असार २८, २०८२ शनिबार July 12, 2025

स्वास्थ्यका अनेकथरी अनुदानलाई बिमामै एकीकृत गर्न प्रस्ताव

स्वास्थ्य उपचारका आधा दर्जनभन्दा बढी शीर्षकमा बर्सेनि २८ अर्ब ५० करोड रुपैयाँ खर्च गर्दै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ३१ श्रावण । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत राज्यले बर्सेनि खर्च गर्दै आइरहेको अर्बौंको अनुदानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत बिमा प्रणाली ल्याउने तयारी गरेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल सरकारको सय दिनको उपलब्धिका रूपमा नयाँ बिमा प्रणाली घोषणा गर्ने गृहकार्यमा जुटेका छन् ।

हाल सरकारले आधा दर्जनभन्दा बढी शीर्षकमा बर्सेनि अनुमानित २८ अर्ब ५० करोड रुपैयाँ स्वास्थ्य उपचारमा खर्च गर्ने गरेको छ । प्रस्तावित एकद्वारबाट बिमा प्रणाली लागू गर्न सकिएमा नागरिकको स्वास्थ्य उपचारको क्षेत्रमा कोशेढुंगा सावित हुने र यसले सरकारी अस्पतालको सेवा तथा सुविधाको गुणस्तरमा पनि बढोत्तरी ल्याउने पौडेलको विश्वास छ ।

हाल स्वास्थ्य मन्त्रालयले विपन्न नागरिक औषधि उपचार कोष बनाएर मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारका लागि एक लाख रुपैयाँ सहायता प्रदान गर्ने गरेको छ । त्यसमा मात्रै सरकारको वार्षिक ६ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । स्वास्थ्यमन्त्री पौडेलका अनुसार यी जटिल रोग लागेकाहरूको उपचार सहयोगका लागि सरकारले दिइरहेको एक लाख रुपैयाँको दायरालाई बढाएर पाँच लाख बनाउने प्रस्ताव अघि सारिएको छ ।

यसका साथै सरकारले स्वास्थ्य बिमाबापत ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । बर्सेनि यसको दायित्व बढ्दो छ । स्थानीय सरकारले पनि निःशुल्क बिमामा अतिरिक्त १ अर्ब खर्च गर्ने गर्छन् । सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी आमा, न्यु बर्न, भाडा खर्च, सीएसलगायतमा ३ अर्ब खर्च गर्छ । त्यस्तै गरिब, असहाय र अशक्तलगायतलाई दिइने निःशुल्क उपचारमा २ अर्ब र वृद्ध तथा बालबालिकाको उपचारमा हुने खर्च करिब १ अर्ब छ ।

त्यस्तै डायलसिस गराइरहेकासहित दीर्घरोगीलाई नियमित उपचारका लागि महिनाको ५ हजारका दरले जाने २ अर्ब ५ करोड रुपैयाँ पनि सरकारले अनुदानका रुपमा दिँदै आएको छ । सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत उपचारमा खर्च हुने ५ अर्ब तथा सुरक्षा निकायलगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी गरेर करिब ३ लाख जनशक्तिको सञ्चय कोषमार्फत १ अर्ब ४४ करोडलाई पनि एकीकृत बिमामा जोड्ने मन्त्रालयको तयारी छ । आजको कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया