असार १२, २०८१ बुधबार June 26, 2024

नेता र कार्यकर्ता आदर्शपात्रका रुपमा स्थापित हुनुपर्छः महासचिव पोखरेल

एमाले अहिले पनि चुनौतीको बीचमा रहेको भन्दै चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २ असार: नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले बागमती प्रदेश कमिटीले आज च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी तथा जनसङ्गठनका पदाधिकारीसहितको शपथ ग्रहण समारोहका अवसरमा उहाँले जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने विषय उचित नभएको बताउनुभयो ।

महासचिव पोखरेलले एमाले अहिले पनि चुनौतीको बीचमा रहेको भन्दै चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको नेता जनताको बीचमा जाने क्रम घटेको बताउनुभयो ।

“हामी जनताको बीचमा जान छाडेका छौँ, जसको कारण पार्टीको जनतासँगको सम्बन्ध टुटेको छ”, उहाँले भन्नुभयो, “जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुन्छ । जनतासँग जाने कुरालाई बाक्लो गराउनुपर्दछ ।” महासचिव पोखरेलले नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको बताउनुभयो । उहाँले युवालाई राजनीतिमा नल्याएसम्म पार्टीको भविष्य सुरक्षित नहुने तर्क गर्नुभयो ।

महासचिव पोखरेलले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको समेत बताउनुभयो । उहाँले नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठूलो पैसा भारत लैजाने गरेको बताउनुभयो । उहाँले देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नुपर्ने भन्दै विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीका नेताहरुले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीका नेताले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने भएकाले सचेत भएर काम गर्नुपर्ने धारणा राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया