असार २५, २०८२ बुधबार July 9, 2025

संघीय संसदका पाँचवटा समितिको बैठक बस्दै

सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, भदौ ९ । संघीय संसद अन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण, संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने) प्रतिवेदन, २०७१ ले वैकल्पिक ऊर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । यस्तै, पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादक कियान केमिकल इन्डस्ट्रिज प्रा।लि।को निवेदन उपर छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । यसैगरी, दिउँसो १ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यक्रमहरूको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

दिउँसो १ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महसुलसम्बन्धी विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया