असार ३२, २०८२ बुधबार July 16, 2025

भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टसलाई

विजेता बनेसँगै च्याङ्ली नगद रु दुई लाख ५० हजार दुई सय ११ र ट्रफी पायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), २७ साउन : तनहुँको भानु नगरपालिका–१ भन्सारमा सञ्चालित सर्वाधिक राशि पुरस्कार भएको सत्रौ भानु कपको उपाधि गोरखाको च्याङ्ली स्पोर्टस्ले जितेको छ । आज सम्पन्न फाइनलमा तनहुँको शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सनलाई १–० ले हराउँदै च्याङ्लीले भानु कपको उपाधि जितेको हो ।

शनिबार भएको सेमिफाइनलमा भानुको फ्रेण्डसीप युवा क्लबलाई पराजित गर्दै शुक्लागण्डकीस्थित लिभिक कन्स्ट्रक्सन फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सूर्यपुर एफसी चितवनलाई २–० ले पराजित च्याङ्ली फाइनल प्रवेश गरेको थियो ।

विजेता बनेसँगै च्याङ्ली नगद रु दुई लाख ५० हजार दुई सय ११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता लिभिकले नगद रु एक लाख २५ हजार दुई सय ११ र ट्रफीमा चित्त बुझाउनुपरेको छ ।

प्रतियोगितामा सेमिफाइनलमा पुगेको भानुस्थित फ्रेण्डसीप युवा क्लब र चितवनको सूर्यपुर एफएसी क्लबलाई नगद रु २५ हजार दुई सय ११ प्रदान गरिएको छ । विजेतालाई प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पुरस्कार वितरण गर्नुभएको छ ।

भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा २४ समूहको सहभागिता थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई नगद रु पाँच हजार दुई सय ११, सर्वाधिक गोलकर्तालाई नगद रु पाँच हजार दुई सय ११ प्रदान गरिएको प्रचारप्रसार समितिका संयोजक राजेश कार्कीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया