काठमाण्डाैंः डा. सिके राउत नेतृत्वको जनमत पार्टीका सात जना केन्द्रीय सदस्यहरुले सामुहिक पार्टी परित्याग गरेका छन् ।
सिके राउत र सरकार बिचको ११ बुँदे सहमति र राउतको नेतृत्वप्रति असन्तुष्टी जनाउदै उनको पार्टीका केन्द्रीय सदस्य कैलाश महतो सहित ७ जना केन्द्रीय सदस्यले पार्टीबाट सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।
पत्रकार सम्मेलन गरि पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु कैलाश महतो, धुव्र प्रसाद गौड, राजमित पासवान, कपिलबस्तुका हकिकुल्ला मुसलमान, सिरहाकि सतिला यादव, बाराका दिनेश प्रसाद यादव, पर्साका संजय कुमार साहले रहेका छन् । कैलाश महतो, डाक्टर राउतद्धारा गठित तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सह-संयोजक थिए ।
डाक्टर राउतले मधेशको हकहितमा आवाज बुलन्द नगर्ने बरु उल्टै नेकपा नेतृत्व सरकारको वकालत गर्दै मधेका एजेण्डालाई पनि बिर्सिदै गएको र मनोमानी ढंगबाट पार्टी चलाउने कार्यप्रति असन्तुष्ट ति ७ जना केन्द्रीय सदस्यहरुले पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको पार्टीका केन्द्रिय सदस्य कैलाश महतोले जानकारी दिए । पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको र अब कुन बाटो अपनाउने साथीहरुसंग छलफल गरि सार्वजनिक गर्ने महतोले जानकारी दिए ।
त्यस्तै जनमत पार्टीका जिल्ला कार्यसमितिले पनि पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । पार्टीका होनहार र योगदान गर्ने नेताहरुले पार्टी परित्याग गरेको देखेर पार्टीका जिल्ला अध्यक्ष श्रीकृष्ण यादवको नेतृत्वमा गठित २३ सदस्यीय कार्यसमितिमा २ जना बाहेक २१ जनाले सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलनमा बताइयो । जिल्लाका कार्यसमितिका ति पदाधिकारी तथा सदस्यहरुले पनि डाक्टर सिकेराउतको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै जनमतले मधेशको भलो नगर्ने भन्दै पार्टीबाट सामुहिक राजिनामा दिएको पत्रकार सम्मेलनमा बताए ।
विज्ञप्तीमा डाक्टर राउत पार्टी भित्र एकल तानाशाहको रुपमा अघी बढेको, अहंकार, घमण्ड गर्दै पार्टीभित्रै गुट–उपगुट गरि तत्कालिन स्वतन्त्र मधेश गठबन्धको मधेश आन्दोलनमा योगदान गर्ने जेलनेल काटने वास्तविक कार्यकर्ताहरुलाई पाखा लगाउदै आफ्नो नजिकका व्यक्तिहरुलाई पार्टीमा उच्च स्थान दिई भर्ति केन्द्र बनाएको समेतको आरोप लगाइएको छ । यता पार्टीका सदस्य बालगोविन्द चौधरीको नेतृत्वमा जनमत पार्टी भने विभिन्न गतिविधि गर्दै आएको छ ।
पत्रकार सम्मेलनको भिडियो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया