असार २६, २०८२ बिहिबार July 10, 2025

३६ सय सरकारी पदका लागि झण्डै ५ लाखको आवेदन

आवेदन मागिएपछि देशभरबाट परीक्षामा सहभागी हुन ४ लाख ७३ हजार ४ सय ९० जनाले दरखास्त पेस गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः लोकसेवा आयोगले गत आर्थिक वर्ष २०८०/८१ मा जम्मा ३ हजार ६ सय ६० पदका लागि आवेदन माग्यो। त्यसका लागि देशभरबाट ४ लाख ७३ हजार ४ सय ९० युवायुवतीहरूले आवेदन दिए। बेरोजगारीको चर्को मारमा रहेर आवेदन भरेका ती लाखौं युवायुवतीहरूमध्ये मुस्किलले २ हजार ६ सय ८८ जनामात्रै छनौटमा पर्न सफल भए। आवेदन दिएका बाँकी ४ लाख ७१ हजार युवायुवती भने अहिले पनि बेरोजगारीकै मार सहन बाध्य रहेको देखिन्छ।

सरकारी सेवामा थोरै पद मागिए पनि किन त्यति धेरैले आवेदन दिन्छन् ? बेरोजगारीको मारले हो वा सरकारी सेवाप्रतिको आकर्षणले ? यस सम्बन्धमा छुटै अध्ययन नभए पनि विज्ञहरूले भने सरकारी सेवामा अत्यधिक आकर्षण रहेको र लोकसेवाको परीक्षा निष्पक्ष हुन्छ भन्ने मान्यताले धेरै युवायुवतीहरू लोकसेवाको परीक्षामा सहभागी हुने गरेको तर्क दिने गरेका छन् । तर, सरकारले अन्य रोजगारीका अवसरहरू सिर्जना गर्न नसक्दा वर्षेनी हुने लोकसेवाकै परीक्षाको भर गर्नुपर्ने बाध्यता कैयौं युवायुवतीहरूलाई छ।

लोकसेवाको परीक्षामा तयारी गर्नेभन्दा निकै ठूलो संख्यामा युवायुवतीहरू विदेश जान बाध्य हुने गरेको सरकारकै अर्को एक निकायको तथ्यांकले देखाएको छ । अध्यागमन विभागका अनुसार रोजागारी खोज्दै वार्षिक ८ लाखभन्दा बढी युवायुवतीहरू विदेशिने गरेका छन् ।

लोकसेवाको परीक्षा तयारी गरेर अनुत्तीर्ण हुनेहरूले फेरि दोहोर्‍याएर तेहेर्‍याएर परीक्षा दिने गरेको पाइन्छ । आयोग स्रोतका अनुसार एकै व्यक्तिले दश पन्ध्र पटकसम्म पनि परीक्षा दिने गरेका छन्। केही परीक्षार्थीहरू १५पटकसम्म पनि परीक्षा दिएर उत्तीर्ण हुने गरेको बताइएको छ । यद्यपि, लोकसेवा आयोगले यससम्बन्धी अध्ययन भने गरेको छैन ।

सरकारी सेवामा आकर्षण हुँदाहुँदै पनि कैयौं युवायुवतीहरूको भने लोकसेवाको परीक्षामा लगातार असफल भएपछि उनीहरूको गन्तव्य परिवर्तन हुन्छ त्यो हो श्रम गर्न विदेश । एकातिर सरकारी सेवा प्रवेशको आशामा परीक्षाका लागि आवेदन दिने युवायुवतीहरू झण्डै ५ लाखको संख्यामा छन् भने उता सोही वर्ष रोजगारी खोज्दै विदेशतिर भौंतारिने युवायुवतीहरू ८ लाख बढी छन् । यस्तो तथ्यांकले पनि मुलुकमा बेरोजगारीको मार कुन हदसम्म छ भन्ने कुराको सहजै पुष्टि हुन्छ।

अध्यागमन विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा रोजगारी खोज्दै विदेश जानेको संख्या ८ लाख ७ हजार ६ सय ९३ रहेको छ । जसमा पुरुष ७ लाख १८ हजार ९ सय ८ जना र महिला ८८ हजार ७ सय ६३ जना रहेका छन् ।

बेरोजगारीको मार त छँदैछ तर लाखौं युवायुवतीमा भने सरकारी सेवामा आकर्षण भएकै कारण विदेश नगई स्वदेशमै रहेर लोकसेवा परीक्षाको तयारी गरेको पाइन्छ । पूर्व सचिव तथा प्रशासनविद् पूर्णचन्द्र भट्टराईले युवायुवतीहरूमा सरकारी सेवाप्रतिको आकर्षण बढेकाले नै लोकसेवाको परीक्षामा लाखौं युवायुवतीले आवेदन दिने गरेको बताउनुभयो।

त्यसका साथै लोकसेवा आयोगको परीक्षा पूर्ण रूपमा निष्पक्ष हुने र कुनै प्रकारको सोर्सफोर्स नलाग्ने तथा मिहिनेत गरेर अध्ययन गरेमा परीक्षामा सहजै नाम निस्कन्छ भन्ने आम मान्यताले पनि आवेदन दिनेको संख्या बढेको पूर्व सचिव भट्टराईको तर्क छ । ‘हुन पनि हो जसले राम्ररी पढ्छ र मिहिनेत गर्छ उसैको नाम निस्कन्छ, यहाँ कुनै सोर्सफोर्स चल्दैन, सोर्सफोर्स लगाउन कतै दौडिनु पर्दैन र दुःख गर्नुपर्दैन, जसले राम्ररी अध्ययन गर्छ उही सरकारी सेवामा छानिने गर्छ ।’ पूर्व सचिव भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो । भट्टराईले सरकारी सेवामा ठूलो आकर्षण हुँदा कम सिट भएपछि लाखौंले आवेदन दिने भए पनि उनीहरू कति वर्षसम्म टिक्छन् भन्ने बारेमा भने छुट्टै अध्ययन जरुरी रहेको बताउनुभयो ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले पनि सरकारी सेवा र लोकसेवाप्रतिको अत्यधिक आकर्षणका कारण वर्षेनी झण्डै ५ लाख युवायुवतीहरूले आवेदन भर्ने गरेको बताउनुभयो । ‘लोकसेवा आयोगको परीक्षा निष्पक्ष हुन्छ र कुनै सोर्सफोर्स लगाउनु पर्दैन भन्ने मान्यता आज सहरदेखि प्रत्येक गाउँगाउँमा छ, त्यसैले पनि सबै ठाउँका युवायुवतीहरूको लोकसेवाको परीक्षामा उत्सावद्र्धक सहभागिता रहेको देखिन्छ ।’-प्रवक्ता होमेगाईंले भन्नुभयो ।

लोकसेवा आयोगको पछिल्लो १० महिनाको प्रगति प्रतिवेदन अध्ययन गर्दा २ हजारदेखि ३ हजार पदका लागि औसतमा वर्षेनी ५ लाखले आवेदन दिएको देखिन्छ।

लोकसेवा आयोगका अनुसार गत वर्ष आयोगले बढुवा तर्फ १ हजार १२, आप्रतर्फ ६२१, खुला प्रतियोगिता तर्फ १ हजार ८० तथा विभिन्न समावेशी पदतर्फ ९ सय ४७ गरी ३ हजार ६ सय ६० रिक्त पदमा विज्ञापन आह्वान गरेको थियो । त्यसरी आवेदन मागिएपछि देशभरबाट परीक्षामा सहभागी हुन ४ लाख ७३ हजार ४ सय ९० जनाले दरखास्त पेस गरेको लोकसेवा आयोगले जनाएको छ। नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार