असार ३०, २०८२ सोमबार July 14, 2025

पार्टी कार्यालय धुम्बाराहीमा नेकपा युवा नेताको धर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेताले एकता कायम राख्नुपर्ने भन्दै पार्टी मुख्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।

पार्टीका शीर्ष नेताबीच विवाद चुलिएपछि पार्टी एकतालाई जोगाउनका लागि आज दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा धर्ना दिनुभएको हो ।

नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीमा देखिएका समस्या समाधान गर्न नेतृत्वलाई दबाब दिनका लागि भेला आयोजना गरिएको बताउनुभयो । “पार्टी विचार र कार्यदिशामा फरक नआइकन पार्टी फुट्नु हुँदैन”, उहाँले भन्नुभयो, “तर अहिले पार्टीभित्र विचार र कार्यदिशामा फरक देखिएको छैन, त्यसैले पार्टीलाई एक ढिक्का बनाउनु पर्दछ भन्ने सन्देश दिन धर्ना गरिएको हो ।”

उहाँले पार्टी नीति र विधिबाट चलाउन दबाब दिनका लागि पनि भेला भएको बताउनुभयो । विसं २०७५, जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा बनेको हो ।

पार्टी एकता पूरा नभई एकता प्रक्रिया नै रोकिन थालेपछि पार्टी एकता कायम हुनुपर्ने भन्दै धर्ना दिइएको नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो । उहाँले अहिले पार्टी विभाजन आवश्यकता नरहेको भन्दै पार्टी एकतामा आफूहरुको जोड रहेको बताउनुभयो । उहाँले पार्टीभित्रको समस्या पार्टीभित्र नै समाधान गर्नसमेत नेतृत्वलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार शनिबार पुनः २ः०० बजे पार्टी एकता कायम राख्नका लागि धर्ना दिइने छ । धर्नामा डा विजय पौडेल, जगन्नाथ खतिवडा, हिमाल शर्मा, रामकुमारी झाँक्रीलगायत २२ केन्द्रीय सदस्यको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया