भाद्र ३१, २०८१ सोमबार September 16, 2024

चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

एक लाख ४० हजार अमेरिकी डलर जरिवाना सहित भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, भदौ ३ गते । चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।

चिनियाँ फुटबल सङ्घ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो । उहाँलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ ।

सन् २००४ देखि २०२१ को बिचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर हुनुभएको थियो ।लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गर्नुभएको थियो । त्यसअघि उहाँ साङ्घाईको खेलकुद प्रशासनको प्रमुख हुनुहुन्थ्यो ।

राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुभएको छ । सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगत्लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहनुहुन्छ ।

तर त्यो महत्त्वाकाङ्क्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौँदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ । गत मार्चमा सीएफएका पूर्व प्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घूस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्विकार्नुभएको थियो ।

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्व निर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो । यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया