काठमाण्डाैंः सप्तरीको डाकनेश्वरी नगरपालिका-७ ब्रह्मपुरस्थित पोखरीमा माछा मार्ने क्रममा भएको विवादमा आज एक महिलाको मृत्यु भएको छ । वर्षामा पानी भरिएर पोखरीबाट बाहिर निक्लिएको माछा लिएको विषयमा भएको विवादपछि कुटपिट हुँदा स्थानीय मेनेजर मण्डलकी श्रीमती ५२ वर्षीया मानशेरदेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पोखरीबाट बगेर बाहिर छट्पटिरहेको माछा लिएको विषयमा जथाभावी गालीगलौज गर्दै आरोपितहरुले बाँसको भाटाले प्रहार गरेको मृतकका श्रीमान् मण्डलले बताउनुभयो । कुटपिटमा घाइते २५ वर्षीया सीतादेवी मण्डलको राजविराजस्थित स्थानीय क्लिनिकमा उपचारपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको स्थानीय शत्रुघ्न मण्डलले जानकारी दिनुभयो ।
कुटपिटबाट हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय कारी साह, ४० वर्षीय वीरेन्द्र साह, ६० वर्षीय रामप्रसाद साह, ३२ वर्षीय धनवीर साह र १६ वर्षीय सुनिल साहलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी गम्हरिया प्रवाहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपितहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले बताउनुभयो । कुटपिटमा संलग्न अन्य फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरीले जनाइएको छ । शव परीक्षणका लागि राजविराज ल्याइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया