काठमण्डाैंः पृथ्वी राजमार्गको मौवाखोला नजिक जीप त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख एसएसपि कालिदास धौबजीले जानकारी दिए ।
स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जीप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आएको र तत्कालै आफ्नो नेतृत्वमा गोताखोर टोली परिचालन गरिएको उनले बताए ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजीकार्य जारी राखेका छन् । प्रत्यक्षदर्शीका अनुसार खसेको सो जीप एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको बताइएको छ ।
वरिष्ठ उपरीक्षक धौबजीले भने, ‘जीप काठमाडौँतर्फ जाँदै गरेको अनुमान गरिएको छ । जीपमा कति सवार रहेका थिए भन्ने एकिन भइसकेको छैन । गोताखोरले पानीभित्र झण्डै २५ फिट तलसम्म हेर्दासमेत जीप फेला पार्न सकेको छैन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया