असार २८, २०८२ शनिबार July 12, 2025

दाहाललाई नेतृत्व छाड्न दबाब

उपमहासचिव जनार्दन शर्माले राजनीतिक दस्ताबेजमार्फत नै मूल नेतृत्वमाथि प्रश्न उठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब बढ्न थालेको छ। सरकारबाट बाहिरिएपछि निरन्तर भइरहेका पार्टीगत बैठकमा माओवादी केन्द्रको मूल नेतृत्वमाथि प्रश्न उठाउँदै नयाँ पुस्ताबाट दाहाललाई नेतृत्व छाड्न दबाब बढेको हो।

दाहाल निकट उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारी बैठकमा विशेष महाधिवेशनको माग राखेर नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव गर्दै आफैबाट सुरु गर्ने भनेर राजीनामासमेत दिएका छन्। लगत्तै शनिबारदेखि बसेको स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले राजनीतिक दस्ताबेजमार्फत नै मूल नेतृत्वमाथि प्रश्न उठाएका छन्।

दाहाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका गजुरेलले यसअघि पनि पार्टीमा विधि र प्रक्रियाअनुसार काम नभएको भन्दै असन्तुष्टि पोखेका थिए। संगठन निर्माणमा लागेको माओवादी केन्द्रको मूल नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि दाहाल पनि रक्षात्मक अवस्थामा पुगेका छन्। मूल नेतृत्व परिवर्तन गर्ने पक्षमा यतिबेला माओवादीका दुई प्रभावशाली उपमहासचिव वर्षमान पुन र शर्मा एकमत देखिएका छन्।

यी दुवैले महाधिवेशनमा महासचिव दाबी गरेका थिए। उनीहरूबीच महासचिवमा रस्साकस्सी चलिरहँदा दाहालले देव गुरुङलाई उक्त पद दिए। नेपाली कांग्रेस र एमालेसँग छुट्टाछुट्टै समीकरण बनाएर दाहाललाई सरकारको नेतृत्वमा पुर्‍याउने यिनै पुन र शर्मा हुन्।

दुई दिनदेखि जारी स्थायी समिति बैठकमा पुनले अध्यक्षको कार्यकाल कति वर्ष हुने भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन्। ‘अहिले नै नेतृत्व छाड्नुपर्नेभन्दा पनि अध्यक्षको कार्यकाल कति हो भन्ने निर्धारण हुनुपर्छ’, उनले बैठकमा भने।

गजुरेल, शर्मा, पुन मात्र होइन, स्थायी समितिका अधिक सदस्यले अध्यक्षको कार्यकाल तोकेर जानुपर्ने धारणा राखेका छन्। सचिव राम कार्कीले पनि यो विषयले पार्टीलाई गम्भीर अवस्थामा पुर्‍याएको धारणा राख्दै अहिलेको नेतृत्व र संगठनबाट समाजवादी क्रान्तिमा जान नसकिने बताएपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो। उनले नेतृत्वका लागि नयाँ पुस्ता पनि तयार हुनुपर्ने बताएका थिए। पार्टी बैठकमा नेतृत्व बदलिनुपर्ने भनाइ आएपछि दाहालले चुपचाप बसेर सुनिरहेका छन्।

गत वर्ष प्रज्ञा भवन कमलादीमा भएको केन्द्रीय समिति बैठकमा पुन र शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति खुलेर आलोचना गरेका थिए। दाहालले त्यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। पुन र शर्माले दाहाललाई पार्टी र नेताहरूले भरपुर सहयोग गर्दा पनि उनले असहयोग गरेको भनेर अफवाह फैलाएको गुनासो गरेका थिए। ‘हरेक पलमा सहयोग भयो तर असहयोगको दृष्टिले हेरियो’, पुनलाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने।

बैठकमा शर्मा र पुन दुवैले पार्टीको नीति, नेतृत्व र सांगठनिक पद्धतिको विषयमा करिबकरिब समान धारणा राख्दै आएको ती सदस्यको दाबी छ। ‘यतिबेला नेतृत्वको विषयमा पुन र शर्मा दुवैको समान धारणा देखियो’, स्थायी समितिका ती सदस्यले भने। गत माघ अन्तिम साता राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय समिति बैठक, फागुन पहिलो साता प्रज्ञा भवन कमलादीमा भएको प्रथम विधान अधिवेशनमा सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, नेतृत्व अवधि तोकिनुपर्ने, सांगठनिक संरचना चुस्तदुरुस्त हुनुपर्ने, पार्टी र जनताबीचको सम्बन्ध पुनस्र्थापित हुनुपर्नेमा धारणा पुन र शर्मासहितका नेताले राखेका थिए।

स्थायी समितिको शनिबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले धारणा राखेका थिए। त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए। उनीहमध्ये कतिपयले पदाधिकारी भंग गर्नुपर्ने र विशेष महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवित गर्नुपर्ने धारण राखेका थिए।

पार्टी प्रवक्तासमेत रहेका सापकोटाका अनुसार आइतबार कमला रोका, पम्फा भुसाल, उर्मिला अर्याल, शक्ति बस्नेत, शशि श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णकुमारी सुवेदी, कालिबहादुर मल्ल, महेश्वर गहतराज, प्रल्हाद बुढाथोकी, हकिकुल्ला खान, जयपुरी घर्ती र जोखबहादुर महराले धारणा राखेका छन्। ‘बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ, अध्यक्षले धारणा राख्ने बेला भएको छैन, उहाँले साथीहरूको कुरा सुनिरहनु भएको छ’, प्रवक्ता सापकोटाले भने।  नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार