्रिय स्तरको बनाउने सोच आइरहेको छ । अन्य वस्तुहरू पनि उत्पादन गरेर व्यावसायिक हिसाबमा जाने कि भनेर सोचिरहेका छौं । निर्णयमा पुग्न बाँकी छ ।

एकाएक मास्कतिर केन्द्रित हुँदा तपाईंको अन्य व्यवसायलाई कस्तो असर गर्यो ?

लकडाउनमा त सबै ठप्प हुने नै भयो । लकडाउन खुलेपछि भने मोबाइल फोनको व्यापार बढेको छ ।

किन व्यापार बढ्यो भनेर हामीले केही अध्ययन पनि गर्यौं । चोरी पैठारीले गर्दा बजार एकदमै ध्वस्त भइरहेको थियो । लकडाउन कडा भएपछि चोरी पैठारीका फोनहरू आउने क्रम बन्द भयो । त्यसैले लकडाउन सहज भएसँगै मोबाइल फोनको माग एक्कासी बढ्न गएको छ ।

यो कुरा मैले सरकारसम्म पनि पुर्याएको छु । यसरी व्यापार बढ्दा सरकारलाई पनि राम्रै हुन्छ । सरकारले १३ प्रतिशत भ्याट पाउँछ । साढे २ प्रतिशत हामीलाई झिकिदिनुस् भनेका छौं । त्यो झिक्दा वैधानिक च्यानलबाट धेरै मोबाइल फोन बिक्री हुने र सरकारलाई राम्रै राजस्व संकलन हुन्थ्यो । उहाँहरूले मान्नु भएन ।

साढे २ प्रतिशत छोड्दा जति राजस्व घट्छ, त्यो व्यापार १५ देखि २० प्रतिशत बढेर कभरेज हुने थियो । तर गर्नु भएन । हामीले अस्ति मोबाइल फोन इम्पोटर्स एसोसिएसनको बैठक बोलाएर नेपालमा अब उप्रान्त कुनै पनि पसलले चोरी पैठारी फोन बेचेको पाएमा त्यस पसललाई कारबाही गर्ने निर्णय गरेका छौं ।

हाम्रो तर्फबाट यो हामीले गर्यौं, सरकारले पनि त्यति छुट दिएको भए भारतबाट हुने चोरी पैठारी कम हुने थियो । बोर्डर सिल हुँदा मोबाइल फोनको बिक्री बढ्न गयो । सरकारलाई पनि राजस्व आयो । अर्को कारण भनेको अहिले अनलाइन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । विद्यार्थीहरूलाई पनि अनलाइनबाट कक्षा दिन थालिएको छ । त्यसले गर्दा पनि स्मार्ट फोनको माग बढाएको छ ।

तेस्रो कारण भनेको पहिला नेपालमा ५० प्रतिशत मात्रै स्मार्ट फोन र बाँकी साधारण फोन थियो । अब इन्टरनेटको पहुँच बढेको छ । त्यसैले स्मार्ट फोन अपरिहार्य बनिरहेको छ । लकडाउनमा त झन् समय बिताउनलाई पनि स्मार्ट फोन चाहियो ।

तपाईंले त कृषि क्षेत्रमा पनि लगानी गर्न सुरु गर्नुभएको छ, होइन ?

कृषि वास्तवमा देशको आवश्यकता हो । तर पनि हामी कृषिमा फोकस हुन भने सकेका छैनौं । कृषि कर्म गर्नेहरू पनि बुढापाका, महिला, बालबच्चा मात्रै भए । युवा जनशक्ति विदेश नै जानुपरेको अवस्था छ ।

नेपालको अर्थतन्त्रका लागि जलविद्युत, कृषि र पर्यटनलाई मुख्य आधार मानिन्छ । कृषिप्रधान मुलुक भनिन्छ । तर हामीले त्यतातिर ध्यान दिन सकेनौं । श्रम बाहिर गयो ।

नेपालमा आज पनि समुद्री सतहबाट धेरै उचाइसम्ममा कृषियोग्य जमिन छ । तर कृषिमा आकर्षण छैन । मैले पहिलेदेखि नै कृषिमा जानुपर्छ भन्ने सोचेको थिएँ ।

आजभन्दा करिब २८ वर्ष पहिले सिसौ रोप्ने लहर चलेको थियो । त्यसबेला सबैले सिसौ रोप्थे । राम्रो आम्दानी हुन्छ, काठ उत्पादन हुन्छ भन्ने थियो । त्यहीबेला मैले सुनसरीमा २५ बिगाहा जग्गा किनेर सिसौ रोपेँ । तर दुर्भाग्यबस त्यही वर्ष सिसौमा एउटा रोग लाग्यो । मेरो जंगल नै भइसकेको थियो तर रोग लागेर जम्मै सिसौ सुक्यो । त्यसपछि त्यो सिसौ दाउरामा मात्रै प्रयोग भयो । ३/४ वर्ष जग्गा खाली भयो ।

जग्गा खाली भएपछि अब आफैं केही गरौं भन्ने सोच थियो । मेरो जग्गा नजिकै एउटा सुगर मिल थियो । त्यहाँका स्थानीयहरू आएर हामीलाई जग्गा दिनुस् हामी उखु रोप्छौं भने । त्यत्तिकै खाली हुनुभन्दा दिनु पर्छ भन्ने लाग्यो । मैले उनीहरूलाई भाडामा दिएँ । १५ वर्ष मैले त्यत्तिकै जस्तो छोडिदिएँ ।

अबचाहिँ म सिरियसस्ली लाग्छु भन्ने सोचेँ । एकपटक उखु रोपेपछि त्यसले ३ वर्षसम्म उत्पादन दिने रहेछ । त्यसकारण मैले आजभन्दा ४/५ वर्ष पहिले अबको ३ वर्षसम्म तपाईंहरूको भयो त्यसपछि म लिन्छु भनेँ । ३ वर्षपछि उहाँहरूले मेरो जग्गा खाली गरिदिनु भयो । डेढ वर्ष पहिले मैले यसलाई पाइलट प्रोजेक्टको रुपमा अघि बढाउँछु भन्ने सोचेर अघि बढेको छु । मेरो यो ड्रिम प्रोजेक्ट हो । यो देशको आवश्यकता पनि हो ।

तर यति जमिनमा मात्रै होइन धेरैमा खेती गर्छु । नेपालमा परम्परागत खेती हुन्छ, त्यसले राम्रो हुँदैन । बाहिरबाट प्रविधि भित्र्याएर सानो ठाउँमा पनि बढी उत्पादन गर्नुपर्छ भन्ने मेरो सोचाइ छ ।

मैले बिउ तथा कृषि औजारलाई फोकस गरेर जाने सोचेको छु । कृषि मात्रै होइन, यसका लागि अन्य विषय पनि सोच्नुपर्छ । अहिले सुरुवाती अवस्थामा मैले कागती रोपिसकेको छु । केही जग्गामा मैले बिउ ल्याएर त्यसलाई प्रशोधन गरेर नेपालमा बेच्ने सोच बनाएको छु । अहिले बिउ आयातमा कडाइ छ । कृषि औजारहरू ल्याउन मैले एलसी खोलिसकेको छु ।

यहाँ उत्पादन गरिएका कृषि उत्पादन बाहिर निर्यात गर्ने सोच हो । मैले केही दूतावासहरूसँग पनि कुरा गरिरहेको छु । अहिलेकै जग्गामा उत्पादन गरेर हुँदैन । पूर्व–पश्चिम सबैतिर हामीले जग्गा हेरिरहेका छौं ।

क्यालिफोर्निया जाँदा मैले ठूलो क्षेत्रफलमा वाइन मात्रै लगाएको देखेको थिएँ । त्यसैगरी केही लगाउने सोचिरहेको छु ।

भनेपछि थप जग्गा किनेर कृषिमा लगानी बढाउनुहुन्छ ?

पक्कै बढाउँछु । यो त केही पनि होइन । कृषिका लागि सरकारी लेभलमा पनि छलफल भइरहेको छ । ट्याक्स होलिडे लगायतको कुरा छ ।

सरकारसँग जग्गा भाडामा लिएर किसानहरूलाई पार्टनर बनाएर बढीभन्दा बढी उत्पादन गर्ने योजना छ । जस्तै, कागती उत्पादन गर्यौं भने त्यसलाई जुस बनाएर बेच्ने हो कि भन्ने पनि योजना बनाएका छौं ।

मबाहेक अन्य औद्योगिक घराना पनि कृषिमा लागिसक्नु भएको छ । धेरै लाग्नु राम्रै कुरा हो । कोरोनापछि कृषिको महत्व धेरैले बुझेका छन् । मलाई पनि यसतर्फ झुकाव बढेको छ । ठीक समयमा गरेछौं भन्ने लागेको छ ।

आईएमएस ग्रुपले धेरै क्षेत्रमा लगानी गरेको छ, लगानीका लागि अब आईएमएसको प्रमुख क्षेत्र कुन हो त ?

तपाईंलाई म नढाटी भनौं ! मैले मेरो पार्टनरसँग पनि अस्ति छलफल गरिसकेको छु । अबको हाम्रो प्रमुख प्राथमिकता भनेको कृषि नै हो । यसको क्षेत्र धेरै ठूलो छ । हामी कृषिमै रमाउँछौं ।

हामी भोलि उखु खेती लगाएर चिनी मिल चलाउन सक्छौं । अर्को क्षेत्र रोज्न सक्छौं । कृषि लगानीका लागि धेरै ठूलो क्षेत्र हो । मोबाइल फोनको कहानी मैले अघि पनि भनिहालेँ । ट्रेडिङमा अब खासै दम छैन ।

अरू खालका उद्योगधन्दामा पनि कहिले के समस्या, कहिले के समस्या परिरहेको हुन्छ । कृषिमा अरूबाट सहानुभूति पनि पाउँछौं । यो इज्जत दिने खालको पनि हुन्छ ।

रातारात करोड नकमाइएला । त्यो हुन पनि हुँदैन, मेरो चाहना पनि छैन । तर अब कृषिमा नै फोकस हुन्छु ।

प्रतिफल कस्तो आउला भनेर विश्लेषण गर्नु भएको छ ?

यो मैले भनेको सबै कुरा पूरा गर्दा धेरै ठूलो टर्नओभर छ । मोबाइल फोनमा ५ प्रतिशत ग्रस मार्जिनमा काम गरेको हुँ । ५ प्रतिशत ग्रस भनेपछि नेट कति होला त ? एकदमै कम ।

कृषिमा राम्रो काम गर्न सक्नेलाई त्योभन्दा राम्रो प्रतिफल छ नि । यसकारण मलाई गाह्रै हुन्न । फेरि नेपालमा त एउटाले गरेपछि अर्कोले पनि अनुशरण गरिहाल्ने हुन्छ । मैले यो भनेपछि सबै फेरि कृषिमा आउलान् (हाँस्दै) ।

मैले भन्न खोजेको ५ प्रतिशतमा त म टिकेको छु । टिक्न सक्नुको कारण टर्नओभर हो । कृषिमा पनि टर्न ओभर धेरै छ । यसकारण टिक्न सकिन्छ भन्ने मैले सोचेको छु । मार्जिन पनि मोबाइलको भन्दा बढी नै छ ।

राष्ट्र बैंकले तोकेको कुल कर्जाको १० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्न पनि बैंकहरूलाई अहिले धौधौ परिरहेको छ, यस्तो बेलामा अलि अप्ठ्यारो पर्ला कि ?

आईएमएस ग्रुपले कृषिमा लगानी गर्न खोजेको छ भनेर मैले केही बैंकहरूसँग पनि कुरा गरेको छु । उहाँहरू एकदमै एक्साइटेड हुनु भएको छ ।

बैंकहरूले हामी लगानी गर्छौं भन्नु भएको छ । यसकारण तपाईंले भनेजस्तो समस्या पर्दैन । ठूला उद्योगपति व्यापारी कृषिमा लागे भने बैंकहरूलाई लगानी सुरक्षित हुन्छ भन्ने पनि हुन्छ । त्यही भएर बैंकले लगानी गर्छन् । अनलाइनखबरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार