काठमाण्डौंः डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशले भारतमाथि टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
आईतबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भुटानलाई टाईब्रेकरमा ४–१ ले पराजित गरेको थियो ।
सोमबार खेलको निर्धारित ९०औं मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा बंगलादेशका अहमेद नोभा, मोइनुल स्लाम, साकिल तोपु र मोहम्मद आसिफले गोल गरे ।
भारतका लागि परमवीर, ग्वाङ्गसार गोएरी र मनजोत सिंहले गोल गरे भने केल्भिन सिंह र आकाश टिर्के गोल गर्नबाट चुके । त्यसअघि खेलको ३७औं मिनेटमा बंगलादेशका असदुल मोल्लाले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
भारतले खेलको ७५औं मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि ग्वाङ्गसार गोएरीले गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।
बंगलादेशका कामासाइ मार्माले दोहोरो पहेंलो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएका थिए । तर त्यसको सदुपयोग भने भारतले गर्न सकेन ।
साफ च्याम्पियनसिपको उपाधिको लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । भदौ १२ गते हुने फाइनल दशरथ रंगशालामा हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया