असार २०, २०८२ शुक्रबार July 4, 2025

तनहुँमा आजदेखि भानु कप फुटबल प्रतियोगिता सुरु हुँदै

साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ।

यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।

नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन्।

त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही २५ हजार दुई सय ११ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई पाँच हजार दुई सय ११ रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।

सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया