श्रावण ३१, २०८३ आइतबार August 16, 2026

एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १८ गते । अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।

नेपालमा सन् २०१९ मा १७ हजार ९९२ जनामा डेङ्गु पुष्टि भएको थियो । सन् २०२० मा ५३०, सन् २०२१ मा ५४०, सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा ५१ हजार २४३ जनामा डेङ्गु पुष्टि भएको महाशाखाले जनाएको छ । सन् २०२२ मा नेपालमा डेङ्गुबाट ८८ जना र सन् २०२३ मा २० जनाको मृत्यु भयो ।

सचेतना र लामखुट्टे नष्ट गर्ने अभियान

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । डा. दाहालले डेङ्गु नियन्त्रणमा शिक्षा, खानेपानी, वन, स्थानीय, विभिन्न सङ्घ संस्थाको भूमिका रहने बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले मात्र डेङ्गु नियन्त्रण गर्न कठिन हुने भएकाले सहकार्य आवश्यक रहेको बताउनुभयो । डेङ्गुको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सरसफाइमा ध्यान दिनुपर्ने औँल्याउँदै उहाँले डेङ्गुको जोखिम हुने जिल्लाको पहिचान गरेर लामखुट्टे नष्ट गर्ने अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।

डा. दाहालले डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको र स्वास्थ्य संस्थामा फोकल व्यक्ति तोक्ने, डेङ्गुको उपचारमा चाहिने सामग्री तयारी अवस्थामा राख्ने, सबै जिल्लामा रोकथामका लागि सचेतना अभियान सुरु भइसकेको बताउनुभयो । डेङ्गु नियन्त्रण तथा रोकथाम कार्ययोजना अनुसार काम अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले मासिक योजना अनुसार सूचना सम्प्रेषण, डेङ्गुको व्यवस्थापन गर्ने र सचेतना फैलाइने बताउनुभयो ।

गत वर्ष महामारीको रूप लिएका १२ वटा जिल्लाका १२३ स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहका प्रमुख/अध्यक्ष, स्वास्थ्य शाखाका प्रमुख, प्रदेशका प्रतिनिधिलाई राखेर सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय तहले डेङ्गु अझै बढ्ने हुँदा लामखुट्टे नियन्त्रण गर्ने र डेङ्गुबाट जोगाउने अभियान चलाइएको जानकारी दिँदै डा. दाहालले घरमा पानी जम्ने खाल्टाखुल्टी नराख्ने र पूरा बाउला भएको कपडा लगाउनुपर्ने बताउनुभयो ।

कसरी सर्छ डेङ्गु ?

एडिज जातका लामखुट्टेको टोकाइबाट डेङ्गु रोग सर्छ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्छ । उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी दुख्नु, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, आँखाको गेडी दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु डेङ्गुका लक्षण हुन् । डा. दाहालले डेङ्गु नियन्त्रण गर्न ‘टास्क फोर्स’ गठन भएको र यसले सम्पूर्ण काम गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेङ्गु नियन्त्रण गर्न सबैको सहकार्य अवश्यक रहेको बताउनुभयो । उहाँले डेङ्गु नियन्त्रण गर्न कृषि, खानेपानी, वातावरण, शिक्षा मन्त्रालयको सहकार्य आवश्यक पर्ने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निवर्तमान प्रमुख डा. रुद्र मरासिनीले डेङ्गु नियन्त्रणका लागि कवाडी सङ्घ, टायर बिक्रीवितरण सङ्घ जस्ता सङ्घ संस्थालाई तालिम दिने गरेको बताउनुभयो । उहाँले आफ्नो घरमा भएको टायर व्यवस्थित गर्ने, जथाभाबी नफाल्ने, पानी जम्मा गर्ने भाँडा बेला बेलामा सफा गर्नुपर्ने बताउनुभयो ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार