असार २५, २०८२ बुधबार July 9, 2025

बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जलेश्वर । आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ ।  उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनुभएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ ।  पहिले इसारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इसारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त हुनुहुन्छ । भुइँमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इसाराको भरमा पढ्ने गर्दछन् ।

बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ । करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनुपरेको प्रधानाध्यापक विनोद महतो बताउनुहुन्छ । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।

विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उहाँले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गर्नुभएको थियो । कक्षा ११/१२ को पढाइ पोखराबाट पूरा गर्नुभएकी उहाँले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बीएड. सम्मको अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाउनुभएको हो ।

कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उहाँ र उहाँका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउनुहुन्छ । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ । बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इसाराकै भरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।

ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् ।  प्रत्येक वर्ष अन्य छात्रछात्रासरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउनुहुन्छ । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाउनुभयो ।

उहाँले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, ‘‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्दी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।

अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उहाँको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिकासरह सामान्य परिस्थितिमा बिदा पनि पाउनुहुन्न । बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउनुहुन्छ । प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उहाँको धारणा रहेको छ ।

उहाँ फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ्घ सस्थाहरुमा समेत आबद्ध हुनुहुन्छ । हाल उहाँ महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहनुभएको छ । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उहाँको प्रतिनिधित्व रहने गर्दछ ।

प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उहाँले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताउनुभयो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिराहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् । शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभाषे र उनीहरुको समुचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताउनुभयो । विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु. चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।सञ्जीत मण्डल / रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार