श्रावण २, २०८१ बुधबार July 17, 2024

धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनुषा जिल्लाको सबैला नगरपालिका–६ गोविन्दपुरस्थित भग्नावशेष अवस्थामा रहेको जनककाली ऐतिहासिक मठेश्वरनाथ मन्दिरको उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका छन्।पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहित तीन सदस्य टोलीले यही असार ७ गतेदेखि मठेश्वरनाथ मन्दिरको उत्खनन सुरु गरेको हो।

प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खनन गर्दा आठौँ शताब्दीका लिच्छविकालीन अवशेष फेला परेका पुरातत्वविद् प्रकाश दर्नालले जानकारी दिए। ‘अहिलेसम्म दुईवटा पत्थर जोड्ने आइरन डाबर, फलामको गोलो रिङ, मन्दिरमाथिको सतह, भारतीय र नेपाली सिक्काका साथै पत्थरमा लिच्छविशैलीको ‘माना’ अर्थ आउने अक्षर भेटिएको छ’, उनले भने, ‘सोही अक्षरको आधारमा मन्दिरको प्राचीनता पत्ता लगाउन सकिन्छ। लिपि विशेषज्ञलाई देखाएर वास्तविक पत्ता लगाउने तयारीमा छौँ।’

स्थानीय ६० वर्षीय रामवृक्ष यादवले भने, ‘पुरातत्व विभागले उत्खनन गरिरहेको स्थानमा मठेश्वरनाथ मन्दिर थियो । यस मन्दिरको बारेमा धार्मिक ग्रन्थ रामायणमा पनि उल्लेख गरिएको छ ।’

सो मन्दिर मिथिलाका राजा जनकले निर्माण गर्नुभएको जनविश्वास रहेको ७५ वर्षीय राममनोहर साहले बताए। राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदूरीमा चारवटा मठ निर्माण गर्नुभएको थियो।

महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको क्षीरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाको गोविन्दपुरमा मठेश्वरनाथ र भारतको विहार राज्यको कल्याणेश्वरमा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको इतिहास रहेको साहले जानकारी दिए । ‘तीमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि पूजापाठ हुन्छ भने मठेश्वरनाथको भग्नावशेष मात्र बाँकी छ’, उनले भने।

पुरातत्वविद् दर्नालले भग्नावशेषको अध्ययन गर्दा प्राचीन मन्दिरको स्वरुप देखिएको बताए। मठेश्वरनाथ मन्दिर हो भनेर यकिनसँग अहिले भन्न नसकिने बताउँदै उनले उत्खननको क्रममा एउटा महत्वपूर्ण ढुङ्गा भेटिएकाले थप अध्ययन गरिने उल्लेख गरे। ‘उत्खनन गर्दै जाँदा ज्यामितीय आकारको बुट्टा जो अहिलेसम्म कतै देखिएको थिएन त्यो पनि फेला परेको छ’, उनले भने।

विज्ञका अनुसार मिथिलाको प्राचीन सभ्यता पाउने सम्भावना करिब सातदेखि १० हजार वर्ष पुरानो तथ्य यहाँ भेट्न सकिन्छ । लिपिका आधारमा पूर्वमध्यकाल वा आठौँ÷नवौँ शताब्दीको इतिहास हुनसक्ने बताउँदै पुरातत्वविद् दर्नालले मन्दिरका पर्खाल थप पछ्याउँदै जाँदा धेरै कुरा पत्ता लाग्न सक्ने उल्लेख गरे।

सबैला नगरपालिकाका प्रमुख काशीराम यादवले मन्दिरको पश्चिमतर्फ प्रवेशद्वार रहेको यसको संरचनाले देखाउने भन्दै प्रवेशद्वारबाट उत्खनन सुरु गरिएको जानकारी दिए । ‘भग्नावशेषको माथिल्लो भाग सिमेन्ट र निकै पुराना इँटाले छोपिएको छ भने तल्लो भागमा ठूलाठूला ढुङ्गा एकापसमा जोडिएर रहेका अवस्थामा भेटिएका छन्’, उनले भने।

ढुङ्गा प्राचीन समयको जस्तो देखिए पनि इँटा कहाँबाट ल्याइएको हो सोबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको पुरातत्वविद् दर्नालले बताए । मिथिलाको सभ्यता काठमाडौँभन्दा पनि पुरानो भएकाले यहाँ जे पनि भेट्न सक्ने उल्लेख गर्दै उहाँले पूर्वमा कोशी र पश्चिममा गण्डकीसम्म प्राचीन मिथिलाको क्षेत्र भएको जानकारी दिए ।

‘अनुसन्धानका क्रममा यो मन्दिर प्राचीन रहेको प्रमाणित हुन्छ।यहाँ मिथिला, मौर्य, गुप्त र ब्रिजी सङ्घको सभ्यता लुकेको छ।अन्तिम अध्ययन नसकिएसम्म तथ्य के हो भन्न कठिन छ’,पुरातत्वविद् दर्नालले भने।

स्थानीयका अनुसार २०३३/२०३४ सालतिर धनुषाका एक जमिन्दारका भतिज झोपे मल्लले मन्दिरका साथै वरपरको क्षेत्र खन्न लगाएका थिए। बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएका भन्दै स्थानीय विन्देश्वर यादवले तत्कालीन समयमा ठूलोलाई रु सात र सानोलाई रु पाँच ज्याला दिइएको स्मरण गरे। मन्दिर खनेर ढुङ्गा छरपस्ट बनाएपछि स्थानीयको दबाबमा मन्दिर नजिक रहेको इनारबाट इँटा झिकेर माथिबाट इँटा जडान गरिएको उनले बताए।

मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठूलाठूला ढुङ्गा छरपस्ट अवस्थामा छन्। गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोजनका लागि यहाँबाट ती ढुङ्गा लगिसकेका छन्।

‘सोही मन्दिरको दक्षिणपूर्वमा इनार थियो। सो इनार अहिले पुरिएको छ मन्दिरभन्दा पश्चिमतर्फ एउटा पोखरी थियो । त्यो पोखरी पनि पुरिएर खेतमा परिणत भएको छ’, नगरप्रमुख यादवले भने। पुरातत्व विभागले यस ठाउँमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको प्रमाणित गरिदिए यसलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताए। यस ठाउँको विकासका लागि विगत दुई आर्थिक वर्षदेखि नगरपालिकाको नीति तथा कार्यक्रममा पनि समेट्दै आइएको नगरप्रमुख यादवले जानकारी दिए।

विगतमा माध्यमिक परिक्रमा डोला पनि यही मन्दिर हुँदै जाने गरेको स्थानीय बताउँछन्। परिक्रमाका सहभागी कतिपय भक्तजन अहिले पनि यो मार्ग भएर परिक्रमा डोलाका लागि जाने गरेका स्थानीय ७० वर्षीय फेकु यादवले जानकारी दिए। निरञ्जनकुमार साह/ रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया