असार २६, २०८२ बिहिबार July 10, 2025

लेखक भरतकुमार श्रेष्ठको ‘अबको बाटो’ पुस्तक सार्वजनिक

विभिन्न विधामा राष्ट्रिय जीवनमा ख्याति कमाएका २७ जना व्यक्तित्वका विचार कृतिमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लेखक भरतकुमार श्रेष्ठद्वारा सम्पादित ‘अबको बाटो’ पुस्तक सार्वजनिक गरिएको छ ्।

दायित्व वाङ्मय प्रतिष्ठान नेपाल र शिखा बुक्सद्वारा आज यहाँ आयोजित समारोहमा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माले पुस्तक सार्वजनिकीकरण गरे। विभिन्न विधामा राष्ट्रिय जीवनमा ख्याति कमाएका २७ जना व्यक्तित्वका विचार कृतिमा समेटिएको छ।

पुस्तकमा नेपालको विकास कसरी? सिमाना नाघेका भानुभक्त र नेपाली साहित्य, नेपाली डायस्पोरा र हाम्रो मूलदेश, मलमा सधैँ परनिर्भरता कि विकल्पको खोजी?, नेपाल किन पछि, अरू किन अघि?, साइबर संस्कृति र साहित्य तथा मेरोदेश, मेरो सान, मेरो सर्वस्वजस्ता शीर्षकका लेख समेटिको छ।

राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनदेखि अर्थशास्त्री चद्रमणि अधिकारी, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा प्रकाश बुढाथोकी, प्राडा सुरेन्द्र केसीलगायत अबको बाटो शीर्षकसँग जोडिएका विचार पुस्तकमा समेटिएको छ।

त्यस अवसरमा पूर्वप्रधानन्यायाधीश शर्माले नेपाली राजनीति दिशाहीन भइरहेको वर्तमान सन्दर्भमा मुलुकका स्वनामधन्य लेखकका अनुसन्धानात्मक लेखले मुलुकको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक एवं शैक्षिक क्षेत्रका आयाममा तरङ्ग ल्याउने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपालका राजनीतिज्ञलाई अबको बाटोमा कसरी अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा पुस्तकमार्फत लेखकले खबरदारी गरेको बताए।

सोही पार्टीका नेत्री डा डिला सङ्ग्रौलाले मुलुकलाई विकास र समृद्धिमा लैजान भ्रष्टाचारको अन्त्य, सुशासन प्रवर्द्धन, योजना कार्यान्वयन, दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण बनाउन आवश्यक रहेको बताइन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले तुलनात्मक रुपमा विकास र प्रविधिका क्षेत्रमा विश्वका केही मुलुक अघि भए पनि संस्कार, संस्कृति तथा लैङ्गिक समानता र समावेशी लोकतन्त्रका विषयमा नेपाल अरूभन्दा निकै अघि रहेको धारणा राखे।

सो अवसरमा वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार रामप्रसाद पन्त, लेखक श्रेष्ठ, प्रकाशक पुष्पराज पौडेललगायतले पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रकाश पार्दै प्राकृतिक स्रोत साधन, साहित्य, संस्कार र संस्कृतिका क्षेत्रमा नेपाल सम्मुनत रहेको बताए। तीन सय ४४ पृष्ठको पुस्तकको मूल्य सात सय ७० रहेको छ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया