असार २६, २०८२ बिहिबार July 10, 2025

सार्वजनिक सेवा प्रसारण नाम राखे पनि सरकारकै नियन्त्रण

प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि बन्ने सिफारिस समितिमा मन्त्रालयकै बहुमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारी स्वामित्वको रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई जनता र संसद्प्रति उत्तरदायी रहने गरी सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गरिनुपर्नेमा सरकारकै नियन्त्रणमा राखिने भएको छ । संघीय संसद्ले पारित गरेको सार्वजनिक प्रसारण सेवासम्बन्धी विधेयकमा सरकारी रेडियो र टेलिभिजनलाई गाभेर एउटै संस्था बनाउने प्रावधान राखिए पनि त्यसमाथि सरकारको पकड कायमै रहने व्यवस्था गरिएको छ । विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ ।

संघीय संसद्ले भदौ ३१ मा पारित गरेको विधेयकमा सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ बमोजिम स्थापित रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण गर्ने उल्लेख छ । सार्वजनिक सेवा प्रसारण संस्थाले तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन गर्ने पनि भनिएको छ ।

तर सार्वजनिक सेवा प्रसारण संस्थानको नीति निर्माण तथा संस्थाले गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिने अधिकार सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई दिइएको छ । मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव तथा मन्त्रालयलले मनोनयन गरेका बहुमत सदस्य रहने गरी परिषद्को व्यवस्था गरिएको छ, जसले संस्थाको नीति निर्माण गर्नेछ ।

प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष नियुक्तिका लागि बन्ने सिफारिस समितिमा मन्त्रालयकै बहुमत रहनेछ । सिफारिस समितिको संयोजक लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य हुने व्यवस्था विधेयकमा छ ।

सदस्यमा मन्त्रालयका सचिव र मन्त्रालयले मनोनयन गरेको एक विज्ञ रहने भनिएको छ । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले २०७७ असार १५ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा सिफारिस समितिको व्यवस्था थिएन । सिधै नेपाल सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुने प्रस्ताव थियो ।

संसद्बाट पारित विधेयकअनुसार सञ्चालक समितिको सदस्यमा मन्त्रालयले तोकेको एक सहसचिव तथा मन्त्रालयले मनोनयन गरेको कम्तीमा एक महिलासहित तीन जना रहनेछन् । सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउने अधिकार मन्त्रालयलाई नै दिइएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्थामा सरकारको स्वामित्वमा कुनै पनि किसिमको आमसञ्चार माध्यम राखिनु हुँदैन भन्ने सिद्धान्तअनुसार विज्ञ तथा सरोकारवालाले सरकारी प्रसारण माध्यमलाई ‘सार्वजनिक सेवा प्रसारण’ मा परिणत गर्नुपर्ने सुझाव दिँदै आएका थिए । सरकारले गठन गरेको उच्चस्तरीय मिडिया सुझाव आयोग–२०६३ र सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समिति–२०७३ ले भने रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरेर संसद् मातहत ल्याइनुपर्ने सुझाव दिएका थिए । आम सञ्चार नीति–२०७३ मा सोही उद्देश्य उल्लेख छ ।

नेपाल पत्रकार महासंघसहितका संघसंस्थाले पनि सरकारी मिडियालाई कानुनले व्यवस्थित गरेर संसद् मातहत चलाइनुपर्ने माग गर्दै आएका थिए । महासंघले २०७७ मा सार्वाजनिक प्रसारण विधेयकको मस्यौदा नै बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुझाएको थियो । त्यसमा सरकारी रेडियो र टीभीलाई संसद्प्रति उत्तरदायी बनाउने गरी संरचना प्रस्ताव गरिएको थियो ।

सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिका तत्कालीन अध्यक्ष काशीराज दाहाल संसद्ले पारित गरेको विधेयकका प्रावधानहरू सार्वजनिक प्रसारण सेवाको सिद्धान्तसँग मेल नखाएको बताउँछन् । ‘सार्वजनिक प्रसारण सेवा जनता र संसद्प्रति उत्तरदायी हुनुपर्थ्यो । तर आउन लागेको कानुनका प्रावधानले सार्वजनिक सेवा प्रसारणको मर्म नै बुझेको देखिएन,’ उनले भने, ‘सार्वजनिक सेवा प्रसारण स्वायत्त र स्वतन्त्र हुनुपर्छ । तर मन्त्रालयको एउटा महाशाखा वा शाखाका रूपमा रेडियो र टीभीलाई गाभेर राख्न खोजिएको देखिन्छ । यसले प्रसारणको स्वायत्ततामा प्रभाव पर्छ ।’

दाहाल नेतृत्वको समितिले ‘जनताद्वारा जनताकै नियन्त्रणमा’ रहने गरी सार्वजनिक सेवा प्रसारण सञ्चालन गरिनुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई दिएको थियो । लोकतन्त्रमा आमसञ्चारमाध्यमलाई सरकारको प्रभाव तथा नियन्त्रणबाहिर राख्नुपर्छ भन्ने सिद्धान्तअनुसार रेडियो नेपाल र नेपाल टेलिभिजनलाई स्वायत्त सार्वजनिक सेवा प्रसारण बनाइनुपर्ने प्रतिवेदनमा भनिएको थियो । दाहाल नेतृत्वको समितिमा प्रेस काउन्सिल, पत्रकार महासंघ, मिडिया सोसाइटी, प्रेस इन्स्टिच्युटका अध्यक्षसहित सञ्चार क्षेत्रका करिब सबै संघ/संस्था तथा विज्ञहरूको प्रतिनिधित्व थियो । नाम सार्वजनिक सेवा प्रसारण राखिए पनि विधेयकको अन्तरवस्तु नियन्त्रणमुखी देखिएको दाहालले बताए ।

लोकतन्त्र स्थापनालगत्तै गठन गरिएको उच्चस्तरीय मिडिया सुझाव आयोग–२०६३ ले पनि सरकारले आमसञ्चारमाध्यम चलाउन नहुने सुझावसहितको प्रतिवेदन दिएको थियो । त्यसमा सरकारले चलाइरहेको रेडियो र टीभीलाई सार्वजनिक प्रसारण सेवा बनाएर संसद्प्रति उत्तरदायी हुने संस्था बनाइनुपर्ने भनिएको थियो । गोरखापत्रलाई पनि सरकारको स्वामित्व र नियन्त्रणबाट पूर्णरूपमा मुक्त गर्न सुझाइएको थियो । निजी क्षेत्र सक्षम भई अर्को संरचना निर्माण नभएसम्म राष्ट्रिय समाचार समितिलाई जनताप्रति बढी जिम्मेवार र उत्तरदायी बनाउँदै लानुपर्ने आयोगको सिफारिस थियो ।

आयोगका तत्कालीन अध्यक्ष संविधानविद् राधेश्याम अधिकारी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई संसद्को सर्वदलीय समिति मातहत राखेर सञ्चालन गर्न सिफारिस गरेको बताउँछन् । ‘लोकतन्त्रमा सरकारले आमसञ्चारमाध्यम चलाउनु हुँदैन भन्ने आधारमा हामीले रेडियो र टीभीलाई संसद् अधीनस्थ ल्याएर सञ्चालन गर्नुपर्ने भनेका थियौं,’ उनले भने, ‘सरकारले विधेयक ल्याउँदै कमजोर थियो । संसद्ले पनि त्यसमा धेरै गर्न सकेन । आउने दिनमा दबाब बढाएर संशोधन गर्दै जानुपर्छ ।’

पत्रकार महाससंघले पनि राष्ट्रिय सभा अध्यक्ष नेतृत्वको समितिले सार्वजनिक सेवा प्रसारण परिषद्को अध्यक्ष र सदस्यहरूको नियुक्ति गर्नुपर्ने प्रस्ताव सरकारसमक्ष गरेको थियो । त्यसमा सरकारी प्रतिनिधित्व नरहने भनिएको थियो । महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल सार्वजनिक सेवा प्रसारणको मूल्यमान्यताअनुसार कानुन संशोधन नभएको टिप्पणी गर्छन् । ‘पारित विधेयक स्वतन्त्रता र स्वायत्तताका हिसाबले निकै कमजोर छ,’ उनले भने, ‘सम्पादकीय, आर्थिक र प्रशासनिक कुनै पनि स्वतन्त्रताको स्थिति छैन । सरकारको निर्देशन र निगाहमै सार्वजनिक सेवा प्रसारण चल्ने अवस्था बनाइएको छ,’ उनले भने । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार