पोखरा । विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा तेश्रो संस्करणको “टप अफ द वर्ल्ड गल्फ क्लासिक” आउँदो भदौकै १ गते आयोजना हुने भएको छ । मुस्ताङको लोमान्थाङमा रहेको मुस्ताङ गल्फ कोर्समा हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी करिब ६० जना खेलाडीहरू सहभागी हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
प्रतियोगितामा भारतबाट करिब १५ जना, गैर आवासीय नेपाली संघ (एनआरएनए) बाट ९ जना, पोखराबाट ११ जना, काठमाण्डौं, धरान लगायतका क्षेत्रबाट गरी ६० जना खेलाडीहरू सहभागी हुने भएको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्र धारा विष्टले बताउनु भयो । उक्त गल्फ कोर्स ९ होलको रहेको छ भने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन र लंगेस्ट ड्राइभलाई ट्रफी सहित पुरस्कृत गरिने उहाँले बताउनु भयो ।
होल नम्बर ३ मा होल इन वन गर्ने कुनै पनि खेलाडीले यस बर्ष याक उपहार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च लाग्ने भएको आयोजक मुस्ताङ गल्फ कोर्सले जनाएको छ । मुस्ताङ गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटरको उचाइको रहेकाले यसले संसारका धेरै मुलुकमा प्रभाव पारेको उहाँले बताउनु भयो । गत वर्षका विजेता श्याम तामाङ हुनुहुन्छ ।
निर्देशक विष्टले अन्य गल्फ कोर्स भन्दा प्रकृतिको हिसाबले निकै उत्कृष्ट गल्फ कोर्स भएको कुनै दिनमा विश्वकै गल्फरहरु आएर खेल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त गल्फ कोर्सले गल्फ खेल पर्यटनका धेरै सम्भावना भएको उहाँले दाबी गर्नुभयो । उक्त गल्फ कोर्सलाई विश्वकै सर्वाधिक उचाइमा रहेको भन्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ताका लागि पहल हुँदै गरेको विष्टले जनाउनु भयो । गल्फ संघ गण्डकीका अध्यक्ष एवं गण्डकी प्रदेशका पूर्व सांसद इन्द्र धारा विष्टले संसद् विकास कोषको १० लाख बजेट तथा लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्स निर्माण गर्नु भएको हो ।
लोमान्थाङ गाउँपालिका, सिटी एक्सप्रेस मनी ट्रान्सफर, प्रभु बैङ्क, लो मुस्ताङ हिमालयन रिसोर्ट, सोल्टी पानी, जर्मन बेकरी लगायतले सहयोग गरेको निर्देशक विष्टले बताउनुभयो । हिमालय गल्फ कोर्सका भुवन केसीले मुस्ताङमा हुने गल्फ प्रतियोगिताले गल्फ खेल पर्यटनको प्रबद्र्धन भएको बताउनु भयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया