असार २२, २०८२ आइतबार July 6, 2025

अनलाईन कराँतेमा नेपाललाई १० पदक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: अनलाइन कराँते कातातर्फ नेपालले १० पदक जितेको छ । नेपालले आईएसकेयू इन्टरनेशनल अनलाइन कराँते काता च्याम्पियनसिपमा ४ स्वर्ण तथा ३/३ रजत र कास्य पदक जितेको हो ।

नेपालका तर्फबाट सञ्जु देसार, दिक्षा महतरा, प्रशन्न घर्ती मगर, सत्कार घर्ती मगरले स्वर्ण जितेका हुन् । सञ्जुले महिला क्याडेट स्पर्धामा श्रीलङ्काकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गरी स्वर्ण जितेकी हुन् । यस्तै १० वर्ष मुनिको स्पर्धामा दीक्षाले इरानकी साबा रोहीलाई हराउँदै स्वर्ण जितिन् ।

७ वर्ष मुनिको स्पर्धामा प्रशन्नले भारतका सात्विक खेतानलाई पराजित गरी स्वर्ण जिते भने ८ वर्ष मुनिको स्पर्धामा सत्कारले श्रीलङ्काका थरुशा लकमललाई हराएर स्वर्ण पदक हात पारेको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए ।

यसैगरी सो च्याम्पियनसिपमा नेपालका मनिष कार्की, स्वेता तामाङ र सृजना महतराले रजत पदक प्राप्त गरे । मनिषले पुरुष क्याडेटतर्फ, स्वेताले महिला ९ वर्ष मुनिको स्पर्धामा तथा सृजनाले १३ वर्ष मुनिको समूहमा रजत प्राप्त गरेका हुन् ।

यस्तै १३ वर्ष मुनिको स्पर्धामा अमृत थोकरले, १० वर्ष मुनिको स्पर्धामा ओन्तो घर्ती मगरले तथा ९ वर्ष मुनिको पुरुष स्पर्धामा मुकेश खड्काले नेपाललाई कास्य पदक दिलाए । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आईएसकेयू) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आईएसकेयू) को संयुक्त आयोजनामा उक्त च्याम्पियनसिप बिहीबार शुरु भएको हो । सो प्रतियोगिता आइतबारसम्म चल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया