असार २३, २०८२ सोमबार July 7, 2025

आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल

राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औँ सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरूका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टाचार भेट गरेका छन् ।

भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै राज्यमाथि जनताको पहुँच र स्वामित्व यसैबाट स्थापित हुने स्पष्ट पारे । उनले राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित गर्नका लागि निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित हुनुपर्ने पनि बताए ।

आवधिक निर्वाचनबाट राज्यमाथि जनताको पहुँच र स्वामित्व स्थापित हुन्छ : राष्ट्रपति पौडेलराष्ट्रपति पौडेलले यो सम्मेलनले दक्षिण एसियाका मुलुकहरूमा हुने निर्वाचनलाई व्यवस्थित गर्दै अझ स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सहयोगी सिद्ध होस् भन्ने शुभकामना पनि दिए । उनले भने–‘समग्र दक्षिण एसिया क्षेत्रमा स्वच्छ, पारदर्शी र विश्वसनीय निर्वाचन प्रणालीको माध्यमद्वारा लोकतन्त्रको प्रवर्द्धन र सुदृढीकरणका लागि यस संस्थामार्फत यहाँहरूको अमूल्य योगदान निरन्तररुपमा रहनेमा म विश्वस्त छु ।’

राष्ट्रपति पौडेलले आगामी दिनमा अध्यक्ष राष्ट्रको हैसियतमा अन्य सदस्य मुलुकहरूसँग यस संस्थाको साझा उद्देश्यहरू प्राप्त गर्न र चुनौतीहरू विरुद्ध सामूहिकरुपमा सामना गर्नका लागि आपसी सहयोग र सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहने पनि स्पष्ट पारे ।

सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरूको साझा मञ्चको १२ औँ सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया