असार २६, २०८२ बिहिबार July 10, 2025

दुई महिनामा २ खर्ब ३७ अर्बको व्यापार घाटा

भारत, चीन र युद्धग्रस्त युक्रेनसँग अधिक व्यापार घाटा - २२ वटा देशसँग मात्रै व्यापार नाफा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँको व्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ४४ अर्ब ६६ करोड ८७ लाखको व्यापार घाटा रहेको छ । चीनसँग भने ५१ अर्ब ८० करोड ३९ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । अधिक व्यापार घाटा रहेका मुलुकमध्ये युद्धग्रस्त देश युक्रेन तेस्रो स्थानमा रहेको छ । युक्रेनसँग ४ अर्ब ७१ करोड ८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

चालू आवको साउन र भदौमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको आयात भएको छ । यसबीचमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको निर्यात भएको छ । दुई महिनामा १ दशमलव ८ प्रतिशतले आयातमा वृद्धि भएको छ भने निर्यातमा ५ दशमलव १२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको साउन र भदौमा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख रुपैयाँ व्यापार घाटा रहेकामा अहिले २ खर्ब ३७ अर्ब पुगेको छ ।

गत वर्षभन्दा यस वर्ष आयातमा सामान्य वृद्धि भएको छ भने निर्यातमा १ अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ । कुल व्यापारको ९१ दशमलव २८ प्रतिशत आयातको हिस्सा रहेको छ भने ८ दशमलव ७२ प्रतिशत रहेको छ ।

कोरोनाकालपछि शोधनान्तर घाटा र चालू खातामा दबाब परेपछि अनि विदेशी विनिमय सञ्चिति घटेपछि सरकारले विलासितायुक्त सामानमा कडाइ गर्दा आयातमा निरन्तर कमी आएको थियो ।

साउन र भदौमा नेप्से पनि २ हजारबाट ३ हजार बिन्दुमा पुगेपछि पुनः आयातमा वृद्धि भएको छ । विगत २ वर्षदेखि निरन्तर रूपमा आयात व्यापार घट्दै गइरहेकामा भदौ महिनामा आएर वृद्धि भएको हो ।

दसैंलक्षित सामानहरूको आयात बढेका कारण पनि आयातमा सुधार भएको अनुमान रहेको छ । सरकारले भन्सारबिन्दुबाट राजस्व बढाउन भन्सार अधिकृतहरूलाई लक्ष्य तोकेर दबाब दिएका कारणले पनि आयात बढेको भनाइ अर्थविद्हरूको छ ।

यी कारणले गर्दा नै साउन महिनामा आयात शून्य दशमलव ६७, निर्यात ९ दशमलव ६३ र समग्र व्यापार १ दशमलव ५२ प्रतिशतले घटेको थियो । भदौमा आयात व्यापार १ दशमलव शून्य ८ प्रतिशतले बढेको हो ।

निर्यातमा आएको कमी साउनको तुलनामा घटेको छ । साउनमा मात्रै निर्यातमा ९ दशमलव ६३ प्रतिशतले कमी आएकामा साउन र भदौको जम्मा निर्यातमा भने ५ दशमलव १२ प्रतिशतले मात्रै कमी आएको छ ।

नेपालले दुई महिनाको अवधिमा १ सय २३ वटा राष्ट्रसँग व्यापार भएको तथ्यांक रहेको छ । जसमध्ये २२ वटा देशसँग मात्रै व्यापार नाफा रहेको छ । १ सय १ वटा मुलुकसँग भने व्यापार घाटा रहेको छ ।

व्यापार नाफा भएका मुलुकहरूमा अफगानिस्तान, डेनमार्क, बेलायत, अस्ट्रिया, रसियन फेडरेसन, लातभिया, मौरिसस, इरान, क्रोएसिया, उज्वेकिस्तान, आइसल्यान्ड, जर्जिया रहेका छन् । यसैगरी, बोस्निया हर्जगोविना, भेनेजुयला, केमान आइल्यान्ड, लेबनान, चाद, सुडान, अरुबा, उरुग्वे, माल्दिभ्स र पनामासँग व्यापार नाफा रहेको छ ।

व्यापार घाटा भएका मुलुकहरूमा क्रमशः भारत, चीन, युक्रेन, कतार, अस्ट्रेलिया, मलेसिया, इन्डोनेसिया, बहराइन, थाइल्यान्ड, ओमान, अर्जेन्टिना, टुर्किय, भियतनाम, कोरिया, सिंगापुर रहेका छन् ।

यसैगरी, यूएई, साउदी अरेयिबा, क्यानडा, ब्राजिल, जिम्बाबे, फ्रान्स, बंगलादेश, जापान, इटाली, ताइवान र साउथ अफ्रिकासँग पनि व्यापार घाटा रहेको छ ।

नेपालले अफगानिस्तानसँगको अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा बढी नाफा गरेको छ । अफगानिस्तानबाट आयात नै नभएको र साढे २० करोड रुपैयाँबराबरको सामान निर्यात भएको तथ्यांक रहेको छ ।

दुई महिनामा भारतबाट १ खर्ब ६० अर्ब रुपैयाँको वस्तु आयात भएको छ भने करिब १६ अर्ब रुपैयाँको निर्यात भएको छ ।

साउन र भदौ महिनामा ७४ अर्ब ३१ करोड रुपैयाँको भन्सार राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा ६७ अर्ब ४७ करोड रुपैयाँको यस्तो राजस्व संकलन भएको थियो ।

यस अवधिमा विद्युतीय कार तथा अन्य सवारीसाधनको आयात बढेको छ । दुई महिनामा १६ अर्ब ७४ करोड रुपैयाँबराबरको गाडी र त्यससँग सम्बन्धित पाटपुर्जा आयात भएका छन् । गत वर्ष १० अर्ब ८२ करोड रुपैयाँको मात्रै आयात भएको थियो ।

विशेषगरी, नेपालमा छिमेकी देश चीनबाट विद्युतीय सवारीसाधनको आयात बढी हुने गरेको छ । पछिल्लो दुई महिनामा भित्रिएका गाडीमध्ये २३ वटा मात्रै डिजेलबाट चल्ने गाडी आयात भएका छन् । विद्युत्बाट चल्ने सवारीसाधन १ हजार २ सय सातवटा आयात भएका छन् ।

दुई महिनामा सबैभन्दा बढी आयात भएका वस्तुमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यास, गाडी, ईभी र मोटरसाइकल रहेका छन् । यसबीचमा ११ अर्बको पेट्रोल र १३ अर्बको डिजेल आयात भएको छ । एलपीजी ग्यास भने ९ अर्ब ४० करोडको आयात भएको छ । ४ लाख ५४ हजार ९ सय ५८ वटा स्मार्ट फोन आयात भएको छ । स्मार्टफोन मात्रै १ अर्ब २५ करोड ८ लाख ५६ हजार रुपैयाँको आयात भएको हो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार