पार्टीमा दुई अध्यक्षबीचको कटाक्ष फेरि छर्लड्ड भयो है ?
पार्टीभित्र विचार राख्दाखेरी कटाक्ष भन्दा पनि अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक समसामयिक परिस्थितिको बारेमा उहाँहरूले आफ्नो आफ्नो धारणा राख्नुभएको हो । एकआपसमा कटाक्ष र आरोप प्रत्यारोपमा सत्यता छैन । उहाँहरूले राखेका धारणामा छलफल गरेर निष्कर्ष निकाल्न बाँकी नै छ ।
प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट गुटबन्दी गरेर काम गर्न दिइएन आरोपमा कत्तिको सत्यता छ ?
धेरै बढाइचढाइ कुरा गर्नु हुन्न । जति सरकारले काम गरेको छ यद्यपि त्यो जनअपेक्षाअनुसार नभएको हुन सक्छ । तर, जति राम्रा काम भएका छन् तिनलाई पार्टीबाट, संसदबाट, नेता र कार्यकर्ताबाट प्रशंसा हुनुपर्दथ्यो त्यो अलि कम भयो कि । त्यसलाई अन्यथा ठान्नु हुँदैन । सायद कमी भएको पनि हुनसक्छ नि । त्यसलाई अन्यथा ठान्न हुन्न ।
विकासका काम यो सरकारले गरेको छ भन्न खोज्नुभएको ?
विगतका सरकारको तुलनामा त अहिले धेरै राम्रा काम भइरहेका छन् नि । सिंगल लेनदेखि आठ लाइनका बाटासम्म अहिले धमाधम भइरहेका छन् । अन्यत्रतिर र मुख्यतः काठमाडौंतिर हामी देख्न सक्छौं । फोहर, हिलो छैन । चिटिक्क भएको छ । जनताको पनि काफी मात्रामा समर्थन छ त ।
त्यसोभए पार्टीभित्रबाट ओली सरकारलाई बदनाम गराइएको हो त ?
त्यस्तो केही पनि होइन । दुई अध्यक्षहरूले आफ्ना कुरा राख्नुभएको हो । केही विषय राख्ने क्रममा केपी ओलीले भ्रष्टाचार गरे भनेर त कसैले भनेको छैन । कतिपय ठाउँमा भ्रष्टाचारका सूचना आइरहेका छन् त्यो के हो भनेर सोधिरहेका छन् । विभिन्न साथी, विरोधी, आम जनता र मिडियाले उठाइरहेका छन् । प्रश्न उठ्छ त्यसमा छलफल हुन्छ । त्यो स्वभाविक हो ।
पार्टी एकलौटी चलाएकोदेखि स्वास्थ्यमा भ्रष्टाचार गरेको आरोप छ त प्रधानमन्त्रीलाई ?
सरकारमा बस्ने मानिसहरूलाई, नेताहरूलाई जनअपेक्षा अनुसार काम गर्नका लागि गुनासाहरू, विरोधहरू आइरहन्छन् । यसलाई हामीले ठूलो विषय बनाउनु हुन्न । मात्र कुरो के छ भने यो कम्युनिष्ट पार्टीलाई विचार र विधिसंगत तरिकाले संचालन गर्न पर्ने हुन्छ । पार्टीभित्र त्यसका सम्भावना, चुनौती, उपलब्धिहरू, कमीकमजोरीका विषयमा गम्भीर रुपले छलफल गर्नुपर्ने र पार्टी बाहिर सहयोग गरेर जाने परिस्थिति हुनुपर्छ । तर, भित्रबाहिर सबै किसिमका छलफल गर्ने जुन प्रचलन भइरहेको छ त्यसलाई नियन्त्रणमा लिएपछि सबै ठीक हुन्छ जस्तो लाग्छ ।
तपाईलाई प्रधानमन्त्रीको औधि नै प्रशंसा गर्नुहुन्छ भन्ने आरोप छ नि ?
सरकारको राम्रा कामको समर्थन गर्ने, कमजोरीका विषयहरू पार्टीभित्र गम्भीर रुपमा उठाएर समाधान गर्ने, गल्ती भएका छन् भने त्यसलाई कार्वाहीको दायराभित्र ल्याउने भन्ने विषयमा मेरो स्पष्ट धारणा छ । म केपीजीमात्र हैन अध्यक्ष कमरेड प्रचण्ड र अन्य नेताहरू सबैको पार्टीको राम्रा कामको प्रशंसा गर्दछु र कमीकमजोरीलाई विधिसंगत तरिकाले पार्टीभित्र राख्छु । बाहिर हल्ला गरेर यो भएन उ भएन भनेर निहूँ खोज्ने र विरोध गर्दै हिँड्ने म गर्दिन । त्यसकारण भ्रममा परे होला ।
प्रधानमन्त्रीको विरोध गरेर अहिले केही समाधान निस्कन्न भनेर हो त ?
होइन । सार्वजनिक रुपले विरोध गर्ने भन्दा पनि पार्टीभित्र के हो भनेर सत्यतथ्य आयो भने त केपीजीका वा अन्य नेताहरूका कमीकमजोरी छन् भने त त्यसलाई करेक्सन गर्नुपर्दछ । बाहिर समाजमा कस्तो देखाप¥यो भने सत्यतथ्यतिर नपुग्ने, गहिराइमा नपुग्ने, विरोध वा समर्थन गर्ने कुनै आधार नै छैन ।
केही व्यापारिक घरानासंग मात्रै सरकारको सम्झौता किन हुन्छ होला ?
त्यस्ता उठेका कुराहरू छन् भने सत्य वा असत्य के हो भनेर हामीले पार्टीभित्र गम्भीर रुपले छलफल गर्छौं ।
ओम्नी कम्पनीसंग सम्झौता गर्दा पार्टीलाई धेरै घाटा लाग्यो भन्ने पनि त छ नि ?
बाहिर मिडियाले, विपक्षीबाट, अन्य कार्यकर्ताबाट आउन सक्छन् । त्यसलाई हामीले पार्टीभित्र गम्भीर रुपले छलफल गर्छौं ।
नेताहरूबीच समस्या त देखियो नि ?
नेताहरूबीच समस्या छन् । यो त राष्ट्रको लागि नै समस्या हो । हामीले समग्र रुपमा कुरा गर्नुपर्छ । व्यक्तिका पनि भूमिका हुन्छन् । व्यक्तिले पनि जिम्मेवारी लिएको हुन्छ । त्योभन्दा ठूलो कुरा के छ भने समग्रमा हामीले अहिले राष्ट्र र जनताका आवश्यकता के हुन् ? यो पुरानो सरकारको निरन्तरता हो कि भिन्न प्रकारको सरकार हो ? पुरानाको नौ महिने, १० महिने, एक वर्षे जस्तो अन्तरिम र अस्थिर सरकार होइन कि नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ एजेन्डा सहितको नयाँ सरकार हो । यो सरकारसंग अपेक्षा धेरै छन् । दुई तिहाई नजिकको सरकार भएकाले यसले धेरै काम गर्न सक्छ । यसकारणले पुराना सरकार हेर्दा केपी ओलीको नेतृत्वको सरकारले राम्रै काम गर्या छ । जनताको अपेक्षा हेर्दा त्यो पुगेको छैन के । त्यहाँ अन्तरविरोध भइरहेको छ ।
आलोपालो सरकारको प्रसड्ड त बल्झियो नि फेरि ?
यसबारेमा पार्टीभित्र छलफल हुन्छ नि । नेताहरूबीच विभिन्न प्रकारका विचारहरू हुन्छन् । योजना हुन्छन् कार्यक्रम हुन्छन् । आफ्ना धारणाहरू हुन्छन् । ती विषयलाई पार्टीभित्र गम्भीर रुपले छलफल गरेर हामी निष्कर्ष निकाल्छौं । कतिपय कुराहरू छलफलका क्रममा नआएका कुराहरू पनि बाहिर आउँछन् । विषयलाई बङ्ग्याइन्छन् । एउटा प्वाँख छ भने चरो बनाएर उडाउने कुरा आउँछन् । कतिपय कुराहरू सत्य पनि हुन सक्छन् । नेताहरूले जेजे असन्तुष्टिहरू राख्नुभएको छ ती सबै विषयमा छलफल हुन्छन् । कोही आत्तिनु पर्दैन ।
प्रधानमन्त्री ओलीको विकल्पको हल्ला पनि छ नि ?
यसबारेमा मेरो विचारको कुनै अर्थ छैन । प्रधानमन्त्री ओलीको विकल्प खोज्ने कि नखोज्ने हामी ओपन छौं । सबै विषयमा कुराकानी हुन्छन् ।
एमसीसीको विवाद चाहिं कसरी मिलाउनु हुन्छ ?
एमसीसीको विषयमा पार्टीभित्र, बाहिर, जनस्तरमा व्यापक रुपले बहस भएको छ । अब जे गरिन्छ पार्टीभित्र छलफल गरेर समाधान निकालिन्छ । अब धेरै बहस गरेर खिचातानी गर्ने र तानातान गर्ने जरुरी छैन । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई केन्द्रबिन्दूमा राखेर यो विषयमा हामी गम्भीर रुपमा छलफल गरेर निष्कर्ष निकाल्छौं ।
अमेरिकी विदेशमन्त्रीले नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर चासो राखेको अवस्थामा एमसीसी पास हुन्छ त ?
उहाँहरूका चासो र चिन्ताहरू हुन्छन् । अन्तर्राष्ट्रिय दातृ संस्था भन्नुस् वा हाम्रा मित्रराष्ट्रहरूसंग धेरै चासो, चिन्ता र सुझावहरू हुन्छन् । ती हुन्छन् । तर हाम्रो देशको हितमा छ कि छैन भनी छलफल गरेर हामीले निष्कर्ष निकाल्ने कुरा हो । व्यक्तिगत रुपमा एमसीसी पास हुन्छ भनौंला तर छलफल गर्दै जाँदा अहिले निष्कर्ष ननिकालौं भन्ने हुन पनि सक्ला । अहिले पास हुन्न भनौंला फेरि पास हुन सक्ला । तसर्थ, अहिले मैले गरेका व्यक्तिगत कुराको केही अर्थ हुन्न ।
तपाईको विचारमा एमसीसी आवश्यक छ कि छैन ?
मेरा विचारहरू मैले पार्टीभित्र राख्छु । जे निष्कर्ष आउँछ त्यसलाई म स्वीकार गर्छु ।
ओली जसरी पनि पास गर्छु भन्ने र प्रचण्ड पास हुन दिन्न भन्नुहुन्छ नि त ?
उहाँहरूले जे भन्नुहुन्छ त्यसको पछि लाग्नुपर्छ भन्ने छैन । म पछि लाग्दिन । मुख्य कुरो मेरो पनि आफ्नो विचार हुन्छ नि । म एमसीसीका विषयमा गम्भीर छु । आफ्ना विचारहरू मैले पार्टीभित्र राखेको छु ।
बिग्रेको के छ भने पार्टीभित्रका नेताहरूले पार्टीभित्रका कुराहरू बाहिर छताछुल्ल पार्ने हिसाबले तानातान गर्ने हिसाबले अलिकति आफ्ना कुराहरू राख्ने र निर्णयको कुरा बाहिर लैजाने गर्दा कुनै काममा पनि निष्कर्ष ननिस्कने अवस्था सिर्जना भएको छ । यसको हामीले अन्त्य गर्नुपर्छ ।
निष्कर्ष कहिले आउला ?
चल्छ केही दिन त्यसपछि आउला । त्यसपछि पारित हुन्छ कि हुन्न भनेमा निष्कर्ष आउँछ । एमसीसीबारे हेर्दा संसारका अरु मुलुकसंग भएका सम्झौता पनि हामी हेर्छौं अरुलाई पनि हेर्न आग्रह गर्दछु । त्यस सम्झौतालाई जुधाएर हामीले हेर्नुपर्ने हुन्छ । एमसीसीः अन्तर्राष्ट्रिय मापदण्ड र विधि प्रक्रिया पनि हेर्छौं । साँघुबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया