काठमाडौं । गत शनिबार काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहँदा गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट काट्नेको भिड थियो । यता, बाढीले उपत्यका तहसनहस बनायो, उता बसपार्कको भिड आइतबार पनि लगभग उस्तै थियो ।
वर्षा सँगैको बाढीपहिरोले उपत्यकासहित देशका विभिन्न ठाउँमा भयानक विपत्ति निम्त्यायो । अर्बौंको भौतिक क्षति मात्रै होइन, करिब साढे दुई सय (बेपत्तासहित) नागरिकको हताहती भयो । तर, पनि विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा रहेकाहरूको बडादशैँमा घर जाने चाहना रोकिएको छैन । बाढीपहिरोले काठमाडौं र मोफसलको लाइफलाइन काटिएको छ । बाटोमा कहाँ कतिखेर के हुन्छ ? कसैलाई अत्तोपत्तो छैन । गन्तव्यमा पुग्ने/नपुग्ने केही टुंगो छैन । तर, पनि मानिसहरू नयाँ बसपार्कसहित काठमाडौंका विभिन्न ठाउँबाट बस चढेर बाहिरन छोडेका छैनन् । यात्रा कष्टकर हुने निश्चित हुँदाहुँदै पनि यात्रुहरू हिँडिरहेका छन् । यो रहर मात्रै नभई उनीहरूको बाध्यता पनि हो । अझै बाहिरिन तयार रहेकाहरूको संख्या धेरै नै छ ।
दशैँमा आफन्तसँगै रमाइलो गरी पर्व मनाउन कसलाई रहर हुँदैन र ? तर, अवस्था निकै प्रतिकूल छ । घर जान पोकोपुन्तुरा बोकेर हिँडेका यात्रु ठाउँ ठाउँमा बाटोमै अलपत्र परेका छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन ।
असोज ११ गतेदेखि नै काठमाडौंको नागढुंगा हुँदै जाने सवारीसाधन १५ गतेसम्म गन्तव्यमा पुगेका छैनन् । बाटोमै रोकिएका सवारीसाधन र तिनका यात्रुको कन्तबिजोग छ । तीन/चार दिनसम्म बाटोमै रोकिनु परेपछि धेरैले खाना र पानीसमेत पाएका छैनन् । अझै केही वृद्धवृद्धा र बालबालिकाको अवस्था झन् विकराल छ । सवारी साधनहरू कलंकीबाटै कछुवा गतिमा गुडिरहेका छन् ।
मुग्लिनतिरबाट आउने सवारी साधनको अवस्था पनि उस्तै छ । बीचबीचमा पुनः पहिरो खस्ने र ठाउँ ठाउँमा रोकिने क्रम जारी नै छ । अब यात्रुहरूले यो दशैँमा घर पुग्न ठूलै युद्ध जितेझैँ हुने अवस्था छ । सोमबार दिउँसोदेखि मंगलबार साँझसम्म नागढुंगा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू कलंकीसम्म लामबद्ध थिए । ठाउँठाउँमा पुनः पहिरो गइरहेको र मर्मत गर्न सडक बन्द गरिएकाले उनीहरूले कतिसम्म बाटोमा कुर्नुपर्ने हो भन्ने टुंगो छैन ।
सरकारले भने सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । पानी नपरे दशैँसम्म सबै सडक खुलाइसक्ने सरकारी दाबी छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी पानी पर्दै नपरेको खण्डमा दशैँ आसपाससम्म यातायात पूर्णरूपमा सहज पार्ने प्रयास जारी रहेको बताउनुहुन्छ । अहिले भने बाटोमा रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको उहाँले बताउनुभयो । चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।हिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया