तनहुँ, १५ भदौः आर्थिक वर्ष २०८०/८१ मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले २५ हजार बढी बिरामीलाई सेवा प्रदान गरेको छ । कार्यालयका अनुसार गत वर्षको साउनदेखि असार महिनासम्म केन्द्रले २५ हजार सात सय ८५ जनालाई सेवा प्रदान गरेको छ ।
पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको पाइन्छ । केन्द्रले प्रभावकारी उपचार सेवा दिन थालेपछि यसतर्फ बिरामीको चाप बढ्ने गरेको वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईले जानकारी दिनुभयो ।
“स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि ८० जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “अधिकांश बिरामी अन्यत्र उपचार गराएर निको नभएर हैरानी खेपेका आउने गरेका छन् ।”
कार्यालयका अनुसार बहिरङ्ग सेवा नौ हजार दुई सय ७१, योग सेवा आठ हजार तीन सय ४३, पूर्वकर्म/पञ्चकर्मतर्फ पाँच हजार पाँच सय १३ जनाले सेवा लिएका छन् ।
त्यसैगरी, ज्येष्ठ नागरिक सेवातर्फ एक हजार छ सय २४, प्रयोगशाला परीक्षणमा सात सय ३६, स्तनपायी आमा तथा शिशु सेवामा दुई सय ८१ र पायल्सका बिरामीको क्षारसूत्र विधिबाट १७ जनाले सेवा लिएका छन् । उक्त स्वास्थ्य केन्द्रमा प्यारालाइसिस, बाथ, ढाड, कम्मर, हाडजोर्नी, नसाका साथै ग्याष्टिक, उच्चरक्तचाप, चिनीरोग, दम, रुघाखोकीलगायत समस्याबाट पीडित बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
तनहुँसहित छिमेकी जिल्ला गोरखा र लमजुङबाट समेत उपचारका लागि मानिसहरू आउने गरेको आयुर्वेद चिकित्सक डा नारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्नेहसैदन, कटिबस्ती, नश्य, बमन, बिरेचनलगायत पञ्चकर्म विधिबाट विभिन्न रोगबाट समस्यामा परेका बिरामीको उपचार थालेको छोटो अवधिमै राहतको महसुस गर्न सक्नेछन् ।
“कार्यालयबाट प्रभावकारी किसिमले उपचार सेवा दिन थालेपछि बिरामीको आकर्षण बढेको छ,” उहाँले भन्नुभयो “कार्यालयले निःशुल्क रुपमा औषधि र सेवा प्रदान गरी उपचार गर्दै आएको छ ।” आयुर्वेद व्यवस्थापन समितिले निर्णय गरेर ‘ल्याब टेष्ट’मा न्यूनतम शुल्कमा सेवा दिन थालेपछि उपचारमा आउने बिरामीलाई सहज भएको सो स्वास्थ्य केन्द्रले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया