असार २७, २०८२ शुक्रबार July 11, 2025

महिलालाई मन्दिर प्रवेशमा रोक

मन्दिरमा आएका जो कोही भक्तजनले यहाँ पूजा गरेको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने धार्मिक विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा, असोज २ गते । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको छ ।

पुजारीको काम गर्दै आउनु भएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोकसो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखा समेत बन्द हुने गरेको सत्यताका उदाहरण धेरै भएकाले मन्दिरभित्र प्रवेशमा वञ्चित गरिएको हो ।

एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन् ।

मन्दिरमा आएका जो कोही भक्तजनले यहाँ पूजा गरेको जल खाएको खण्डमा शरीरमा भएका धेरै रोग निको हुने धार्मिक विश्वास रहिआएको छ । चितवन, दैलेख, भोजपुर, सर्लाही, जनकपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछापका धेरै भक्तजन सुविधा सम्पन्न अस्पतालमा उपचार गरे पनि रोग निको नभएपछि पाठी र परेवाको भाकाल गरी यहाँ पूजाआजा गर्न आएका पुजारी बोहोराले सुनाउनु भयो ।

यसरी पूजा गरेर रोग निको भयो भन्दै वर्षैपिच्छे दर्शनका लागि भक्तजन आउने गरेका छन् । मन्दिरको अगाडिपट्टि चौरासी वटा महादेवको मूर्ति स्थापना गरिएको छ । चैरासी वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भक्तजन चौरासी गर्नका लागि यहाँ आउने गरेका छन् । यहाँ पूजा गरेको परेवा पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्था समेत गरिएको छ ।

यहाँ तीज र बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ । यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट धेरै सख्यामा भक्तजन आउने गरेका पुजारी बोहोराले जानकारी दिनु भयो ।

सदरमुकाम चरिकोटबाट नजिकको गौरीशङ्कर बालगृहदेखि करिब सात किलोमिटर गाडी यात्रामा पुगिने धार्मिक र ऐतिहासिक महत्त्व बोकेको यो मन्दिरमा मङगलबार र शनिवार भक्तजनको भीड लाग्ने गरेको छ । यहाँ विशेष पूजाआजा दुई दिन मात्र हुने हुँदा यी दिनमा दुई हजारभन्दा बढी भक्त जनको उपस्थिति रहने गरेको छ । अरू दिन भने सय जनासम्म हुने गर्दछन् । यातायातको सुविधा भएपछि गाडी लिएर आउनेको सङ्ख्या बढ्दै गएको छ ।

मन्दिर वरपर व्यापार गर्नेको पनि सङ्ख्या बढेको छ । अरू दिन दुई-तीन सय बिक्री हुने र शनिवार र मङगलबार भने हजारभन्दा बढी बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।

पर्यटन प्रवर्द्धनका लागि भीमेश्वर नगरपालिकाले २९ लाख र सङ्घबाट १५ लाख रुपियाँ बजेट आएपछि छ लाख रुपियाँमा जग्गा खरिद, घेरावाल निर्माण, सिँढी निर्माण, सुरक्षण वाल, भण्डार घर निर्माण गरिनुका साथै नेत्रबहादुर कार्कीबाट जग्गा दान आएको छ । मन्दिर भने पुरातत्त्व विभागले पुनर्निर्माण गरिदिएको पूर्व वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनु भयो ।

पर्यटन प्रवर्द्धनका लागि संरचना बन्नु राम्रो हो तर आफूहरूलाई मन्दिर प्रवेशमा लाग्दै आएको निषेध हटाउनुपर्ने माग महिलाहरूले खुलेर राख्न सकेका छैनन् । मन्दिरमा पूजा गर्न आउनु भएकी सुन्तली श्रेष्ठले भन्नुभयो,पिता पुर्खादेखि चलिआएको चलनलाई खिन्न मान्नुभन्दा चित्त बुझाएरै आएका छौँ । आस्थालाई तोड्ने आँट भित्रैदेखि आउँदैन । बाहिरबाटै पूजाआजा गरे पनि मनोकाङ्क्षा भने पूरा भएकै छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया